धरान/राज्य र नागरिकबीच सम्बन्ध सुदृढिकरण गराउने उद्देश्यले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एफइएस नेपालले धरानमा ‘नागरिक शिक्षा’ दिएको छ । तर, कार्यक्रममा सहभागीहरुले नागरिक शिक्षा तल्लो स्तरमा भन्दा माथिल्लो स्तरका नेता, कार्यकर्ताहरुमा अपरिहार्यता रहेको टिप्पणी गरे । वक्ताहरुले संविधान कार्यान्वयन र स्थायित्वका आधारहरु, महिला सहभागिता, प्रजातन्त्र, अर्थव्यवस्थालगायतका विषयमा सहभागीहरुलाई जानकारी गराए । सह–प्राध्यापक गणेश दत्त भट्टले यो संविधानले जनतालाई बढी भन्दा बढी अधिकार दिएको बताए । उनले संविधानमा धेरै मौलिक हकहरु रहेको बताए । तर, संविधान भन्दा पनि नेतृत्वकर्ताहरुले कसरी कार्यान्वयन गर्छन् त्यो महत्वपूर्ण रहने उनले बताए । उनले बेलायतको उदाहरण दिँदै त्यहाँ संविधान नभए पनि कार्यान्वयन एकदमै उत्कृष्ट रहेको बताउँदै यहाँ पनि पार्टीहरुले यो पार्टी, उ पार्टी नभनी अघि बढ्नु पर्ने तर्क राखे । उनको कार्यपत्रमाथि सहभागीहरु मध्ये पूर्व प्राध्यापक कुमारबहादुर कार्कीले कार्यपत्र कार्यपत्र जस्तो नभएर प्रबन्धजस्तो भएको टिप्पणी गरे । उनले भने, ‘संविधान इनडकुमेन्टमा राम्रो छ । तर, कार्यान्वयनमा चुनौति छ ।’ उनले सबै उच्च नेताहरुलाई नागरिक शिक्षाको दिनको लागि सुझाव दिए । तल्लो स्तरमा भन्दा ‘ए ग्रेड’ का नेताहरुलाई नागरिक शिक्षा प्राप्त भयो भने हामीलाई राम्रो उनले टिप्पणी गरे । त्यस्तै निमा पोङ्सुवाले समूदायको हितमो यो संविधान नरहेको बताए । उनले कुनै पनि सरकारी कार्यालयहरुमा मातृभाषामा लेखेमा नेपाली भाषामा लेख्नुस् भनेर भन्ने गरेको बताए । ‘मौलिक हकमा लेखेर मात्रै हुदैन रहेछ नी ?’ उनले प्रतिप्रश्न गरे । महिला सहभागिताका विषयमा अधिवक्ता पवित्रा राउतले जानकारी गराउँदै भनिन्, ‘महिलाको सवालहरुमा पुरुषहरुले अन्तरसम्बन्धित गरेर हेर्नुपर्छ ।’ उनले अहिले उठिरहेको आमाबाट नागरिकता लिँदा गर्नुपर्ने झन्झटका कारण त्यसले समाजमा दृघकालीन असर पु¥याउने बताइन् । उनले भनिन्, ‘कुनै नेपाली नागरिकको नागरिकता भएन भने क्राइम बढ्छ । शिक्षाको अधिकारबाट बन्चित हुन्छ । व्यक्तिको नैर्सगिक अधिकारबाट बन्चित भइरहेको हुन्छ । त्यसैले यसलाई महिलाको मुद्दा भनेर मात्रै हेर्न हुँदैन । अन्तरसम्बन्धित गरेर हेर्नुपर्छ ।’ अर्थव्यवस्थाका बारेमा प्राध्यापक वेदराज आचार्यले नेपालमा प्रतिवर्ष ८ खर्व व्यापार घाटा रहेको बताए । तर, उनले उक्त व्यापार घाटालाई पूर्ती गर्नको लागि राज्यले के के उपायहरु अपनाउनुपर्छ भन्ने बारेमा जानकारी नगराएको सहभागीहरुले बताए । सहभागीहरुले सूचना दिने कार्य मात्रै भएको तर, त्यसको विकल्पमा के के गर्नुपर्छ भन्ने कुराहरु नआएको बताएका थिए । धरानको महेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न दुई दिवसीय कार्यक्रममा पूर्व प्राध्यापक, सह प्राध्यापक, राजनीतिज्ञ, नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।