विराटनगर/ विराटनगर – १२ महेन्द्र मोरङ क्याम्पस पछाडी कलकलाउँदो हरियो साँग । कोही साँग टिप्न व्यस्त छन्, त कोही टिपेको सागलाई मुठा पारी बजारसम्म बिक्री गर्न ऋिषिदेव परिवारलाई भ्याइ नभ्याइ छ ।
भुटुन ऋषिदेवलाई भ्याइ नभ्या बनाई दिएको छ भित्रिदै गरेको छठ पर्वले । चाडपर्व मनाउने खर्चको जोहो गर्न ऋषिदेव परिवार अहिले खानेबेला भएको साँग टिप्न साझसम्म बारीमा तलिन भएको भेटिन्छन् । ‘नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली सकिएलगतै हाम्रो मुख्य पर्व छठ भित्रिएको छ,’ टिपेको साँग विक्री गर्ने तयारी गर्दै गरेका भुटुनले भने, ‘हरियो साँगबाटै यस वर्षको छठ पर्व मनाउने तयारी गरेको छु ।’ तरकारी खेती गर्न दुई बिघा जग्गा लिजमा लिएको छु । यस वर्ष बारीमा हरियो साँग मात्र रहेको छ ।’ ‘अहिले बजारमा साँग कमै आउने भएकोले हामीले उत्पादन गरेको साँगले बजार भाउ राम्रो पाउने अपेक्षा राखेका छौं,’ उनले भने । सिजन अनुसार बारीमा तरकारी लगाउने खपिस भुटुनले यही व्यवसायबाट १० जनाको परिवार धान्दै आएको उनले बताए । उनले आफ्नो छोरा र छोरीलाई पनि उच्च शिक्षा तरकारी खेतिबाट आएको आम्दानीले पठनपाठन गराउँदै आएको बताए ।
महेन्द्र मोरङ क्याम्पसको २ बिघा जग्गा २५ हजार रुपैयाँमा लिजमा लिएका भुटुनलाई उनका श्रीमति भानु र छोरा÷छोरीले तरकारी खेतीमा साथ दिने गरेका छन् । ऋषिदेव परिवारले उत्पादन गरेको साँग लिन व्यापारी पनि बारीमै खरिद गर्न आउने गरेका छन् । अहिले उत्पादन गरेको साँग ऋषिदेव परिवारले प्रतिमुठाको हिसाबले बिक्री गर्ने गरेका छन् । प्रति मुठा व्यापारीलाई १५ रुपैयाँ र खुद्रा उपभोक्तालाई बिक्री गर्दा २० रुपैयाँ दरले बिक्री गर्ने गरेका छन् । उनका अनुसार साँगबाट दैनिक खर्च कटाएर १ हजार रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिए । ‘सिजन अनुसारको तरकारीको व्यापार गरेको १४ बर्ष भयो,’ उनले भने, ‘साँगको सिजनमा मात्र ६० हजार रुपैयाँ आम्दानी गर्दछु ।’ यही आम्दानीबाट यस वर्षको छठमा आवश्यक पर्ने सामाग्रिको जोहो गर्नुपर्ने उनले बताए । ‘छैठमा पूजाको धेरै सामाग्रीको जुटाउनुपर्छ,’ भुटुनले भने, ‘छोरा छोरी साग टिप्ने र विक्री गर्न लाग्छौ श्रीमतिलाई पूजाको सामाग्री खरिद गर्न बजार पढाउदछु ।’ साँग विक्री गर्न मुठा पार्दै ऋषिदेव परिवार ।