ताप्लेजुङ । नदीहरुमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढेकाले स्थानीय जातका माछा संकटमा परेको स्थानीयले गुनासो गरेका छन् । पछिल्लो समय असला, कत्ले, बुदुना, काब्रे, हिल्लेलगायत स्थानीय जातका माछा पनि करेन्टका कारण क्रमशः घट्दै गएको स्थानीय बासिन्दाको भनाइ छ । हरेक वर्ष भदौ र असोजमा तीतेमाछा मारिन्छ । पछिल्लो समयमा स्थानीय जातको माछा खोला, खोल्सामा कमै भेटिन थालेको स्थानीय बताउँछन् । ‘नदीमा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने व्यवसाय तीव्र रुपमा बढेको छ, यसरी नै माछा मार्दा स्थानीय जातको तीतेमाछा पनि लोप हुने खतरा बढेको लिवाङका विष्णु लिम्बुलेको भनाइ छ’

सिजनको ५० किलोसम्म तीतेमाछा संकलन गर्ने ताप्लेजुङ लिवाङका विष्णु लिम्बुले यो सिजनमा १० किलो पनि भेटेनन् । तीतेमाछाका पारखी उनका ग्राहकलाई भनेजति दिन नसक्दा चिन्तित छन् । माछा घट्दै गए पनि ताप्लेजुङ, पाँचथर र तेह्रथुममा खोला, खोल्साबाट संकलन गर्ने चलन रोकिएको छैन । पाँचथरका सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु, फलैंचा तथा ताप्लेजुङका कालीखोला, सादेवा, सुरुम्खिम, लिवाङलगायत गाउँका बासिन्दा भदौ, असोजमा तीतेमाछा समाउन साँझ नपर्दै खोला किनारमा झर्छन् । यी स्थान भएर बग्ने खोलामा पाइने तीतेमाछा समातेर पकाएर खाँदा स्वाद पनि फरक हुने र बिक्रि गर्दा पनि राम्रो मूल्य पाइने पाँचथर प्राङबुङका कुलमान राई बताउँछन् । फरक स्वाद, आकार र विशेषताको तीतेमाछा प्राङबुङ र सिदिनको सीमास्थित मुवा, प्राङबुङ र मेमेङबीचको हेंवा तथा च्याङथापु र फलैंचा नजिकको इँवा खोला, ताप्लेजुङका खहरे, काबेली, तमोर र मेवा, मैवा खोलामा मात्र पाइन्छ ।

चोयाबाट बुनिएको पासो प्रयोग गरिन्छ । तीतेमाछाले वर्षमा एक सिजन अर्थात् भदौमा अण्डा पारेर सन्तान उत्पादन गर्छ । भदौमा तितेपाती पनि फुल्छ । यही सिजनमा आकाश गर्जिनासाथ तीतेमाछाले फुल पारेर कुरबाट बाहिरिन्छ, मौका छोपेर त्यसै बखत पासो थापे एकै पटकमा समाउन सकिन्छ । खोलाबाट बाहिर निस्किएका माछा सामान्य पानी बग्ने खोल्सातर्फ सरेको अवस्थामा भेटिने स्थानीय प्रदीप लिवाङ बताउँछन् । तितेपाती फुलेको सिजन र त्यो पनि राति अण्डा पारेर निस्किने भएकाले उक्त प्रजातिको माछालाई तीतेनामकरण गरिएको स्थानीय बासिन्दाको भनाइ छ । तीतेमाछाले अण्डा पार्ने समयलाई स्थानीय भाषामा ‘माछा फुल्ने सिजन’ पनि भनिन्छ । एक सिजनमा लापरवाही पूर्ण मारियो भने अर्को वर्षदेखि माछा हराउने भएकाले साबुन र विषादीको प्रयोग गर्दैनन स्थानीय बासिन्दाले । जलचर ऐनलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासनले सिन्कासम्म भाँच्न नसकेको पाँचथर अमरपुरका शिक्षक दुर्गा राई बताउँछन् ।