पाँचथर/सामान्यतः करेसाबारीमा फलफूल र सागसब्जी लगाउँने गरिन्छ । तर पूर्वी पहाडि जिल्ला पाँचथरमा भने पछिल्लो समय करेसामा अलैंची लगाउँने प्रचलन बढ्दै गएको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रका कृषकको करेसाबारी फलफूल र सागसब्जिको सट्टा अलैंचीले सजिन थालेका छन् ।
[caption id="attachment_56022" align="alignleft" width="498"]
फलफूल र सागसब्जिको तुलनामा बढि आम्दानि हुने भएकाले खोल्सि र जङ्गलमा गरिने अलैंची खेतिलाई कृषकले करेसाबासीमा पनि बिस्तार गर्न थालेका हुन् । सागसब्जि लगाएर बेच्न नजिकै बजार नभएको र अलैंची लगाए सजिलै बिक्रि हुने भएकाले करेसामा पनि अलैंची खेती सुरु गरेको फालेलुङ गाउँपालिका–७, सिदिनका तस्विर राईले बताए । उनले भने– ‘आर्थिक हिसाबले पनि यसबाट बढी फाइदा लिन सकिन्छ ।’
धन्दापात गरेको मलिलो पानी सिधै करेसाबारीमा जाने भएकाले करेसाको अलैंचीले गुणस्तरीय उत्पादन दिने कृषक बताउँछन् । याङ्वरक गाउँपालिका–५, च्याङ्थापुका मनोज राईले भने– ‘थोरै क्षेत्रफल भए पनि बगानको भन्दा अब्बल अलैंची उत्पादन हुन्छ ।’ जसले फलफूल र सागसब्जी भन्दा चौगुणा बढी आम्दानि हुने मनोजको भनाइ छ । उनले थपे– ‘त्यसैले यो क्षेत्रमा करेसाबारीमा अलैंची लगाउँने प्रचलन बढेको छ ।’
फलफूल र सागसब्जीको लागि नजिकै बजार नहुनु र बढी आर्थिक उपार्जन गर्न सकिने भएकैले दर्जनौं किसानले करेसाबारीमा अलैंची लगाउँन थालेका छन् । कृषकले बेर्ना र फल उत्पादन दुबैको लागि करेसाबारीमा अलैंची लगाउँने गरेका छन् । जिल्लाको फालेलुङ, याङवरक र हिलिहाङ गाउँपालिकाको च्याङ्थापु, सिदिन, मेमेङ, प्राङबुङ, थर्पु, फलैंचा, पञ्चमी, सुभाङ लगायत क्षेत्रका कृषकले करेसाबारीमा अलैंची खेती बिस्तार गरेका छन् । उनीहरुले रामसाई, गोलसाई, निर्मले, भार्लाङ, राम्ला जातका अलैंची रोप्ने गरेका छन् ।
सुख्खायाममा पनि सिंचाई पुग्ने हुँदा करेसाको अलैंची मर्ला भन्ने चिन्ता समेत नहुने कृषक बताउँछन् । याङ्वरक–५, च्याङथापुका कृषक सुजाता राईका अनुसार तीन वर्ष अघिबाट करेसाबारीमा अलैंची खेती बिस्तार गर्न थालिएको हो । करेसाको अलैंचीले घरछेउको वातावरण सधैं हरियालि हुँदा आनन्द आउँने सुजाता बताउँछिन् ।
अलैंची खेतिलाई खोल्सी, जङ्गल र पाखोबारी हुँदै करेसाबारीसम्म पुर्याएर कृषकले नयाँ ढंगको अभ्यास गरिरहेको जिल्ला कृषि विकास कार्यालय पाँचथरका प्रमुख कमलेश तिवारी बताउँछन् । उनका अनुसार यो अभ्यास अहिले जिल्लाभरी नै बिस्तार हुने क्रमम छ । कृषकहरुको यो अभ्यासलाई प्रोत्साहित गर्न कार्यालय सँग कार्यक्रम नभए पनि आफू पुगेको ठाउँमा र मातहतका कर्मचारी मार्फत कृषकलाई आवस्यक प्राविधिक ज्ञान र परामर्श दिंदै आएको उनले बताए ।