काठमाडौं/ म पतिसँग यसअघि पनि झुटो बोल्थें । तर त्यतिखेर म त्यस झुटको नाफा नोक्सान थाहा पाउँथे । यतिखेर चाहिँ म इनारमा हाम्फालिरहेको जस्तो लाग्यो । त्यतिखेरको कुरा बेग्लै थियो । मैले पतिलाई आफ्नो तलब पनि कम बताएकी थिएँ । यसो गर्दा म पैसा जम्मा पार्न सक्थें र उसलाई रक्सीमा पैसा उडाउनबाट रोक्न सक्थें । मेरो यो गतिविधि पतिले थाहा पाएमा ममाथि कुटपिट हुनेछ, आँखा सुन्निनेछ, जिउ दुख्नेछ र कम्मरमा केही दाग हुनेछ भन्ने मलाई थाहा थियो । तैपनि बैंकमा फिक्स्ड डिपोजिटमा राखेको पैसा उसले निकाल्न सक्दैनथियो । एक भद्र महिलाले मलाई यसो गर्न सुझाव दिएकी थिइन् । नभए त बैंकमा खाता खोल्न र पैसा जम्मा गर्न मजस्ती गाउँले युवतीले के सक्नु र ? आज पनि मैले गर्न गइरहेको कुराको बारेमा तिनै महिलाले बताएकी थिइन् । तर मलाई एकदमै डर लागिरहेको थियो । अहिले त मेरो शरीर नै दाउमा थियो । अनि अपरेसनका क्रममा मृत्यु पनि हुन सक्छ भनी मैले थाहा पाएकी थिएँ । तर जिन्दगी नै मृत्यु जस्तो लाग्न थालेको थियो । म जम्मा २२ वर्षकी थिएँ तर ४० जस्ती देखिन्थें । शरीर पातलो त थियो र जवान थिएन । हाडहरू किर्लिक्क देखिन्थे । आँखामुनि काला खाल्डा थिए र अनुहार निर्दोषितको ठाउँमा थकानका कारण उँघिरहेको जस्तो देखिन्थ्यो । हिँड्दा पनि कम्मर अलिकति झुकेको जस्तो देखिन्थ्यो । अरूले हेर्दा मेरो शरीर पो यस्तो थियो । तर मभित्र केही कुरा छरिएको थियो र त्यसको चिच्याहट मेरो कानमा गुञ्जिरहन्थ्यो । आरम्भमा मलाई केही पनि गलत भइरहेको भन्ने नै लाग्दैनथियो । पन्ध्र वर्षकी हुँदा मेरो बिहे भएको थियो र बिहेपछि म शहर आएकी थिएँ । लोग्ने कामबाट घर फर्केपछि खाना खान्थ्यो अनि ओछ्यानमा उनलाई मेरो आवश्यकता हुन्थ्यो । म उनका लागि मात्र एक शरीर थिएँ जसको भावनालाई उनी कुनै मतलब गर्दैनथिए । त्यतिसम्म त ठीकै थियो । अनि मेरी छोरी जन्मी । अनि उसले मलाई पिट्यो । अनि उसले पहिलोचोटि रक्सी पियो । अनि ओछ्यानमा सबै रिस निकाल्यो । त्यसपछि दोस्री छोरी भई । अनि उसले काम छोडिदियो । मैले काम गर्न थालें । अनि तेस्री छोरी जन्मी । मलाई उसले कुटपिट गर्ने, मैले कमाएको पैसारक्सीमा उडाउने अनि ओछ्यानमा राक्षसले जस्तो मेरो शरीरको उपभोग गर्ने क्रम जारी रह्यो । तर म मौन बसें । सबै महिलाले यस्तो भोग्नुप–यो, आमाले भन्नुहुन्थ्यो । चौथोपल्ट म गर्भवती हुँदा २० वर्षकी थिएँ । अर्धमृत शरीर लिएर म मालिक्नीको घरमा काम गर्न जान्थें । मेरो पेट फुलेको देखेर उहाँ रिसाउनुभयो ।

