बिहान उठेर घरधन्दा सक्नासाथ घर नजिकैको मन्दिरमा गएर पूजा गर्नु प्रीतिको दिनाचार्य बनेको छ । पूजा गरेर केही पाउनु वा गुमाउनुभन्दा पनि उनले आफ्नो मन शान्त भएको महसुस गछिन् । त्यसैले खुला मनले दिनहुुँ पूजा गर्छे । प्रीतिको ४ वर्षे छोरो छ । जब प्रीति पूजा गर्न मन्दिर छिर्छे तब छोरोले अचम्म मान्दै आमालाई लुकीलुकी चिहाइरहन्छ । उसले के बुझेको छ वा छैन, त्यो आफ्नो ठाउँमा छ तर एक दिन होइन, दुई दिन होइन, ऊ दुई खुट्टाले टेकेर हिँड्न सक्ने भएदेखि नै चिहाइरहेको छ । प्रीतिले पूजा सकेर घर आउनासाथ छोरोलाई टीका लगाएर आशीर्वाद दिन्छे । एक दिन प्रीति मन्दिरमा पूजा गर्दैगर्दा छोरो दौडेर आमा भएको ठाउँमै जान्छ र एकाएक प्रश्न गर्छ । आमा के गर्नुभएको ? पूजा गरेको बाबु ! आमाले जवाफ दिन्छे । आमाले जवाफ सक्न नपाउँदै छोराले फेरि प्रश्न गर्छ । आमा ! यो पूजा गर्यौ भने के हुन्छ ? भगवानले रक्षा गर्छन् बाबु । उसो भए भगवानले हाम्रो बाबाको रक्षा किन गरेनन् त रु बाबाले पूजा गर्नु हुँदैनथ्यो हो ? छोराको यो प्रश्नले प्रीतिलाई मुटुसम्मै चसक्क बिझाउँछ । उसको श्वास नै रोकिएला जस्तो हुन्छ । प्रीतिले आफूलाई सम्हाल्ने कोसिस गर्छे तर आँखाले सम्हालिन मान्दैनन् र पोखिदिन्छ दुई थोपा आँसु । छोराले निन्याउँरो मुख बनाएर आमालाई हेरिरहन्छ । प्रीतिले हतपत छोरालाई काखमा लिन्छे । छोरो बुझ्ने हुन थालिसक्यो । अलि सानो छँदा बाबा खै भन्दा भोलिपर्सि आउँछन् भनेर फकाउँथी तर अचेल पत्याउँदैन । उसले दिनभर हरेक बहानामा आफ्नो मन भुलाउन खोज्छे तर सबै प्रयासहरु विफल हुन्छन् । छोराको एक प्रश्नले उसको मनमा सयौँ पीडाहरु बल्झाइदिएको छ । प्रीतिले जे कुरा जिन्दगीभर सम्झन चाहँदिन त्यही कुराले बारम्बार झस्काइरहेको छ । प्रीतिको मनलाई बारम्बार बिथोलिरहेको छ । अतितहरु बल्झाइदिएको छ ।
×××
कुनै बेला अमर र प्रीतिको प्रेम पनि अरु कसैको भन्दा कम थिएन । उनीहरुको दुई वर्षको प्रेमसम्बन्ध पश्चात विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुसँग प्रशस्त धन सम्पत्ति थिएन तर साँझ बिहान छाक टार्न मुस्किल थिएन । उनीहरु दिनभर खेतबारीमा काम गर्थे र जिविका चलाउँथे । गाउँलेको हरेक दुःखमा पनि अमरले खुलेर सहयोग गथ्र्यो । गाउँलेले पनि अमरलाई असल मान्छेको रुपमा हेर्थे । गाउँमा मर्दा–पर्दा, भोज भतेरमा त झन् अमरले रात दिन खटेर काम गरिदिन्थ्यो र त सबैले अमरलाई हाईहाई गर्थे । गाउँकै धन्सारे माइलाको छोरी रिताको बिहेमा हो, अमर र प्रीतिको देखादेख भएको । प्रीति ठूलोबुबाको छोराको बिहेमा जन्ति आएकी थिई भने अमर रिताको बिहेमा सघाउन गएको थियो । हँसिलो फुर्तिलो अमरलाई देख्नासाथ प्रीतिले अमरलाई मन पराएकी थिई । पछि दुवैले एक अर्कालाई मन पराए । सँगै जीवन जिउने निर्णय गरे । अन्ततः बिहे नै गरे । देश द्वन्द्वकालको चपेटामा थियो । हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो । रेडियोले सयौँ जना मान्छे मरेको, हत्या गरिएको, रात्रिबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो । अमरले