धरान/ धार्मिक सहिष्णुताको प्रतीकको रूपमा निर्माणाधीन धरान–१७ को सप्तरङ्गी पार्कले के अब लेला त मूर्त रूप ? यो प्रश्न आम धरानवासीको मनमा छ । धरानको पर्यटनको एउटा हिस्सा ओगट्ने ‘सप्तरङ्गी पार्क’ अढाइ दशकअघिको सपना हो ।
२०४९ सालमा तत्कालीन मेयर ध्यानबहादुर राईले सप्तरङ्गी पार्कको अवधारणा शुरु गरेका थिए जो एमालेबाट जनप्रतिनिधि बनेका थिए । करीब ६ बिघा जग्गामा निर्माणाधीन सप्तरङ्गी पार्क अलपत्र परेको झण्डै आधा दशक नाघिसकेको छ ।
पार्कको मध्य भागमा बन्दै गरेको मण्डला अहिले जीर्ण बन्ने क्रममा छ ।
‘झण्डै ९ वर्ष पुग्न लाग्यो होला’, एक दशकअघि निर्माणको जिम्मा पाएका कलाकार विक्रम श्रि भन्छन्, ‘एकदमै दुःख लाग्छ । त्यति राम्रो आयोजना त्यसै अलपत्र छ ।’
उनका अनुसार पूर्वमेयर राईले त्यो बगरमा अाफैले युरिया छरेर वृक्षारोपण गरेका थिए ।’ त्यो वृक्षारोपणको उद्देश्य थियो– त्यहाँ धरानका लागि चिल्ड्रेन पार्क निर्माण गर्ने ।
तर धेरै विद्वानहरूसँगको भलाकुसारीपछि उनले त्यस ठाउँमा सप्तरङ्गी पार्क निर्माण गर्ने योजना बुनेका थिए । पूर्वमेयर राई भन्छन्, ‘त्यो मेरै कालमा निर्माण गर्ने योजना बनेको हो ।
फेजवाइज बनाउने भनेर कामसमेत थालियो तर अहिले अलपत्र अवस्थामा छ ।’ उनको पालामा शुरु गर्ने योजना बनाइए पनि अर्का मेयर मनोजकुमार मेन्याङ्बोको पालामा समेत काम अघि बढेन । धेरै पछि अर्थात् २०६५ सालतिर करीब ७० लाखको लागतमा मण्डलाको काम शुरु भयो जहाँ चारवटा धर्म–सम्प्रदायलाई समेट्ने गरी गुरुयोजना थालियो ।
मण्डलाको पूर्वी भागमा पेगोडा शैली, पश्चिमी भागमा शिखर शैली, दक्षिणतर्पm मुगल शैली र उत्तरतर्प गुम्बज शैलीको भवन निर्माण गर्ने तयारी थियो तर काम शुरु भएको केही समय नबित्दै बजेट विनियोजन हुन नसक्दा काम अलपत्र बनेको छ । बनेका मण्डलाको जगसमेत जीर्ण बन्दै गएको छ । चिन्तित हुँदै पूर्वमेयर राई भन्छन्, ‘यसलाई तत्कालै निर्माण शुरु गर्न जरुरी छ । नत्र भएको लगानी पनि बालुवामा पानी हालेजस्तो हुन्छ ।’ यसरी आयो सप्तरङ्गीको अवधारणा कोशी अञ्चल प्रहरी कार्यालयदेखि धरान–१७ को फोक्लेन टापुसम्म करीब ६७ बिघा जग्गा तत्कालीन समयमा खाली थियो । बगरको रूपमा रहेको सो स्थानलाई हरितीकरण गर्न सके धरानका लागि फाइदा पुग्ने भनेरै त्यहाँ बिरुवा रोपिएको पूर्वमेयर राई बताउँछन् ।
‘पूरै बालुवा थियो । कसैले त्यहाँ एक वर्ष खेतीसमेत गरेको थिएन’, उनी भन्छन्, ‘अर्को वर्ष मैले आपैmँले बिरुवा रोपेर पानी पनि हालेँ । त्यसलाई हरितीकरण गर्ने योजनाअनुरूप पाइला चालिएको थियो ।’त्यसपछि धरानेहरूसँगको छलफलपछि नै त्यसमा चिल्ड्रेन पार्कको अवधारणा आयो । त्यही अवधारणा पछि सप्तरङ्गी पार्कमा परिणत भयो ।
‘बीचमा शहीद पार्क पनि राखौँ भनेर छलफल चलाइयो’, उनले भने, ‘अनेक खालका बोटबिरुवाहरू रोप्यौँ ।’ उनका अनुसार त्यसपछि वर–पिपललगायतका बिरुवा भएपछि गार्डेनको सोच आयो ।
