ताप्लेजुङ/ताप्लेजुङमा भेडा पालन व्यवसाय सङ्कटमा पर्दै गएको छ । हाल चरन क्षेत्रको अभाव खड्किएसँगै भेडा पालन व्यवसाय सङ्कटमा पर्दै गएको हो ।

चरनको रुपमा उपयोग गरिँदै आएको हिमाली क्षेत्रको वनजङ्गलमा अहिले चिराइतो, जटामासी, पाँचऔले, यार्सागुम्बा लगायतका जडिबुटीको संरक्षण गर्न थालिएको र तल्लो क्षेत्रमा नगदेबाली अलैंची खेतीको विस्तार हुन थालेपछि चरन क्षेत्रको अभाव खड्किँदै गएको हो ।

पछिल्लो समय बहुमूल्य जडिबुटी तथा नगदेबालीको संरक्षण र खेती बिस्तारका कारण चरनक्षेत्र साँगुरिँदै गएपछि जिल्लाको केही हिमाली गाउँहरुमा त्यहाँका बासिन्दाको पुख्र्यौली पेशाकैरुमा रहेको भेडापालन व्यवसाय संकटमा पर्दै गएको बताइएको छ । चरन क्षेत्र नहुने हो भने पुख्र्यौली पेशाको रुपमा रहेको भेडापालन व्यवसायको भविश्य नरहने स्थानिय ग्यान्जे शेर्पाले बताए ।

भेडापालन व्यवसायसमेत अँगाल्दै आएका शेर्पाले चरनको अभाव कायमै रहेमा अब आउने पुस्तालाई भेडापालन पेशा कथा जस्तो मात्र हुने बताए । उनका अनुसार पापुङका धेरै किसानले भेडापालन व्यवसाय छोड्दै गएका छन् ।

हाल पापुङ किलिङ क्षेत्रमा स्थानीय ग्याबु शेर्पाको करिब दुई सय वटा भेडा, मिङ्मा ग्याबु शेर्पाको एक सय ५०, लाक्पा तेन्जी शेर्पाको ९० वटा र ग्यान्जे शेर्पाको एक ५० वटा जति भेडाका साथ व्यवसाय अँगाल्दै आएका छन् ।

चरिचरनको अभावसँगै उनीहरुले यतिबेला भेडीगोठ पापुङ १ मा पर्ने तोक्पेगोला राष्ट्रिय वनमा सारेका छन् । यसअघि जेठको आन्तिम सातातिर भेडीगोठ तोक्पेगोला क्षेत्रमा सारेका र हिउँद मौसमसँगै चिसो बढ्दै गएपछि असोज दोस्रो साता सम्ममा भेडीगोठ तल्लो क्षेत्र वा गाउँ फर्काउने गर्दछन् ।

किसानहरुका अनुसार भेडीगोठ जङ्गलमा भएका बेला सय वटामध्ये १० देखि १५ वटासम्म बाघ, भालु, चितुवा लगायतका जङ्गली जनावरले खाइदिने गर्दछ । एकातिर चरनको अभाव, अर्कातिर जङ्गली जनावरले भेडा खाइदिने हुँदा आफुहरु झनै मारमा पर्ने गरेको किसानहरुको दुःखेसो छ ।

यस्तै कालीखोलाका किसानहरुले पनि चरनको अभावका कारण भेडापालन व्यवसाय छोड्दै गएका छन् । कालीखोलाका स्थानीय याम बानियाका अनुसार त्यहाँका अधिकांशले भेडापालन छाडेर विकल्पमा चिराइतो खेती लगाउन थालेका छन् । यसरी नै सुरुम्खिम, खेबाङ, याम्फुदिन लगायतका भेडापालन किसानले पनि यो पेशालाई त्याग्दै गएका छन् । चरन क्षेत्रमा हाल अलैंची, चिराइतो लगायतका नगदेबाली र जडिबुटी खेतीले ढाक्दै गएपछि चरन क्षेत्रको अभावमा भेडापालकले व्यवसाय छोड्नुपर्ने बाध्यता भएको खेबाङ १ का किसान अग्नि बस्नेतले बताए । हाल गाउँका भेडापालक किसानहरुले वैकल्पिक पेशा अँगाल्दै आएका बस्नेतको भनाइ छ ।

भेडापालकहरुले भेडाको पाठापाठी प्रतिगोटा पाँच हजार देखि सात हजार रुपियाँ सम्ममा विक्री गरेर साथै ऊन विक्री गरेर उनीहरुले वार्षिक तीन लाख देखि तीन लाख ५० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका थिए ।

यसबाट आम्दानी भएको पैसाले घरपरिवार धान्न र अन्य व्यवहार चलाउनमा समेत सहयोग पुग्ने गरेको किसानहरु बताउँछन् । अब भने नयाँ बिकल्प नरोजे भेडा पालनजस्तो पुख्र्यौली पेशाले जीवन धान्न नसकिने भएको पापुङ ८ का ग्यान्जे शेर्पाले बताए ।