‘केही काम गर्दै भ्याएँ भने पढौंला भन्ने सोचाईमा थिएँ’ दिनेशले थपे ‘मेरो लागि सुनिल सर भगवान्नै भएर आउनु भयो, डाक्टर पढौंला भनेर सोचेको पनि थिइन ।’ ‘दिनेशलाई सन्थाल समुदायकै पहिलो डाक्टर बनाउने सपना बोकेका डा. शर्माले भने ‘झुपडीको मान्छे पनि डाक्टर हुन पाउनु पर्छ, त्यही भएर मैले उसमाथि लगानी गरेको हो ।’
अमरदह/घरको भित्तोमा लगाएको टाटी र लिउन वर्षाद्को पानीले गलेर आधा ढली सकेको छ । घर बाहिर बाँसमा सुकाएको जुट पन्साउँदै आँगनमा पुग्दा एक जना युवक आफ पेन्ट र गन्जी लगाएर बाहिर निस्किए । मोरङको अमरदह बराल टोल पश्चिममा रहेको उक्त झुपडीको दृश्य हो यो । झुपडीमा पुगेर सोधें दिनेश हस्ताको घर यही हो ? उत्तर आयो – हो । दिनेश जी हुनुहन्छ ? मै हो नि । ए हे..म तपाईलाई नै खोज्दै आएको । उनी हतारमा भित्र पसेर ट्राउजर लगाएर आए । अब हाम्रो कुराकानी अघि बढ्यो । पाँच जनाको परिवार वस्ने ऐलानी जग्गामा बनेको घरमा छुट्टै कोठा पनि रहेनछ । म डाक्टर पढ्दै गरेका दिनेशको खोजीमा थिएँ । मन मनै सोचें डाक्टर पढ्ने मान्छेको घर पनि यस्तो हुन्छ ? तर, विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमवीवीएस तेस्रो वर्षमा अध्ययनरत दिनेश हस्ता जन्मे हुर्केको घर यही रहेछ । निकै बेर बस्दा पनि दिनेशका बुबा जेठा हस्तासँग भेट भएन । जेठा हस्ता घर निजकैको खाडीमा पटुवा धुन गएका रहेछन् । ‘आफ्नो त छैन’ दिनेशले भने ‘अर्कैको पटुवा धुन बुबा खाडी जानु भएको छ ।’ यति भन्दै गर्दा आमा देवीकुमारी एक भारी घाँस बोकेर आइन् । सन्थाल समुदायका दिनेशले सुगाहाट स्कुलमा ७ कक्षा सम्म पढेका रहेछन् । त्यस पछि उनी स्थानीय अमरसिंह उच्च माविमा भर्ना भए । सोही स्कुलमा उनी व्यवस्थापन विषयमा १२ कक्षा पढ्दै थिए । त्यसै बेला स्थानीय धर्मप्रसाद न्यौपानेसँग भेट भयो । उनले भने डाक्टर पढ्छौं ? मैले कल्पनै नगरेको प्रश्न गर्दा नपत्याएर भने ‘कस्ले पढाउँछ र ? ’ धर्मप्रसादलाई विराटनगर नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले गरिब तर जेहेन्दार विद्यार्थी भेटिए डाक्टर बनाउने बताएका रहेछन् । ‘पैसा खर्च हुने भए हुँदैन भने’ आमाले भनिन् ‘कहाँबाट पैसा ल्याउनु अर्काको जग्गा कमाएर खाने मान्छे हामी ।’ पैसा लाग्दैन भने पछि छोरो विराटनगर पठाएँ । छोराले अक्षर चिने पछि ढुक्क भएकी आमा खाडी मुलुक तिर गएर दुई चार पैसा कमाउला भन्ने ठूलो उदेश्य बोकेकी रहिछन् । डाक्टरको कल्पना गर्ने कुरै भएन । दिनेशको पनि जिवनको खासै कुनै योजना थिएन । स्थानीय विद्यालयमा व्यवस्थापन संकायमा पढाई हुन थाले पछि १२ कक्षा बढेर त्यस पछि कामको खोजीमा विराटनगर तिर जाने तयारीमा थिए । ‘केही काम गर्दै भ्याएँ भने पढौंला भन्ने सोचाईमा थिएँ’ दिनेशले थपे ‘मेरो लागि सुनिल सर भगवान्नै भएर आउनु भयो, डाक्टर पढौंला भनेर सोचेको पनि थिइन ।’ धर्मप्रसादको सम्पर्कबाट डा. सुनिल शर्मासँग भेट भए पछि डाक्टर बन्नका लागि फेरि विज्ञान विषयमा प्लस टु गर्नु पर्ने भयो । दिनेश राजी भए । त्यस पछि मलाई सुनिल सरलेनै विराटनगरको कोभास कलेजमा विज्ञान विषयमा भर्ना गरिदिनु भयो । खाने बस्ने, लाउने सम्पूर्ण खर्च डा. सुनिल शर्माले नै व्यहोरे । ‘अहिले सम्म एक पैसा लागेको घरबाट खर्च गर्नु परेको छैन ।’ दिनेशले भने ‘होस्टलमा बस्छु, पढ्ने किताव र कापी पनि सरले दिनु हुन्छ ।’ परिवारका जेठा सदस्य दिनेशका एक भाईले पढ्न छाडे । एक भाई स्नातक पढ्दैछन् । बहिनी पनि स्थानीय स्कुलमा नौ कक्षामा पढ्दै छिन् । यति वेला कलेज विदा भएका कारण उनी घर गएका हुन् । पछिल्लो समय पूर्वमै अध्यधिक विरामीको चाप हुने विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालक डा. सनिल शर्मासँग सम्पर्क गर्ने कौतुहल जाग्यो । त्यस पछि डा. सुनिल शर्मासँग फोन सम्पर्कमा कुरा भयो । ‘किन उसको (दिनेश) लागि यति धेरै खर्च गर्नु भएको ?’ डा. शर्माले भने ‘हिजो म पनि दिनेश जस्तै विपन्न मान्छे, आफ्नो जस्तै सम्झीएर ।’ कसरी ? डा. शर्माले म साँचो कुरा खोलुँ ? मैले भने तपाईलाई अप्ठ्यारो हुँदैन भने हुन्छ ? त्यसो भए म पनि मधुमल्लामा अर्काको घर नारायण बरालको घरमा जन्मिएको सुकुम्वासीको छोरा हुँ । बुबा लोकनाथ र आमा हुमादेवीले मलाई नपढाउनु भएको होइन । तर, आर्थिक अवस्था कमजोर भए पछि मैले पनि वेलवारीमा नौ महिना रिक्सा कुदाएको छु । कालिकोटका प्रेम शाहीको घरमा बसेर एसएलसी दिएँ । काठमाडौंको टिचिङ हस्पिटलमा हेल्थ असिस्टेन्ट पढ्दा रत्नपार्कमा क्यारामबोर्ड खेलाएर खर्च जुटाएँ । बल्ल नेपाल सरकारको छात्रवृत्ती कोटामा एमवीवीएस गर्ने मौका पाएँ । उनी भन्दै गए ‘अहिले एक हजार तीन सय ६७ जनालाई रोजगारी दिएको छु । दैनिक तीन हजार विरामीको उपचार गराउने हस्पिटल बनाएका छौं । हामी आफैं डाक्टर उत्पादन गछौं । दिनेशलाई सन्थाल समुदायकै पहिलो डाक्टर बनाउने सपना बोकेका डा. शर्माले भने ‘झुपडीको मान्छे पनि डाक्टर हुन पाउनु पर्छ, त्यही भएर मैले उसमाथि लगानी गरेको हो ।’ डाक्टर बन्दै गरेका दिनेशका अनुसार प्लस टु देखि एमवीवीएस बन्दासम्मको खर्च हिसाब गर्ने हो भने एक करोडको हाराहारीमा पुग्दो रहेछ । तर, उनी यस्ता भाग्यमानी विद्यार्थी हुन् । जस्ले प्लस टु देखि एमवीवीएस तेस्रो वर्षसम्म आइ पूग्दा नत घरबाटै नै खर्च माग्नु परेको छ, नत खान, लाउन र पढ्न नै अभाव छ ।