काठमाडौं/ सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बंगला विमान दुर्घटनाको कारण पत्ता लगाउन प्रयासहरू भइरहेका छन् । विमानका चालक थाकेकोदेखि लिएर एयर ट्राफिक कन्ट्रोलरहरूसँगको गलत सूचना आदानप्रदानसम्मका कोणहरूमा छानबिन भइरहेको छ ।
विमानका पाइलट आबिद सुल्तान र विमानस्थल अधिकारीहरूबीच भएको संवादको अडियो युट्युबमा अप्लोड गरिएको छ ।
दुर्घटनाग्रस्त बम्बार्डियर ड्याश–८ क्यू४०० विमान दुईवटा इन्जिन भएको १७ वर्ष पुरानो टर्बोप्रप विमान हो र यो छोटो तथा मध्यम दूरीको उडानमा प्रयोग गरिएको थियो । रोयल जोर्डनियन, अग्सबर्ग-लुफ्थान्सा र स्क्यान्डिनेभियन एयरलाइन्सले चलाइसकेको विमानको यूएस–बंगला कम्पनी चौथो मालिक हो ।
उडान विशेषज्ञहरूका अनुसार, दुर्घटनाको कारणका विषयमा पूर्ण अनुसन्धान नसकिएसम्म प्रस्ट भन्न सकिन्न । तर पाइलट तथा एयर ट्राफिक कन्ट्रोलरबीच भएको संवादले बहस जन्माएको छ अनि दोषारोपणको शृंखला ल्याएको छ ।
लीक गरिएको संवादमा पाइलट सुल्तान र एक एयर ट्राफिक कन्ट्रोलरबीचको धावनमार्गको कुन छेउबाट विमान अवतरण गराउने भन्ने विषयमा कन्फ्युजन भएको देखाउँछ । रनवे ०२ र २० का विषयमा दुवैजनाले एक अर्काको कुरा नबुझेको देखिन्छ ।
दुर्घटनापछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मिडियालाई बताएअनुसार, विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो । कन्ट्रोल रूमको निर्देशनविपरीत विमान गलत दिशामा अवतरण गराइएको उनले बताए ।
नियन्त्रणकक्षले विमानलाई दक्षिणी छेउबाट अवतरण गराउन अनुमति दिएको तर विमानले आकाशमा दुई चक्कर लगाएर उत्तरी छेउबाट अवतरण गरेको क्षेत्रीले बताए । अनि विमान उपयुक्त तवरले अवतरणका लागि अलाइनमेन्ट नमिलाइएको पनि उनले बताए । ‘हवाई ट्राफिक कन्ट्रोलरलाई अलाइनमेन्टका बारेमा जानकारी दिइयो तर कुनै प्रतिक्रिया आएन । अनि विमान सेनाको ह्यांगरनजिक हुँदै दायाँ छेउबाट विमानस्थल टावरनजिकबाट अवतरण ग–यो ।’
तर यूएस–बंगलाका सीईओ इमरान आसिफले बंगलादेशी सञ्चारमाध्यमलाई बताएअनुसार, लीक गरिएको संवाद सुनेपछि एयर ट्राफिक कन्ट्रोलरले लापरवाही गर्दै प्रस्ट सूचना नदिएको शंका गरे । त्रिभुवन विमानस्थलमा चालकहरूलाई गलत सूचना दिने गरिएको उनले दाबी गरे ।
‘हाम्रा पाइलटहरूलाई विभिन्न समयमा विभिन्न सूचना दिइयो । अनि यही मिसकम्युनिकेसनका कारण दुर्घटना भएको हामीलाई लाग्छ । हामीले लापरवाही गरेको होइन, एयर कन्ट्रोल टावरले हो,’ उनले भने । एसिया टाइम्सले ढाका–काठमाडौं रूटमा वर्षौंसम्म विमान उडाएका कैयौं पाइलटहरूसँग कुराकानी ग–यो । उनीहरूले अन द रेकर्ड कुरा गर्न चाहेनन् किनकि उड्डयन अधिकारीहरूले यो घटना अझै पनि अनुसन्धानकै दायरामा रहेकाले बोल्नबाट प्रतिबन्ध लगाइएको छ ।
पाइलटको गल्ती ?
