नेपाल सरकार बोलिदेउ
भारत सरकार बाटो देउ
भूटान सरकार माटो देउ....
म यी संवाद लेखिरहँदा उनीहरुको आँखाभरी देश देख्छु । मुटुभरी आफ्नो माटोको सुगन्ध धड्किरहेको पाउँछु । अनि उनीहरुको सपनाभरी उनै आमा मात्र देखिरहेको विलौना भेट्टाउछु ।
शासकले आफुबाट टाढा बनाएको आफ्नो देश खोज्नुको विडम्वनापूर्ण नियतीमा छन् उनीहरु । यही नियतिलाई चलचित्रमा उतारेर मेरा साहित्य र कलाका सहकर्मी प्रकाश आङ्देम्वेले अझ देश खोज्ने मोह जगाएका छन् । देशको ममता अग्ल्याउन मद्धत गरेका छन् । उनै भूटानी शरणार्थी र प्रकाश मेरो जीवनसंघर्ष र सिकाइका सहयात्री हुन् । मेरो पत्रकारिता, कलाकारिता र साहित्यका उर्जा हुन् ।
भूटानी शरणार्थीहरुको खोसिएको देश खोज्ने संवेदनाभित्र साथी उपेन्द्र सुब्बाको कथा, पटकथामा प्रकाशको निर्देशन र नेपाली भाषी भारतीय साम्तेन भुटियाको निर्देशन सहयोगमा बन्यो चलचित्र ‘देश खोज्दै जाँदा’ । यो चलचित्र देश विदेशमा यसवेला चासोको चलचित्र बनेको छ । तेस्रो देश पुर्याइएका भूटानी र नेपालीभाषीमाझ अमेरिकन र युरोपियन देशमा यो प्रदर्शन भइरहेको छ । आर्ट मुभीका फेस्टिभलमा पुरस्कृत समेत बन्दै आएको छ । नेपालमा भनें हलमा खुला हिसावले भदौ ८ देखि प्रदर्शनको क्रममा रहेको छ ।
कारबारी काकाले भूटानबाट पोको पारेर माटो ल्याएका छन् । त्यो माटो दैनिक टिका लगाएर स्वदेश फर्किने व्यग्र चाहना हुन्छ उनको । लामो कष्टका साथ लामो समयको वसाईपछि पनि स्वदेश फर्किने वातावरण बन्दैन । १५ औं चरणका नेपाल भूटानबीचका वार्ताहरु असफतामा परिणत भइरहन्छन् । शरणार्थी नेताहरुले पनि अपेक्षाकृत नेतृत्व र स्वदेशफिर्ती आन्दोलनको अगुवाई गर्न सक्दैनन् । यो समस्या अन्तरराष्ट्यिकरण पनि हुन नसक्दा अन्तरराष्ट्यि दवाव सिर्जना गर्ने वातावरण बन्दैन । तथापि सर्वसाधारण शरणार्थी आफ्नो प्राणभन्दा प्यारो देश फर्किनका लागि संगठित भएर नेपाल र भारतको सीमास्थल मेचीपुलमा पुग्छन् । तर पहिले भारत पक्षका सुरक्षाकर्मीले नै नेपालतिर पठाइदिएका शरणार्थीलाई आफ्नो घर जान खोज्दा उनै सुरक्षाकर्मीले रोक्छन् । लाठी चार्ज, अश्रुग्यास प्रहार मात्र होइन गोली नै प्रहार गर्छन् र २ जना शरणार्थीको ज्यान समेत जान्छ । नेपाल सरकार बोल्दैन । भारत सरकारले बाटो खोल्दैन । अनि भूटान सरकार माटो दिँदैन । यस्तो परिस्थितीमा स्वदेश फिर्तीको पहिलो प्राथमिकतालाई एक्कासी लत्याएर तेस्रो मुलुक पुनर्वासको वैकल्पिक विकल्प लाद्दै अमेरिका, युरोप, बेलायत, अष्ट्लिया सहितका ८ मुलुकमा पूनर्वासको प्रक्रियाको ढोका खुल्न पुग्छ ।
