भद्रपुर । झापा क्षेत्र नम्बर ३ मा प्रमुख चार दलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भए पनि झापामा दुबै दलले आ–आफ्नो तर्फबाट उम्मेदवार तय गरेपछि यस्तो सार्वजानिक भएको हो ।
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले आ–आफ्नो उम्मेद्वार सिफारिस गरेसँगै चार दलीय प्रतिस्पर्धा पक्का भएको हो । यो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, एमाले नेता पुष्पराज पोखरेल, माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाईं र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् ।
कांग्रेसको पकड भएको क्षेत्र मानिएको क्षेत्र नम्बर ३ मा स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिकामा राप्रपाले र भद्रपुर नगरपालिकामा एमालेले जितेको छ । योसँगै राप्रपाले क्षेत्र नम्बर ३ मा आफ्नो पकड मजबुद बनाएको देखिन्छ ।
कांग्रेसका प्रभावशाली नेता सिटौला यसै निर्वाचन क्षेत्रका सांसद् हुन् । अघिल्लो संविधानसभा निर्वाचनमा सिटौलाका निकटम् प्रतिस्पर्धी लिङ्देन स्थानीय तह निर्वाचनमा जनमत दर्बिलो बनेपछि यस पटकको प्रतिनिधिसभा निर्वाचनमा जीत आफ्नो हात लाग्ने आशमा छन् ।
एमालेका उम्मेद्वार पोखरेल भद्रपुर नगरपालिकाका पूर्व मेयर र यस क्षेत्रका पूर्व सांसद् समेत हुन् । माआवादी नेतृ चापागाईं झापाकी प्रभावशाली महिला नेतृ मानिन्छिन् भने निर्वाचित सांसद् र पूर्वस्वास्थ्य राज्यमन्त्री समेत हुन् । कांग्रेस नेता सिटौला पार्टीको पूर्वमहामन्त्री भएदेखि नै त्यस क्षेत्रको सांगठनिक संरचना विस्तारमा लागेका थिए र त्यो क्रम अहिले पनि जारी छ । राप्रपा नेता लिङ्देनले पनि ३ नम्बर क्षेत्रलाई आफ्नो राजनीतिक करियरका रुपमा दह्रो स्थान सम्झने गरेका छन् ।
माओवादी नेतृ चापागाईं सांसद् र पूर्व राज्यमन्त्री रहँदा त्यस क्षेत्रको संगठन विस्तारमा लागेकी थिइन् । उनको राजनीतिक गतिविधिको क्षेत्र पनि ३ नम्बर नै हो । पोखरेल अघिल्लो संविधानसभामा टिकट पाउनबाट बञ्चित बने पनि उनले ३ नम्बर क्षेत्रलाई आफ्नो राजनीतिक आधारभूमि बनाउन सक्रिय रहे । पार्टीमा कम बोल्ने तर, कार्यकर्ताबीच शालीन परिचय बनाएका पोखरेल त्यसको फाइदा उठाउने तरखरमा जुटेका छन् । सिटौला र लिङ्देन पार्टीको केन्द्रीय राजनीतिमा समेत प्रभाव राख्ने नेता हुन् । चापागाईं पनि माओवादीको अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष हुन् । यी नेताहरुको राजनीतिक करियर र चुनावी प्रतिष्पर्धाका लागि एउटै निर्वाचन क्षेत्र रोज्नुले उनीहरु आपसमा शक्ति स्थापित गरेर अघि बढ्ने सोचमा रहेको स्पष्ट नै छ । बाम एकताको कुरा उठिरहेका बेला एमाले–माओवादी केन्द्रबीच तालमेल भएमा यो क्षेत्रबाट कुन दलको उम्मेद्वारले निर्वाचन लड्न पाउने हो, यो विषय पनि टड्कारो रुपमा उठिरहेको छ । यदि माओवादीले दुई निर्वाचन क्षेत्रमा मात्र उम्मेद्वार उठाउन पायो भने क्षेत्र नम्बर २ मा पूर्व सञ्चारमन्त्री सुरेन्द्र कार्की र क्षेत्र नम्बर ३ बाट धर्मशीला चापागाईंको सम्भावना दह्रो देखिन्छ । नयाँ पुनर्संरचना अनुसार झापा क्षेत्र नम्बर ३ भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नम्बर १० लाई समेटेर बनाइएको छ । ७ वटा निर्वाचन क्षेत्र रहेको झापालाई ५ वटा बनाइएपछि नेताहरुको प्रभावगत क्षेत्र मिश्रित भएकाले पनि कसले जित्ने हो सहजै अनुमान लगाउन नसकिने जानकारहरु बताउँछन् ।