उनले सोधिन्, ‘जन्माउन सक्छ्यौ ? शरीरमा पर्याप्त रगत छ त ?’ मैले भनें, ‘सक्छु ।’ धनी परिवारकी यी मालिक्नीले मेरो जीवनको पीडा के बुझ्लिन् भन्ने लाग्थ्यो । छोरो नजन्मिउन्जेलसम्म मैले यो सब सहनुपर्थ्यो । बैंकमा पैसा जम्मा गर्ने सल्लाह र सहायता एउटा कुरा भयो तर घरपरिवारको सूक्ष्म कुराहरू उनलाई म सम्झाउन सक्दिनथिएँ । सबै कुरा चुपचाप होस् भन्ने म चाहन्थे । म गर्भवती छु भन्ने कसैले थाहा नपाओस्, मेरो शरीर परिवर्तन नहोस्, मेरो जिन्दगीको कथा सार्वजनिक नहोस् भन्ने चाहन्थें । छोरो जन्मेपछि सबै कुरा ठीक हुनेछ भन्ने मलाई विश्वास थियो । कुटपिट, रक्सी अनि ओछ्यानको त्यो घिनलाग्दो सिलसिला टुट्नेछ भन्ने मलाई विश्वास थियो । हुन पनि छोरा नै भयो । अस्पतालमा नर्स आएर छोरो भयो भनेपछि म रुन थालें । बच्चा जन्माउनका लागि मैले १० घन्टादेखि पीडा सहें र नौ महीनासम्म कमजोर शरीर पालेको थकान एक क्षणमा गायब भयो । तर कुनै कुरा परिवर्तन भएन । त्यो घिनलाग्दो सिलसिला जारी रह्यो । मेरो गल्ती के थियो ? अब त मैले छोरो जन्माइसकेको थिएँ । तर मेरा पतिलाई शैतान बन्ने बानी बसिसकेको थियो । मेरो शरीर ध्वस्त भइसकेको थियो । म फेरि गर्भवती हुँला भन्ने डरले मलाई जतिखेर पनि सताइरहन्थ्यो । एक दिन मालिक्नीले मेरो फुंग उडेको अनुहार हेरेर मलाई सोधिन्, ‘जिन्दगीमा एउटा कुरा बदल्नुप–यो भने के बदल्छौ ?’ म हाँसें । आफ्नो इच्छाका बारेमा मैले कसैसँग पनि सोचेकी थिइनँ अनि यसका बारेमा कसैलाई केही सोधेकी पनि थिइनँ । तर यो हाँसोमा उडाउने कुरा थिएन । मैले यसबारेमा खुब सोचें । एक हप्तापछि मेरो जवाफ तयार भयो । मैले भनें, ‘म अब आमा बन्न चाहदिनँ ।’ तर पतिलाई म कसरी रोक्न सक्छु भन्ने थाहा थिएन । मैले उसलाई बुझाउने प्रयास गरेको हो । तर ऊ ओछ्यानमा मलाई सताउन छोड्दैन । मेरो कमजोर शरीरको उसलाई मतलब छैन । बच्चाहरूको जिम्मेवारी उसले कहिल्यै लिएन, अनि मलाई उससित के डर । अनि मालिक्नीले भनिन्, ‘स्थायी परिवार नियोजन गर । तिमीले उसलाई राति रोक्न नसकेपनि गर्भवती हुनबाट त आफूलाई रोक्न सक्छ्यौ नि ।’ मलाई यसका बारेमा केही थाहा थिएन । केही दिन बिते । मेरा थुप्रै प्रश्नहरू थिए । मालिक्नीले उत्तर दिँदा दिँदा थाकेपछि एउटा क्लिनिकको ठेगाना दिइन् । त्यहाँ मजस्ता अन्य महिला थिए । उनीहरूबाटै मैले स्थायी परिवार नियोजनको शल्यक्रिया छिट्टै हुनेछ अनि केही गडबडी भएमा ज्यान जान पनि सक्छ ।

महीनौंसम्मको सोचविचारपछि पति र बच्चाहरूलाई झुटो बोलेर एक्लै क्लिनिक जाँदा दिमागमा डर छाइरहेको थियो । तर म थाकिसकेको थिएँ । डर पनि थियो अनि हताशा पनि । यसो गर्नु खतरनाक थियो तर कमसेकम यसपछि मेरो जिन्दगीको एक भाग मेरो नियन्त्रणमा रहने थियो । अनि मेरो अपरेसन भयो । म मरिनँ । केही दिनसम्म कमजोरी र पीडा रह्यो । तर अहिले सबै कुरा ठीक छ । दश वर्ष बितिसकेका छन् । अहिले ३२ वर्षकी भएको छु । म त्यसपछि आमा बनिनँ । मेरो पतिलाई पनि अनौठो लागेन । मेरो अपरेसन मेरो निजी कुरा हो । यो निर्णय मैले नितान्त आफ्नो लागि गरेकी थिएँ ।

दिव्या आर्यद्वारा लिखित बीबीसी हिन्दीमा हर चोइस शीर्षक शृंखलामा प्रकाशित सामग्री