धरान / तिहारमा धरानमा मात्रै तीन करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । त्यसमध्ये ६० प्रतिशत फूल भारतबाट आयत भएको कृषि उपज बजार स्थल धरानले जनाएको छ ।
फूलको भाउ महंगिएकाले गतवर्ष भन्दा १ करोड २० लाख रुपैया बढीले फूलको कारोबारमा वृद्धि भएको छ । कृषि उपज बजार स्थल धरानका अनुसार २०७४ को तिहारमा ७५ टन फूलको कारोबार भएको छ । जसमध्ये ४० प्रतिशत स्वदेशी फूलहरु खपत भएको छ भने ६० प्रतिशत फूल भारतबाट आयत भएको बजार स्थलले जनाएको छ ।
गतवर्ष ९० प्रतिशत फूल स्वेदशी रहेको कृषि उपजका बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।उनका अनुसार २०७३ सालमा १८० टन फूल बिक्री भएको थियो । जसमा एक करोड ८० लाख रुपैया मूल्य बराबरको फूलको कारोबार भएको थियो । गतवर्ष ३० देखि ४० रुपैया प्रतिमुठा बिक्री भएको फूल यसपटक अभावका कारण प्रतिमुठा १५० रुपैयासम्म पुगेको उनले बताए । ‘त्यो पनि प्रसस्त नपाएको अवस्था थियो ।’ उनले भने ।
विगत वर्षहरुमा भारतबाट १० देखि १५ प्रतिशत मात्रै फूलहरु आयत हुने गरेको थियो । तर, यसवर्ष तिहार छिटो भएका कारण फूल अभावका कारण अधिकांस भारतबाट आयत गरिएको थियो । ‘भारतमै पनि एकदमै महंगो प¥यो ।’ थोक व्यवसायी टीकाराम श्रेष्ठ भन्छन् । उनका अनुसार १५ हजार माला ल्याएकोमा कुहिएको कारण घाटा बेहोर्नु परेको थियो ।
उनले मात्रै कृषि बजारबाट ४ लाख रुपैया बराबरको फूलको कारोबार गरेका थिए । ‘भारतीय फूलले कुहिएर घाटा लाग्यो ।’ उनले भने, ‘पूर्वी पहाडी जिल्लाबाट ल्याएको फूलले घाटा पूर्ती भयो ।’गतवर्षको तुलनामा यसवर्ष फूलको हाहाकार नै मच्चिएको बजारले जनाएको छ । नेपालमा तालिका अनुसार फूल खेती नर्गदा विशेष गरेर फूलको अभाव भएको हो ।
यसपटक कृषि उपजमा धनकुटाको बेलाहारा, खोकु छिन्ताङ, पाख्रिबास, मौनाबुधुकबाट भित्रिएको थियो भने करिव ५ टन फूल इलामबाट पनि भित्रिएको थियो । हरेक वर्ष फूलको कारोबार बढिरहेको छ । २०७२ सालको तिहारमा १४० टन फूल अर्थात एक करोड ५० लाखको फूल बिक्री भएको थियो भने २०७३ मा १८० टन अर्थात् १ करोड ८० लाख रुपैयाको कारोबार भएको थियो । तर, यसवर्ष ७५ टन मात्रै फूलको कारोबार भए पनि मूल्यमा भने ३ करोड रुपैयाको बिक्री भएको थियो ।
फूल अभावका कारण नै यसपटक महंगो मूल्यमा किनबेच भएको भारतीय फूल बेच्दै आएका धरानका थोक व्यवसायी जितेन्द्र चौधरी बताउँछन् । ‘यसपटक भारतमै महंगो हालेर ल्याइयो ।’ उनले भने, ‘महंगो भएर ११ हजार माला मात्रै ल्यायौं ।’ उनका अनुसार गतवर्ष १ लाख माला ल्याइएको थियो ।
स्थानीय फूलको माग बढी भए पनि उत्पादन कम हुँदा भारतीय बजारबाट फूल ल्याउनु पर्ने बाध्यता रहेको थोक व्यवसायीहरु बताउँछन् । थोक व्यापारी श्रेष्ठले भारतको कलकताबाट मात्रै यसपटक देशभरी ३ करोड भन्दा बढीको फूल ल्याएको बताए । ‘देशभरीका व्यापारीहरुले ३ करोड भन्दा बढीको भारतीय फूल ल्याए ।’
उनले भने, ‘माग स्वदेशकै हुन्छ । तर, फूलै नहुँदा भारतकै भरपर्नुपर्छ ।’यसपटक धरानको आसपासको बजारबाट खासै फूलहरु नआएको जनाइएको छ । विगतवर्षहरुमा धरानको पानबारी, ठिंगाबारी, साउने, मोरङको याङसिला, धनकुटाको नाम्जे, ओख्रे, डाडाबजार क्षेत्रहरुबाट पनि फूल भित्रिने गरेको थियो । तर, यसपटक उक्त क्षेत्रहरुबाट फूल भित्रिन सकेन ।