नेपालमा भएका विभिन्न खाले आन्दोलनको असर शिविरमा पर्छ । शिविरवासी हत्या हिंसा सहितका अशान्तिको शिकार बन्छन् । देश खोसिएको पीडामा त्रासै त्रासमा बाँच्नु पर्ने परिस्थिती थपिन्छ । यावत परिस्थितीमाझ आफ्नो देश फर्किन र शिविरमा समेत शान्तिको स्वास फेर्न नपाएको अवस्थामा तेस्रो मुलुक पुनर्वासमा कारबारी काकी सहमत बन्छिन् । कारबारी काकाको स्वदेश फर्किने दृढ संकल्प विफल बन्छ । अन्ततः आफ्ना सन्ततीलाई आफ्नो देश फर्काउन नसकेकोमा आफ्नी छोरीसँग माफी माग्दै कारबारी काका रुदैँ तेस्रो मुलुक पुनर्वास हुन वाध्य बन्छन् । देश खोज्दै जाँदा कुनै पनि संस्कार, सँस्कृति, जीवनयापन नमिल्ने विरानो मुलुकमा भासिनु परेको परिस्थितीलाई चलचित्रले प्रभावकारी रुपमा प्रस्तुत गरेको छ । चलचित्रले तेस्रो मुलुकमा पुगेर पनि आफ्नो देश खोजिरहने कुरा तर्फ युवा पुस्तालाई सचेत गराएको अर्थमा पनि लिन सकिन्छ ।
शरणार्थीको सृजनशिलताका लागि मार्गदर्शक प्रकाशले भनेका छन् ‘ उनीहरुको अवस्थामाझ मेरो संवेदना सल्बलायो र यो चलचित्र निर्माण गर्ने काम भयो । आखिर भूगोल मात्रै पनि राष्ट्यिता होइन, आफ्नो भाषा, सँस्कृति अझ बढी राष्ट्यिताका पहिचान हुन् भन्ने लाग्यो । विरानो देशमा पनि आफ्नो देशको मर्म बचाएर सँधै देश खोजिरहने छन् भन्ने लाग्छ मलाई ।’
आफ्नो देश खोज्दै जाँदा उनीहरु तेस्रो मुलुक पुर्याइए । हुन त नेपालमा पनि देश भएर शरणार्थी सरह बाँचेका दुर्गम वस्तीहरु प्रसस्त छन् । देश खोसिएकाहरुमाथि संवेदना प्रकट गर्नेहरु समेत शरणार्थी झैं ठहरिन्छन् यहाँ । तरपनि भूकम्पपछि बाढी पहिरोले धेरैलाई शरणार्थी बनाएको यो देशमा ‘शरणार्थी’को संवेदनशिलता बढ्दो छ । आलिसान जिन्दगी भोग्नेहरु समेत कतिखेर शरणार्थी बन्ने हुन् यकिन छैन । यसकारण जतिसुकै परिस्थितीले शरणार्थी भएपनि आफ्नोपन, आफ्नो मन, इमान नभुल्नका लागि मेरो पनि आग्रह छ ।
अहिलेसम्म भूटानी शरणार्थीका विषयमा बनेका झण्डै १ दर्जन चलचित्र मध्ये ‘देश खोज्दै जाँदा’ले मानवीय संवेदनालाई बढी चरितार्थ पारेको छ । उनै शरणार्थीहरुले स्वतः रुपमा यसको निर्माणमा सघाएका छन् । हेमन्त बुढाथोकी, बाबु बोगटी, अरुणा कार्कीहरुको अभिनयले शरणार्थीका कथा व्यथा जीवन्त पारेको छ । २६ वर्षदेखि नेपालमा बसेका १ लाख बढी उनीहरु तेस्रो मुलुक गइसके । अव शिविरमा साढे ९ हजारको संख्या मात्र छ । उनीहरुलाई यहीँ विलय गर्ने रणनीतिक योजना छ । शिविरमा बसेर भूटानी भनेर छुट्टै रुपमा जोगाइराखेको पहिचान पनि मेटिँदो छ । देश खोज्दै जाँदा कोही तेस्रो मुलुक त कोही पुर्खाको मुलुकमा विलय बनेको परिस्थिती छ ।
चलचित्रको फ्रेमलाई फरक हिसावले प्रस्तुत गर्ने प्रयत्न भएको छ । कथालाई ठेट र प्रभावकारी बनाउने उस्तै प्रयत्न छ । व्यवसायिक भन्दा पनि आर्ट मूभिका हिसावले यो मानवीय संवेदनाको पक्षमा बलियो छ । तर थाहा छैन, भूटानी शरणार्थी सहित देश खोज्ने शरणार्थीहरुले आफ्नो देश पाउँन सक्लान ? पाउन सकेनन् नै भनेपनि देश भनेको भूगोल मात्रै होइन रहेछ भनेर आफ्नोपन, आफ्नो पहिचान सहित भाषा, सँस्कृतिमा भएपनि देश बचाइरहुन्, देश भेटिरहुन् शुभकामना ।