पाँचथर/ देशकै नमुना खानेपानी आयोजनाको रुपमा सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजनाको मुहान बिबादले आयोजनाको काम प्रभावित बनेको छ । सरकारले सुख्खाग्रष्त क्षेत्र घोषणा गरेको दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिका स्थित यासोक, रानीगाउँ र स्याबरुम्बा क्षेत्रमा खानेपानीको सहज व्यवस्थापन गर्न ‘तमोर लिफ्ट’ सुरु गरिएको थियो ।
१६ पुष २०७२ देखि आयोजनाको मूख्य पाइपलाइनको काम सुरु भएको थियो । त्यतिबेला प्राविधिक र आर्थिक दुबै रुपले ठिक रहेको भन्दै तमोर नदी स्थित लोरिपा दोभानबाट पानी लिफ्ट गरेर ल्याउँने स्टेमिट सहित काम सुरु भएको थियो । तर आयोजनाको ठेक्का पाएको कम्पनि प्रेरा स्वामी नारायण जेभीले काम सुरु गरेपछि लोरिपा दोभान मुहानका लागि अनुपयुक्त हुने देखिएपछि तीन किलोमिटर तल लुमुघाटमा मूल सार्ने प्रस्ताव पछि बिबाद चुलिएको हो ।
अहिले आयोजनाको मूलको सम्पूर्ण काम स्थगित गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ सव डिविजन कार्यालयका प्रमुख सुरतलाल चौधरीले मुहानको विषयमा बिबाद कायम रहेकाले तत्काललाई निर्माण कम्पनिलाई मुहानको काम नगर्न भनेको बताए । ‘बिभागिय प्रमुखले स्थलगत अध्ययन गरेर दुबै पक्षलाई राखि कुरा गर्नुस र समझदारी कायम गर्नुहोस भन्नुभएको छ’ प्रमुख चौधरीले भने ‘केही दिनमै हामी आयोजनाको अवलोकन गरी दुबै पक्षलाई राखेर सहमति जुटाइ काम अघि बढाउँछौं ।’
तमोर लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष नर बहादुर खड्का सहितको एक समूह पुरानै स्टेमिट अनुसार लोरिपा दोभानलाई नै मुहान बनाइनुपर्ने पक्षमा छन् । समितिका सचिव तथा कुम्मायक गाउँपालिका अध्यक्ष समेत रहेका देवेन्द्र कुमार लाओतीले भने सुरुको प्राविधिक स्टेमिटमा मोटरबाटो छुटेको र लोरिपा दोभानसम्म पुग्ने मोटरबाटो निर्माण गर्दा अत्यन्तै धेरै खर्च हुने प्राविधिकको भनाई अनुसार वैकल्पिक मुहानको रुपमा लुमुघाट प्रस्ताव गरिएको बताए । ‘साविक यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसका सबै राजनीतिक दल र जनताहरुको भेलाले लुमुघाट मुहान बनाउँने निर्णय भएको हो’ उनले भने ‘केही व्यक्तिहरुले नीहित स्वार्थका लागि बिबाद सिर्जना गरेका छन् ।’
मेलम्चिपछिको नेपालकै ठूलो खानेपानी आयोजना भनिएको ५१ करोड ३० लाख २० हजार रुपैंयाँको उक्त आयोजनाको मूख्य प्रशारण लाइनको करीब ५० प्रतिशत काम सकिएको निर्माण कम्पनि स्वामी, प्रेरा, नारायण जेभीका प्रमुख सन्तोष बस्नेतले बताए । सो क्षेत्रका ३ हजार ४५ घरधुरीका १७ हजार जनसंख्यालाई खानेपानीको समस्या नहुने गरी आयोजना सुरु भएको हो ।
तमोर नदीदेखि १३ सय किलो मिटरभन्दा माथि यासोकको थामडाडाँसम्म लिफ्ट गरेर खानेपानी वितरण गर्ने योजना लिइएको छ । प्रतिसेकेण्ड २० लिटर पानी लिफ्ट गरेर ल्याउने गरी बढिरहेको योजनाको १७ किलोमीटर ट्रासमिसन पाईप लाईन र एक सय ९२ किलोमिटर वितरण लाईन बन्नेछ । तमोर दोभान स्थित मुहानमा १५ फिट गहिरो इनार खनी त्यहाँ रसाएको पानी लिफ्ट मार्फट सात स्टेशन तयारी गरी माथि ल्याईने बताइएको छ । यसका लागि १० वटा रिर्जभ वायर ट्याङ्की बन्ने छन् भने ब्रेक प्रेसर ट्याङ्क एक सय ८९ वटा हुने छन् । तर मुहान बिबादले काम नै प्रभावित हुँदा बर्षौंदेखि खानेपानीको बिकराल समस्या झेलिरहेका स्थानीय भने निरास बनेका छन् ।
फोटो ः बैकल्पिक मुहानको रुपमा प्रस्ताव गरिएको तमोर नदीको लुमुघाट । तस्विर ः सन्देश सुब्बा