कोशीटप्पू/चौविसैं घण्टा सञ्चार सुविधा चाहिने कोशी टप्पू बन्यजन्तु आरक्ष क्षेत्र महिनौंंदेखि सञ्चारविहीन बनेको छ ।
[caption id="attachment_57674" align="alignnone" width="979"]
आठमहिनादेखि अलपत्र परेको विटिएस टावर देखाउँदै कोशी टप्पू वन्यजन्तु आरक्षका आरक्ष संरक्षण अधिकृत श्यामकुमार साह ।[/caption]
२०३२ सालमा स्थापित भए पनि हालसम्म सञ्चारको पहुँचबाट आरक्ष बाहिर रहेको थियो । त्यसो त, २०७३ साल जेठ ७ गते मन्त्रीपरिषद्ले आरक्ष क्षेत्रमा विटिएस टावर निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि आरक्षका आरक्ष संरक्षण अधिकृत श्यामकुमार साहले निर्णय भएको १० दिन पछि नै अर्थात् १७ गते नै नेपाल टेलिकमलाई पत्राचार गरेको थियो । तर, हालसम्म पनि निर्माण कार्य अघि बढ्न सकेको छैन् ।
सामान्य फण्डेसनको काम सुरु भएको छ । तर, त्यो पनि ८ महिनादेखि निर्माण कार्य अघि बढ्न सकेको छैन । जसका कारण उक्त क्षेत्र सञ्चार सुविधाबाट बन्चित बनेको छ । फोनसमेत राम्ररी नलाग्दा उक्त क्षेत्रमा जंगली जनवारका कारण हुने मानवीय तथा भौतिक क्षतिलाई तत्काल सम्बोधन गर्न नसकिएको आरक्ष प्रमुख साह बताउँछन् । भन्छन्, ‘सञ्चारको युग भन्छौं । तर, सञ्चारको अवुविधामा हामी छौं ।’ उनका अनुसार यो क्षेत्रमा कुनै समस्या आउँदा पनि तत्काल सम्बोधन गर्न सकिदैन । जसका कारण गाउँलेहरु हामीसँग आक्रोसित बन्ने गरेका छन् ।
तीनमहिनादेखि हात्ती आतङ्क
कोशी टप्पू वन्यजन्तु आरक्ष क्षेत्र आसपास तीन महिनादेखि जंगली हात्तीको आतङ्क बढेको छ । हात्ती आतंकका कारण दैनिक आरक्ष क्षेत्रका कर्मचारीहरु हात्ति धपाउनको लागि खटिने गरेका छन् ।
हात्तिका कारण हालसम्म तीनजना सर्वसाधारणहरु घाइते बनेका छन् भने आरक्षकै ६ जना भन्दा बढी कर्मचारीहरु सामान्य घाइते बनेका छन् । जंगली हात्तिको आक्रमणबाट कोशी गाउँपालिका ३ का राजकुमार राउत र सप्तकोशी नगरपालिका ९ का रामकुमार साह गम्भीर घाइते बनेका थिए । त्यस्तै बदेलको आक्रमणबाट कञ्चनपुर १ सप्तरीका जगदीस पूर्वे सामान्य घाइते बनेका छन् ।
पीडितहरुले हालसम्म राहतसमेत पाउन सकेका छैनन् । राहतको लागि सिफारिस गरिएको आरक्ष संरक्षण अधिकृत श्यामकुमार साह बताउँछन् । उनका अनुसार साउनको दोस्रो सातादेखि निरन्तर हात्ति आतङ्क भइरहेको छ । हालसम्म १ सय घरधुरीको बालीक्षति पु¥याएको छ । १० जनाको घरक्षति पु¥याएको छ ।
कोशी गाउँपालिकाको पश्चिमकुसाह क्षेत्र, हरिपुर साथै बराहनगरपालिकाको मधुवन, प्रकाशपुरमा क्षति पु¥याइरहेको छ । त्यस्तै सप्तरीको पूर्व पिपरा र कमलपुरमा पनि क्षति पु¥याएको छ । मानवीय आवादी बढ्दै गएको र बन्यजन्तूहरुको वासस्थान साघुरिदै गएको कारण पनि वन्यजन्तूहरुले दुःख दिने गरेको अधिकृत साह बताउँछन् । ‘उनीहरुको प्रयाप्त बासस्थान रहेन ।’ उनी भन्छन् ।