हरितीकरण भएपछि यसलाई ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अघि बढाउनुपर्छ भन्ने छलफल भएपछि काम शुरु भएको हो । यस्तो थियो अवधारणा पार्क निर्माण गर्ने सहमति बनेपछि त्यसका लागि डा सोम खतिवडाको अगुवाइमा अवधारणापत्र बनाइएको थियो जसमा अन्तरधार्मिक सहिष्णुताका लागि अन्तरधार्मिक, अन्तरजातीय, अन्तरसांस्कृतिक झल्किने किसिमको सप्तरङ्गी पार्क बनाउने अवधारणा बनेको कलाकार विक्रम श्रिको भनाइ छ ।
उनी भन्छन्, ‘त्यो पार्क मौलिक पनि होस् र अर्थपूर्ण पनि होस् । धरानलाई चिन्नेहरूले धार्मिक सहिष्णुताको प्रतीकका रूपमा जसरी चिन्छन्, त्यसरी नै यसलाई प्रस्तुत गरौँ भनेरै काम थालिएको थियो ।’
त्यसमा अन्तरधार्मिक सङ्ग्रहालय, दर्शन पुस्तकालय, सामुदायिक भवन र चिल्ड्रेनका साथै वृद्धवृद्धा पार्कको रूपमा समेत अघि बढाउने योजना छ ।
अन्तरधार्मिक सङ्ग्रहालयमा विभिन्न जातजातिका सामग्रीहरू राख्ने तयारी छ । त्यस्तै, दर्शन पुस्तकालयमा सबै धर्म र दर्शनका पुस्तकहरू राखिनेछन् जसबाट एउटा दर्शनबाट विचलित भएकाहरूले अर्को दर्शन अध्ययन गरेर त्यसको चुरो कुरा पत्ता लगाओस् भन्ने उद्देश्य थियो । पूरा गर्लान् अबका मेयरले ? धरानको पर्यटनमा फरक हिस्सा ओगट्ने धरान–१७ को सप्तरङ्गी पार्क निर्माणलाई पुनः शुरु गर्लान् त नयाँ मेयरले ? यो प्रश्न पनि उत्तिकै पेचिलो बन्दै गएको छ ।
तर अधिकांश धरानेहरू सो प्रोजेक्ट बन्नुपर्छ भन्नेमा अडिग छन् । स्थानीय देवेन्द्र पौडेल भन्छन्, ‘सम्बन्धित निकायले चासो राख्नुपर्छ । विकासलाई अघि बढाउन आवश्यक देखिन्छ ।’ पार्क निर्माण सम्पन्न भएमा पूर्वका पर्यटकहरूलाई भित्र्याउन सकिनेमा उनी विश्वस्त छन् । भन्छन्, ‘बालबालिका उद्यान, वृद्धा पार्कलगायत मात्रै बन्यो भने पनि पर्यटकहरू भित्रिन सक्छन् ।’
एमालेबाट निर्वाचित पूर्वमेयर राईले थालेको यो ड्रिम प्रोजेक्टलाई अहिलेका मेयर तारा सुब्बाले पूरा गरेमा पक्कै पनि धरानको पर्यटनमा कोशेढुङ्गा साबित हुने थियो । यसबारेमा मेयर सुब्बा भन्छन्, ‘त्यो आयोजनालाई हामी पूरा गर्छौं । यो पटक नै त नभनौँ, अर्को वर्षदेखि बजेट विनियोजन गर्नेछु ।’
त्यसो त यसपटकको नगर सभाबाट सबैभन्दा बढी खर्च धरानको विकास र पर्यटनमा गर्ने घोषणा गरिसकिएको छ । तर त्यो घोषणाले मूर्त रूप लिन भने केही समय कुर्नुपर्ने हुन्छ जसमा सप्तरङ्गी पार्क पनि पर्ने छ भन्ने विश्वास धरानेहरूले लिएका छन् । ‘यसलाई धरानको नमुना पर्यटकीय क्षेत्र बनाउने लक्ष्य हो ।’
धरान १७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई भन्छन् । मेयर सुब्बाले यसका लागि निजी क्षेत्रलाई पनि आह्वान गर्ने योजना रहेको बताए । ‘पब्लिक प्राइभेट पार्टनरसीपको अवधारणामा अघि बढ्ने छौँ’, उनले भने, ‘शहरी भवन विकाससँग कुरा गर्ने तयारी छ ।’
उनले १०–१५ करोड रूपैयाँको लागत लाग्ने अनुमान गरे । पूर्वमेयर राईले पनि ‘आयस्रोत’ को माध्यम बनाउन सकिने पार्कका लागि निजी संस्थानहरूसँग पनि सहकार्य गर्न जरुरी रहेको बताए ।