म छु, म ‘म’ हुँ ‘म’ सदा रहिरहन्छु, तपाईंलाई लाग्न सक्छ, म कतै विचलित भएँ कि ! चिन्ता तपाईं नगर्नुुस् मेरो म अलमलमा कुनै क्षण परे पनि मभित्रको ‘म’ जीवित छ ढाँट्नु छैन यहाँ मैले निर्ढुक्क भइ भन्न सक्छु, कोही मेनका बनेर आए कोही उर्वशी पनि बने म कहिल्यै विश्वामित्र बनिनँ बनेँ त केवल अर्जुन बनेँ कैयौँ रुपमतीदेखि मोहित भएर कहिल्यै रामायणको रावण बनिनँ, त्यसर्थ मभित्रको ‘म’ जीवित छ तपाईंलाई थाहा छँदै छ नि ! उसले पनि मलाईं कत्ति पछ्याउँथी र यो पनि तपाईंलाई थाहा छ, म पनि बारम्बार उसलाई पछ्याउँथे जब हामी बारबार नजिक हुन्थ्यौँ मभित्रको ‘म’ दूर हुन्थ्यो त म मात्र केही क्षण उसको समीप अनि त मभित्रको ‘म’ जीवित छ उसको नजिक हुनु मेरो बाध्यता थियो म अझै उसँग नजिक हुन्छु ‘म’ लाई टाढा राखेर उसलाई अलिकति छुन्छु जब उसको स्पर्श बोध हुन्छ तब ममा मभित्रको ‘म’ बोध हुन्छ ऊ हेरिरहन्छे, म फेरि दूर हुन्छु त्यसैले त मभित्रको ‘म’ जीवित छ मलाईं आफ्नो बनाउन उसले कहिले मलाईं हातमा लिइ त कहिले मेरै मान्छेहरुलाई लिई उनीहरुले पनि मलाईं भन्ने गर्थे, “उसले तँलाईं ‘कत्ति’ प्रेम गर्छे” होला, सायद उसले प्रेम गरेरै होला, म आज सबैको प्रेमी भएको उसले ममा भौतिक परिवर्तन त ल्याई तर ‘म’ लाई बदल्न कदापि सकिनँ आज अरुले पनि मलाई भन्छन्, “तँ कहिल्यै नबदलिएको मान्छे !” होइन, म पनि बदलिन चाहन्छु, तर मभित्रको ‘म’ सदा अध्यात्म हो, ‘म’ लाई म बदल्न सक्दिनँ, यसैले मभित्रको ‘म’ जीवित छ म आफ्नै शकुन्तलालाई चिन्न नसक्ने महानायक दुश्यन्त कदापि हैन यसर्थ पनि म उनीसँग प्रेम गर्छु उनी मेरी आमा हुन् ।।।।।।।।। ! उनको सर्वस्व यो धर्ती हो धर्ती मेरो पनि देश हो, त्यसैले म आमा, धर्ती र देशलाई प्रेम गर्छु तपार्ईंले अब त बुझ्नुभो होला आमा र देश मभित्रका ‘म’ हुन्, म सधैँ ‘म’ लाई प्रेम गर्छु म छु, म ‘म’ हुँ त्यसैले मभित्रको ‘म’ अझै जीवित छ ।