आरक्ष १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमा १० प्रतिशत वन अर्थात् १७ दशमलव ५ वर्गकिलोमिटर मात्रै वन क्षेत्र छ । र, विशेष गरेर चरण क्षेत्र बाहेक उनीहरु बालीनाली सखाप पार्ने गरेको छ । जहाँ ४३२ वटा अर्ना मध्ये १३ वटा अर्ना चितवनको सौराहा राष्ट्रिय निकुञ्जमा लगिएको छ ।
स्थानीयबासी गोविन्द मण्डलले १५ वर्ष यतादेखि जंगली हात्तीको आक्रमणबाट आक्रान्त हुँदै आएको बताए । उनले मकै पाक्ने बेला, धान पाक्ने बेला र गहुँ पाक्ने बेलामा बढी क्षति पु¥याउने गरेको बताए । ‘फसल खान निस्कने गरेको छ ।’ |
दुरसञ्चारको क्षेत्रीय कार्यालयलाई बारम्बार फोन सम्पर्क गरे पनि हालसम्म निर्माणको प्रक्रिया अघि नबढाएको उनी बताउँछन् । २०७४ साल असोज १८ गते मात्रै कोशी गाउँपालिकालाई टावर निर्माणमा पहल गरिदिन भन्दै पत्राचार गरेका थिए । जडान कार्य सुस्त भएको भन्दै गाउँपालिकालाई पत्राचार गरिएको थियो । यस विषयमा कोशी गाउँपालिकाका प्रमुख अयुव अन्सारीले आफूहरुले पहल गरिरहेको बताए । उनले भने, ‘सचिव स्तरीय पनि पहल भएको छ । तर, अहिलेसम्म कुनै चासो देखाएको छैन् ।’
उनले टेलिकमले टावर निर्माणमा चासो नदेखाएको बताए । ‘हात्ति आतंक हुन्छ । फोन लाग्दैन । यसमा टेलिकमको क्षेत्रीय निर्देशनालयबाट टावर निर्माणमा लापरबाही गरेको देखियो ।’ टावर निर्माण के कारणले ढिलाई भइरहेको छ त्यो विषयमा पनि गाउँपालिका प्रमुख मात्रै हैन, संरक्षण अधिकृत साहले पनि बुझ्न सकेका छैनन् । ‘मन्त्रीपरिषद्बाट निर्णय भएको कुरा हो । खै किन निर्माण हुन सकेन ?’ संरक्षण अधिकृत साह बताउँछन् ।
सञ्चार असुविधा हुँदा वन्यजन्तु संरक्षण र मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापनमा चूनौति देखिएको छ । त्यति मात्रै हैन, अहिले दैनिक प्रशासनिक काम समेत बाधा पुगेको छ । पछिल्लो समय हात्ति आतंकका कारण उक्त क्षेत्र प्रभावित बनेको छ । त्यहाँ टावर निर्माण नहुँदा आरक्ष क्षेत्रलाई मात्रै नभई ‘श्री शत्रु भम्जन गुल्म’ लाईसमेत बाधा पुगेको छ । यता दुरसञ्चार क्षेत्रीय निर्देशनालय विराटनगरका निर्देशक अरुणप्रसाद पूरीलाई मोबाइलमार्फत् फोन सम्पर्क गर्न खोज्दा उनको फोन लागेन् ।
उक्त टावर निर्माणको काम कुन कम्पनीले प्राप्त गरेको छ भन्ने सम्म ज्ञान आरक्षलाई छैन । यस विषयको सम्बन्धित निकायले चासो नदेखाउँदा आरक्षका अधिकृतहरुलाई यसको जिम्मा कस्को होला भन्दै चिन्ता व्यक्त गर्छन् । उक्त क्षेत्रमा टावर बनेमा कोशी गाउँपालिकासँगै बराहक्षेत्र नगरपालिकाबासीहरु पनि सुविधा लिन सक्ने बताइन्छ ।