दशकौंसम्म ढाका–काठमाडौं रूटमा विमान उडाएका एक वरिष्ठ पाइलटले रेडियो संवाद सुनेपछि ककपिटमा गम्भीर त्रुटि भएको पत्ता लागेको बताए ।
काठमाडौंका लागि सामान्य उड्डयन प्रचलनअन्तर्गत मेन पाइलटले विमान अवतरण गर्दा वा उडाउँदा कोपाइलटले कन्ट्रोल टावरसँग संवाद गर्नुपर्ने हुन्छ किनकि अराइभल र डिपार्चरका रूटहरू ‘अप्ठ्यारा ठाउँ’का रूपमा वर्गीकृत छन् । पहाडहरूले घेरिएको भएकाले काठमाडौंको विमानस्थल विशेष मानिन्छ ।
तर युट्युबमा पोस्ट गरिएको अडियोमा वरिष्ठ पाइलट सुल्तानले विमान उडाउने र संवाद गर्ने काम आफैंले गरिरहेको जबकि कोपाइलट पृथुला राशिदले संवाद गर्नुपर्ने खुलासा गरेको छ । ‘सुल्तानले विमान पनि चलाइरहेको अनि टावरसँग पनि त्यतिखेरै कुरा गरिरहेकोले उनको ध्यान भंग भयो र उनले रनवे २० बाट रनवे ०२ तिर जाँदा धावनमार्ग नै राम्ररी देखेनन्,’ वरिष्ठ पाइलटले भने । त्रिभुवन विमानस्थलमा रनवेलाई ध्यान दिनु अति नै जरूरी हुन्छ ।
एसिया टाइम्सका अनुसार, दुर्घटनाको दिन क्याप्टेन सुल्तानको यो पाँचौं उडान थियो । ढाका–काठमाडौं उडानअघि सुल्तानले जम्मा पाँच घण्टाको ग्यापमा ढाकाबाट चित्तगोङ अनि चित्तगोङबाट ढाका दुईचोटि उडान भरेका थिए । यूएस–बंगलाका महाप्रबन्धक तथा प्रवक्ता कामरुल इस्लामले यसलाई स्वीकारे तर यूएस–बंगलाका पाइलटलाई यत्तिको कार्यभार वहन गर्न कुनै समस्या नभएको दाबी गरे ।
‘ढाका–चित्तगोेङ–ढाका ४५ देखि ५० मिनेट उडान हो अनि ढाका–काठमाडौं–ढाका एकदेखि सबा एक घण्टाको उडान हो । त्यसैले यस्ता तीन रिटर्न फ्लाइटहरू एक दिनमा भर्नु असाधारण होइन,’ उनले भने । सुल्तान बंगलादेशी एयर फोर्सका पूर्वपाइलट हुन् र उनले काठमाडौंमा १०० चोटिभन्दा बढी उडान भरिसकेका छन् । त्यो विमानस्थलमा अवतरण गराउन उनी विशेष रूपमा तालिमप्राप्त थिए, इस्लामले भने । ‘उनीसँग पाँच हजार घन्टाभन्दा बढीको उडान अनुभव थियो,’ उनले थपे ।
तर ढाकामा रहेका एक विदेशी एयरलाइनका पाइलटले एसिया टाइम्सलाई बताएअनुसार, उक्त संवाद सुन्दा पाइलट सुल्तान थाकेका जस्ता देखिन्छन् । एउटै विमान १५ देखि १६ घन्टा लगातार उडाउनु एउटा कुरा हो तर एकै दिनमा धेरैचोटि विमान उडाउँदै र अवतरण गर्दै गर्नु भनेको अर्कै कुरा हो ।
बंगलादेशको नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष एयर भाइस मार्शल एम नाइम हसनले एसिया टाइम्सलाई बताएअनुसार, प्राधिकरणले पाइलट सुल्तानको लगबूकको अध्ययन गरेर उनले इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन (आईकाओ) को नियमको उल्लंघन गर्दै अतिरिक्त समय विमान उडाए नउडाएको पत्ता लगाउने बताए ।
आईकाओ नियमअनुसार, एक पाइलटले ९० देखि १०० घन्टाको उडान गर्न पाउँछ । ‘हामीहरू उनले त्यो सीमा पार गरेका थिए कि थिएनन् भनी जाँचबुझ गर्दैछौं,’ उनले भने ।
एयर ट्राफिक कन्ट्रोलरको दोष ?
बंगलादेशको सरकारी विमान बंगलादेश एयरलाइन्समा आबद्ध अर्का वरिष्ठ पाइलटले एटीसीले काठमाडौं धावनमार्गमा दक्षिणी छेउबाट अवतरण गर्नका लागि शुरूमा अनुमति दिएको भएपनि विमान अवतरण गर्न लाग्दा अचानक उसले चालकलाई विमान आकाशमै होल्ड गरिराख्न लगायो ।
ती वरिष्ठ पाइलटले बुझेअनुसार, विमान यस्तो तहमा झरिसकेको थियो जहाँबाट काठमाडौंको हावाको दबाबमा विमानलाई राम्ररी व्यवस्थापन गर्न गाह्रो हुन्छ । ‘एयर ट्राफिक कन्ट्रोलरले दोषबाट उम्किन पाउँदैनन्,’ उनले भने । फैसल महमुद
(एसिया टाइम्स)