शनिश्चरे /अरु बेला त्यसै त तस्करीको निशाना परिरहने झापाको रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रका रुख यसबेला हावाहुरीले ढालेपछि तस्करी गर्नेहरुका लागि सजिलो बनेको छ ।

नेपालकै दोस्रो ठूलो वृक्षारोपण आयोजनाका रुपमा रहेको रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रभित्र गत साउन अन्तिम साताको हावाहुरीले लडाएका करिव १ करोड ५० लाख मुल्यका काठ त्यसै जंगलमै अलपत्र पर्नुका साथै तस्करी समेत हुन थालेको छ ।

ढलेका मसला, टिक र सखुवाका रुखहरु उठाएर लानका लागि सरकारी प्रक्रिया झन्झटिलो भएर ढिलो भएको आयोजना प्रमुख खेमलाल विश्वकर्माले सुनाए । ‘भारी वर्षासँगैको हावाहुरीले मसला, टिक र मसलाका १ हजार ८ सय २ वटा रुख ढल्दा करिव १ करोड ५० लाखको क्षति भएको अनुमान छ ।’– उनले थपे ‘ काठ उठाउने सरकारी प्रक्रिया लामो भएकाले समेत समस्या भइरहेको छ ।’

ढलेका रुखहरु उठाउन ढिलो हुँदा तस्करी कार्य भइरहेको प्रमाणका रुपमा १५ ट्याक्टर टुना सशस्त्र प्रहरीको सहयोगमा वन कार्यालयले नजिकको वस्तीबाट बरामद गरेको छ । शिवसताक्षी तथा चुलाचुली क्षेत्रका घर घरबाट ती काठ बरामद भएका थिए । ‘केही दिन मुसलधारे पानी परेर जताततै बाढी र डुवान भएको समयमा गस्ती समेत गर्न असजिलो बन्यो । ’– उनले तस्करहरुले तनाव गराएको आशय व्यक्त गर्दै भने । भारी वर्षा र वाढी आएको दिनमा केही काठ तस्करी भएको भन्दै त्यसपछिका दिनमा भनें आफुहरु सक्रिय भएर रुँघिरहेको उनको भनाई छ ।

ढलेका रुखका कटान गरेर निकाल्ने प्रक्रिया स्वरुप रुखको छपान मूल्यांकन गर्ने कार्य भइरहेको र सो कार्य सम्पन्न भएपछि यसबारेमा पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालय र केन्द्रमा जानकारी गराउने उनले जनाए । निर्देशनालयबाट अनुगमन भएपछि मात्र काठ निकाल्ने स्वीकृति दिने प्रवाधानले अझै केही समय लाग्ने देखिएको छ । गाइगोठालाहरुले छपान गरेका काठहरु समेत चोरी निकासी भइरहेको बताएका छन् । तस्करी गर्नेहरुको संगठित गिरोह भएका कारण स्थानीयवासीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा काठको क्षतिप्रति चिन्ता जाहेर गर्दै भनेका छन् ‘केही समयसम्म पनि काठ उठ्न नसके ठूलो रकमको काठ तस्करी भएर नास हुने प्रष्ट छ ।’

त्यहाँका साथै चुरे क्षेत्रबाट काठ कटान चिरान गरी कन्काई नदीमा काठ हेलेर तस्करी समेत हुँने गरेको छ । थप तस्करी हुनबाट काठ जोगाउनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका वन रक्षकले आयोजना क्षेत्रमा राती समेत गस्ती गरिरहेको कार्यालयको भनाई छ । कमल गाउँपालिकादेखि शिवसताक्षी नगरपालिका क्षेत्रको कन्काईसम्म फैलिएको वृक्षारोपण आयोजना २ हजार ७ सय ५३ दशमलव ७६ हेक्टर क्षेत्रमा फैलिएको छ ।