सोच्थ्यो, आखिर जो मरे पनि त हाम्रै नेपाली दाजुभाइ मरिरहेछन् । आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन् । समस्या हामीमा होइन । माथिल्लो तहका नेतामा छ । उसलाई बिरक्त लागेर आउँथ्यो । उसले सुइक्क श्वास तान्दै चिया सुरुप्प पाथ्र्यो । एक दिन पानि बेस्सरी परीरहेको थियो, मध्यरातमा अज्ञात समूह अमरको घरमा छिर्यो र अमर र प्रीतिलाई आफूहरुसँग हिँड्न धम्की दियो । उनीहरु मानेनन् । उनीहरुले जबरजस्ति लैजान खोजे । त्यति नै बेला, प्रीति गर्भवती रहेको थाहा पाएपछि प्रीतिलाई छोडेर अमरलाई मात्र लैजान खोजे । प्रीतिले धेरै अनुनय बिनय गरी, रोई कराई तर उसको चित्कार सुनिदिने कोही भएन । अन्ततः प्रीतिलाई मध्यरातमा एक्लै छोडेर अमरलाई अज्ञात समूहले लगे । उसले हारगुहार गरोस् पनि कसलाई रु नजिक अरु कसैको घर थिएन । टाढा एक्लै जान मध्यरातमा हिम्मत आएन । प्रीति त्यो दिन राति रोएर, छटपटाएरै बिताई । उज्यालो हुँदा उसका आँखाहरु देख्दै रगत चुहिएला जस्तै रातो देखिन्थ्यो । उसले रातिको सबै घटनाहरु गाउँका काजीबालाई सुनाई । उतिबेलै गाउँभरी हल्ला चलिहाल्यो । कसैले भने अमरलाई माओवादीले लगे त कसैले भने सेनाले लग्यो तर निचोडमा कोही पनि पुग्न सकेनन् । आखिर जसले लगे पनि प्रीतिको काखबाट अमर खोसिएको थियो । प्रीतिको खुशी पनि अमरसँगै अपहरण गरिएको थियो । चखेवाको जोडी खोसिएजस्तै एक्ली भएकी थिई । प्रीतिले अमर आउने बाटोतिरै नजर बिछ्याएर दिनभर कुरिरही । उसका मनले अनेक अड्कलबाजी गरे । उसले अचानक सोची, अमर फर्की आएन भने रु उसको ज्यानमा चिटचिट पसिना आयो । हात खुट्टाहरु लगलग काप्न थाले । केही बेरमै ऊ अचेत भई । ऊ होस्मा आउँदा झमक्क साँझ परिसकेको थियो । सधैँ कानै खानेगरी चिच्याउने झ्याउँकिरीहरु पनि बास बसिसकेका थिए । घरको मूलढोकाकै आडमा गुँड बनाएका गौँथलीहरु पनि चहारा बोकेर गुँडमा फर्किसकेर बच्चालाई चहारा खुवाउँदै थिए । तर प्रीति त एक्ली भएकी थिई, नितान्त एक्ली । ऊ कहिले जाउलो पकाएर खान्थी कहिले भोकै सुतिदिन्थी । उसलाई भोक र तिर्खाको मतलब हुनसमेत छाडिसकेको थियो । उसका दुई आँखाहरु केवल रुन मात्र जानेका थिए । सोच्थी, सबैभन्दा राम्रो सम्बन्ध त यिनै आँखाहरुको रहेछ । एउटा आँखामा धुलो पर्दा दुवै आँखा रोइदिन्छन् । सँगै निदाउँछन, सँगै चिहाउँछन् । तर जिन्दगीभरक एकले अर्कोलाई देख्न पाउँदैनन्, भेट्न पाउँदैनन् । तर मान्छेमा यो नियम लागू नहुने रहेछ । मनमनै अड्कल लगाउँथी । अमर अपहरणमा परेको पनि हप्ता दिन हुन थालिसकेको तर केही अत्तोपत्तो थिएन । गाउँमा कसैलाई दुःख पर्दा अमर मरी मेटेर सहयोग गथ्र्यो तर आज प्रीतिलाई आपत पर्दा कोही गाँउलेहरु फर्केर आएनन् । बरु उसका माइतीहरुले थाहा पाएछन् र प्रीतिको घर आइपुगे । प्रीतिका मुखबाट कुनै पनि शब्द निस्किएन बरु उसले बगाएका आँसुले सबै वृत्तान्त बताइदिए । प्रीतिको अवस्था नाजुक त थियो नै । प्रीतिको पेटमा हुर्किदै गरेको बच्चाको ख्याल गर्नुपर्ने जिम्मेवारी माइतीमा थियो । प्रीतिको दुःख देख्न सकेनन् र माइती लिएर गए । महिना