पारिवारिक वातारण नै गीत संगीतमय छ । बुबा नेत्र र आमा तारा गीतसंगीतका पारखी । नेत्र त राम्रा गायक नै । त्यसखाले वातावरणले छोरा शिषिरसोभन र छोरी श्रेयासुधा गीत संगीतमा मन खोलेर लागेका छन् । परिवारका चारैजना गीतसंगीतका पारखी बनेर आफ्ना दुःखसुस साटासाट गर्छन् र त्यसैमा रमाउँछन् । यसखाले वातावरण उत्तरपूर्वी मोरङको पथरीशनिश्चरे १ स्थित दवाडी परिवारको हो । श्रेया १६ वर्ष पुगिन् । उनी त ६ वर्षको उमेरदेखि नै गायनका प्रतियोगितामा पुरस्कृत हुन थालेकी प्रतिभा हुन् । स्थानीय आरती सहकारीले आयोजना गरेको वालप्रतिभाहरुको प्रतियोगितामा श्रेयाले दुर्गालाल श्रेष्ठको शव्दमा आनीछोइङ डोल्माले गाएको ‘फूलको आँखामा फूलै संसार’ गाएर पहिलो पटक पहिलो बनेर पुरस्कार हात पार्दा खुसीको सीमा नै रहेन । ‘बाबा विदेशमै रहेपनि गाउन प्रोत्साहित गर्नुभयो र ममीले पनि उसैगरिरहनु भएको अवस्थामा मैले पुरस्कार जितेपछि म ज्यादै उत्साहित भएर गाउन लागिरहें ।’– श्रेयाले अभिव्यक्तिमार्फत विगतको खुसी झल्काउँदै भनिन् ।  स्थानीय अन्नपूर्ण बोर्डिङबाट एसएलसी सकेकी श्रेया यसबेला पञ्चायतमाविमा विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत छिन् । अन्नपूर्णमै हुँदाको अवस्थामा प्लस नेपाल दमकले सञ्चालन गरेको इन्टरस्कुल सिंगिङ स्टारको जुनियरतर्फ प्रथम बनिन् । ०७२ मा विराटगरमा सञ्चालित एसवीएससी सिंगिङ स्टारमा ‘भ्वाइस अफ एसवीएससी’ टाइटल जितिन् । गायक अमीर राईले आफ्नो विवाहका अवसरमा ०७३ मा आयोजना गरेको ‘म्यारिज सिंगिङ स्टार’को उपाधि हात पारिन् । प्रोत्साहित हुँदै गएको उनको प्रतिभाले गीतसंगीतकर्मी बलराम समालहरुले ०७३ मा आयोजना गरेको ‘पूर्वाञ्चल सिंगिङ आइडल’मा तेस्रो भएर पूर्वाञ्चलको प्रतिष्पर्धामा आफुलाई चिनाइन् । १० वर्षको उमेरदेखि गीत गायन सिक्दै आएकी उनी दार्जिलिङका अनिल फागोसँग प्लस नेपाल म्यूजिकमा यसबेला शास्त्रीय संगीतको स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत छिन् । दवाडी परिवारमा अहिले उनी गीतसंगीतको चर्चामा अगाडि छिन् । प्लस नेपालले निकालेको ‘पहिलो पाइला’ नामक संकलित एल्बममा लीला पौडेलको शव्दको ‘जूनमामा’ बोलको बालगीतमा सुमधुर स्वर दिइकी छन् । ‘अव चाँही मेरो एउटा एकल एल्बम निकाल्ने कुरा बाबा ममीले पनि गरिरहनु भएको छ । ’– आँखा र ओठभरी खुसी प्रकट गर्दै उनले थपिन् ‘ मेरो सवैभन्दा पृय चिज गीतसंगीत हो र यसलाई व्यवसायिक रुपमै अघि बढाएर लाने मेरो इच्छा हो । त्यसैका लागि म समर्पित छु ।’ गीतसंगीतसँगै उनी भलिवल, टेवल टेनिसको राम्रो खेलाडी पनि हुन् । फोटोग्राफीको कला समेत छ उनमा । उनको पारिवारिक वातारणले उनलाई थप उर्जाशिल बनाएको छ । जाँतेमा हुँदा जनवादी गीतसंगीतका क्षेत्रमा उनका बुबा नेत्र मरिहत्ते गरेर गाउँदै गाउँवस्ती पुग्थे । सारंगी बजाएर मार्मिक गीत गाएर सवैलाई आँशु आँशु समेत पार्ने कला निरन्तर छ । तर गाइने जस्तो भएर के नै हुन्छ र भन्ने समाजको दृष्टिकोणको सामु संघर्ष गरेर प्रख्यात गायक बन्ने उनको सपना पुरा गर्न उनी निरन्तर गतिशिल बन्न सकेनन् । ‘आफ्नो गीत संगीतमा केही गर्ने भन्ने अधुरो सपना छोराछोरीले पुरा गर्लान् भन्ने विश्वास छ र मैले उनीहरुलाई त्यो वातावरण दिएको छु ।’– उनले गीतसंगीतको मोह र आफ्नो जीवन जिउने संघर्षका कथा बेलिविस्तार लगाउने क्रममा भने । लामै समय कतार र मलेशिया बसेका उनले त्यहाँको कथा व्यथालाई जोडेर आफ्ना सहकर्मी देवि घिमिरेको शव्दमा २ वटा गीत रेकर्ड गराएको उनको इतिहास छ । जीवन संघर्षको मोडमा स्कुले जीवनमै फोटोग्राफीमा रुची राखेका उनले आर्थिकरुपमा परिवारको रथ गुडाउने काम विगत ६ वर्षदेखि बेथेल फोटो स्टुडियोमार्फत गरिरहेका छन् । परिवारका चारैजना फोटोग्राफीमा जानकार छन् । चर्चहरुमा पुगेर दुःख भुल्न प्रार्थना गर्दछन् र घरमा आएर संगीतको तरंगले उर्जाशिल बनेर दैनिकी सञ्चालन गर्दछन् । विशेषतः नेत्र विदेश हुँदा छोरी श्रेया र छोरा शिषिरलाई गीतसँगीतलाई प्रोत्साहित गर्ने काम उनकी आमा ताराले गरिन् । पञ्चायत माविमा विज्ञानमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय शिषिर पनि पछिल्लो समयमा गाउनमा तल्लिन छन् । संगीत सिक्ने कुरामा ध्यानमग्न छन् । तारा पनि सानैदेखि गाउन, नाच्न मन पराउने सृजनशिल मनकी थिइन् । यसबेला कविता, गीत लेख्ने तारा सृजनशिल परिवार भएकोमा मख्ख छिन् । ‘हामी हाम्रा दुःखसुस यिनै सृजनासँग साट्छौं । अनि पीडा भूलेर रमाउँछौं । जीवन आनन्दित लाग्छ ।’– समाज परिवर्तनका लागि राजनीतिक क्षेत्रमा समेत लागेकी उनले मुसुक्क हाँस्दै भनिन् ।