विराटनगर / दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै मोरङ बुढीगंगा गाउँपालिका – २ का सरदार बस्तिका डुमरलाल सरदारलाई एउटै कुराले भने अन्योलमा पारेको छ, ‘खेर नजाने गरी भोट कसरी हाल्ने ?’
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को ‘ख’ का मतदाता रहेका सरदारलाई आफने अमुल्य मत बदर भएर योग्य उम्मेदवारले हार्छन् कि भन्ने चिन्ता छ । ‘भोट हाल्ने दिन नजिकै आइसक्यो, अहिलेसम्म कसरी भोट हाल्ने थाहा नै छैन,’ उनले भने, ‘उम्मेदवारहरू लामलस्कर लिएर भोट माग्न त आइराखेका छन् तर कसरी भोट हाल्ने भनेर कसैले सिकाएनन् ।’
स्थानिय तहको निर्वाचनमा जान्ने मान्छेलाई भनेर सिकाउन लगाएर जसो तसो गरेर भोट होले,’ उनले भने, ‘अहिले त ३ वटा मत पत्र हुन्छ भन्ने सनुेको छु । तर तीन वटा मत पत्रमा कसरी भोट हाल्ने हो थाहा नै छैन ।’ उनका अनुसार यस बस्तिमा १ सय घर परिवार ऋषिदेव बस्ती रहेको क्षेत्रमा अहिलेसम्म मतदाता शिक्षाको बारेमा जानकारी दिन नआएको बताए । स्थानीय तह निर्वाचनका बेला रेडियोबाट विभिन्न जिल्लाहरुमा धेरै मत बदर भएको सुनेका उनले भोट हाल्ने सही जानकारी पाउनुपर्ने बताउँछन् ।
प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि मत खसाल्ने दिन नजिकिदै लाग्दा पनि मोरङ जिल्लाका अधिकांश मतदातामा मत खसाल्ने प्रक्रिया बारे अन्यौल रहेको छ । मतदाता शिक्षा कार्यक्रमले मतदातालाई समेट्न नसक्दा धेरैलाई अन्यौलमा परेका छन् । जस मध्धे सबैभन्दा बढी ग्रामिण बस्तीका मतदाता प्रतिनिधि र प्रदेश सभामा मत कसरी हाल्ने बारेमा अन्यौल दखिएका छन् ।
निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सबै क्षेत्रमा नपुग्दा हालसम्म धेरैले मतदान बारे सही जानकारी पाएका छैनन् । बुढीगंगा गाउँपालिका – २ का शिवराम ऋषिदेवले भोट हाल्ने तरिका बारे सिक्न नपाएको बताए । ‘प्रत्यक्षतर्फ भोट हाल्न त जानेकै छु,’ उनले भने, ‘समानुपातिकतर्फ लोकतान्त्रिक र वाम गठबन्धन भनिरहेका छन्, दुवै पार्टीलाई भोट हाल्ने हो कि ? एउटालाई मात्रै हो, अझैसम्म थाहा पाउन सकेको छैन ।’ ‘हामीलाई त बिहान–बेलुका काम नगरी खानै पुग्दैन,’ उनी भन्छन, ‘कसरी भोट हाल्ने भनेर सिक्न पाएका छैनौँ ।’ राजनीतिक दलले चुनावका बेला मात्रै भोट माग्ने तर अरुबेला जनतालाई बेवास्ता गर्ने गरेको उनी बताउँछन् ।
क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले भने मतदाता शिक्षालाई प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलले मोरङमा एक साता अघिदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको बताए । ‘भर्खरै मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएका छौँ, अझै पनि मतदाता स्वयंसेवक प्रत्येक मतदाताको घरदैलोमा पुग्न भ्याइसकेका छैनन,’ उनले भने, ‘त्यसैले मतदाता शिक्षा कार्यक्रम सबै जनताको घरदैलोमा पुग्न सकेको छैन ।’
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रममा हरेक मतदानस्थलमा एकजना स्वयंसेवक खटाएर घरदैलो कार्यक्रम गरिरहेको छ । त्यसका अलावा रेडियो, टेलिभिजन, पत्रपत्रिकामा निर्वाचनसम्बन्धी सूचना र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसरी गर्ने मतदान प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदाताले तीनवटा मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्छ । मतपत्र हरियो, कालो र रातो रङका हुन्छन् । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै दुईवटा मतपत्रमा छाप लगाउनुपर्छ । समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एउटै मतपत्र हुन्छ । तर, त्यसको माथिल्लो क्रममा प्रतिनिधि र तल्लो क्रममा प्रदेशसभाका लागि भोट हाल्ने स्थान चिह्नसहित छुटयाएको हुन्छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि हरियो रङको मतपत्र तयार पारेको छ । प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र कालो रङको छ । प्रतिनिधि र प्रदेशसभा समानुपातिकका लागि रातो रङको मतपत्र हुनेछ । मतदानका क्रममा मतदान अधिकृतको दस्तखत भएको मतपत्र मात्र मान्य हुन्छ ।