दिन बित्दा नबित्दै अर्को दुखद समाचार प्रीतिको कानमा बजारिन पुग्यो । “अपहरणकारीले अमरलाई मारीदिए रे १” उति नै बेला सिङ्गो आकाश खसेर प्रीतिको टाउकोमा बजारिए जस्तो भयो । सारा पृृथ्वी तीव्र गतिमा घुम्न थाल्यो । ऊ पुनः सम्हालिन असफल भई र फालिई चिसो मझेरीमा । उसले अमरलाई अन्तिम पल्टसमेत देख्न पाइन । उसलाई पटक्कै विश्वास लागेको थिएन । ऊ चाहन्थी, यी सबै खबर झुठा हुन्, उसको अमर फर्केर आओस् तर सबैले मृत्युको खबर स्विकारे । कहीँ कतैबाट हुण्डरीसँगै आएको अमरको मृत्युको खबरले प्रीतिको मनमा रहेको झिनो आशामा पनि डढेलो लाग्यो । उसको रंगिन जिवन एकाएक उजाडियो । उसका खुशिहरु एकाएक आँसु बनेर बगे । उसले देखेका स्वर्णिम जिन्दगीका सपनाहरुसँगै उसको शिरमा सजिएको सिन्दूर पखालियो । उसका रङ्गीन सपनासँगै उसले लगाएका लुगाहरु पनि सबै सेता भए । उसको हातमा भरिएका चुराहरु धेरै दिन टिक्न पाएनन् । प्रीतिले केही समय माइतैमा बिताई । उसको कोखबाट छोरो जन्मियो । उसले छोराको अनुहार नियाली । उसले त्यो अनुहारमा अमरलाई भेटी । ऊ प्रीतिका लागि जिउने सहारा भएर जन्मिएको थियो । ऊ प्रीतिको एक मुठी खुशी भएर जन्मिएको थियो । छोरो पाएपछि प्रीतिको ओंठमा पनि एक पटक खुशी देखियो । माइती पनि खुशी भए । तर प्रीति जन्मिएको ठाउँ, बाल्यकाल बिताएको ठाउँको समाज भने खुशी भएन बरु माइतीमा आएर छोरो जन्माएको आरोप लगायो । कतिले त अमरको बच्चा नै हैन समेत भन्न भ्याएँ । जसले जे भने पनि प्रीतिले ककसको मुख टालेर सक्थी र रु गावैँभरि अनावश्यक हल्ला चल्यो । गाउँमा हल्ला चल्दासम्म त सहेकै थिई तर त्यो हल्ला माइतीघरमै समेत सल्कियो । सुत्केरीको स्याहारसुसार गर्ने बेलामा भाउजुहरुले गाउँलेको कुरा सुनेर वास्ता समेत गर्न छाडे । प्रीतिलाई बाबा आमाको खुब नियास्रो लागेर आयो । आजसम्म मेरो बाबा आमा जिउँदो भैदिएको भए यस्तो पक्कै हुने थिएन । उसले मनमनै अनुमान लगाई तर गुनासो गर्नलाई कोही पनि उसँग थिएनन् । उसले भागेर विवाह गरेको, आफ्नो कुलको इज्जत फालेको भनेर पहिले पनि भाउजुहरुले प्रीतिकै अघि नै ब्यङ्ग्य गर्थे । अब त झनै हेप्न थाले । प्रीतिले सोँची, यसरी यहाँ हेपिएर बस्नुभन्दा जान्छु । आफ्नै झुप्रोमा गएर दुःख सुख जिउँछु । अन्तत एक दिन बिहानै भालेको डाकसँगै अरु कसैले थाहा नपाउने गरेर प्रीतिले आफ्नो छोरो च्यापेर माइतीघर छोडेर कर्मघरतिर हिँडी । ऊ घर आएको एक हप्तासम्म पनि आस लागेको थियो । मलाई माइतीबाट कोही खोज्न त आउलान् रु तर यो आशा आशामै सीमित रह्यो । कोही खोज्न आएनन् । घरमा छोरो सुताएर प्रीति आधी घण्टाको बाटो पानी लिन झर्थी । पानी थाप्ने मान्छेहरुले लाम लागेका हुन्थे । उसलाई पहिले पानी भर्न दिनु त परै जाओस उसको पालामा समेत पानी भर्न पाउँदिनथी । सबैले पानी भरेसम्म पर्खिएर बस्नुपथ्र्यो । अरुले यसरी हेप्दासमेत प्रीति निरिह भएर बस्नुपरेको थियो । प्रीतिलाई त्यो एक दिन अत्यधिक पीडा भयो । जुन दिन प्रीति चाहिँ पानी लिन झर्दै थिई । रिमालनी बुढी आमै खै कता जान निस्किँदै रहेछन् । प्रीतिसँग बाटोमै जम्काभेट भयो । प्रीतिलाई देख्नासाथ धारेहात लाइन् । बिचरी प्रीति केही बुझ्न सकिनँ । ती आमैले “साइत बिगार्दिई, असत्ती । लोग्ने टोक्वी ठ्याक्क यही बेलामा मुन्टिन पर्नी १ “भन्दै सराप्दै आफ्नो बाटो लागेपछि बल्ल कुरा बुझी । उसलाई मान्छे भएर जन्मेकोमा पहिलो पटक पछुतो लाग्यो । प्रीतिको मनले नानाथरी सोच्न पुगी । आत्महत्या गर्छु भन्ने पनि सोचेकी थिई । कताबाट झल्याँस्स छोरोलाई सम्झी । दौडेर गई र रोइरहेको छोरोलाई काखमा लिएर दूध चुसाई । कसैको सहयोगबिना नै ऊ हरेर समस्यासँग जुध्न, समाधान गर्न, ऊ सङ्घर्ष गरेर जिउन तयार भई । उसलाई थाहा भयो आफन्तहरु त सुख र खुशीमा मात्र हुन्छन् । दुःख त आफू एक्लैले भोग्नुपर्छ । उसलाई थाहा भयो जीवन सङ्घर्ष हो । सङ्घर्ष गरेर जिउन सक्नुपर्छ । लामो समयपछि उसले एक दिन सुनी । देशमा शान्ति वार्ता भयो रे । माओवादीले जङ्गल छाडे रे । अब देशमा शान्ति हुने भयो रे । फेरि केही महिना बित्दा नबित्दै सुनी । देशमा ठूलो आन्दोलन भयो रे । गणतन्त्र आयो रे । अहँ, प्रीति एक रति पनि खुशी भइन । आखिर जे तन्त्र आए पनि हुने खानेलाई आउने हो । हामी जस्ता दुःखीलाई कसैले केही सहयोग गर्दैन । उसले ओठ पसार्दै भित्र छिरी । प्रीतिले पल्लो गाउँको महिला सहकारिबाट ३०,००० ऋण लिएर कुखुरा पाल्न सुरु गरेको पनि तीन वर्ष पुगेछ । अहिले प्रीतिका घरभरी कुखुरा छन् १ थोरै धेरै आम्दानी प्रत्येक महिना गर्छे । छोरो पनि चार वर्ष पुग्न थाल्यो । अर्कोतिर वर्षदेखि त छोरोलाई पनि स्कुल पठाउनुपर्छ । उसले जति दुःख गरेर पनि छोरोलाई धेरै पढाउने दृढ सङ्कल्प गरेकी थिई ।
××× उसलाई थाहा छ, घाम सधँै पूर्वबाट उदाउँछन् र पश्चिमबाट अस्ताउँछन् । जुन पनि त्यसै गर्छन् । जुन त झन् औंसीमा त देखै पर्दैनन् । सारा संसार नै अन्धकार हुँदासमेत वास्ता गर्दैनन् । यी जून पनि उनका आफन्त जस्तै स्वार्थी छन् । ऊ एक्लै भुटभुटाउँदै थिई । त्यो दिन अचम्मै भयो । साँझ पर्नै लागेको थियो । औंसीपक्षमा पनि जून त पश्चिमबाट पो उदाए अर्थात उसको दैलोमा कोही लोग्नेमान्छे टुप्लुक्क पाइपुग्यो । उसले नजिकै गएर घोरिएर हेरी । उ अरु कोही नभएर अमर रहेछ । उसलाई सपना जस्तो लाग्यो । आँफैलाई चिमोटी । आथ्थो १ दुख्यो । यो सपना होइन यो त बिपना नै हो । ऊ पक्का भई । अमरले बोलायो । “प्रीति” । प्रीतिको खुशीको सीमा नै रहेन । प्रीतिको साक्षात भगवान नै प्रीतिको अघि आइपुगे । उसले जे सोचेकै थिइन त्यही भयो । दुवै जना धेरै बेरसम्म अँगालो मारेर रोए । सायद, नौलो मान्छे देखेर होला । छोरो भने नजिक जानै मानेन । केही समयपछि अमरले फकाएर काखमा लियो । साँझ खाना खाइसकेपछि अमरले आफू बाँचेर आउन सफल भएको कुराको बेलिबिस्तार लायो । “घरबाट अपहरण गरेर लगेपछि तीन दिनसम्म जङ्गलै जङ्गल लगिएछ । अनाकण्टार जङ्गलमा पुगेपछि थाहा बल्ल आफूलाई अपहरण गर्नुको कारण थाहा पाएछ । गाउँका कसैले सुराकी गरेको आरोप लगाइदिएछन् र अपहरण गरिएछ । उसले आफूले त्यस्तो नगरेको र आफूलाई छोडिदिन पटक पटक बिन्ती गर्दा पनि छोडिदिएनछन् । एक दिन पिसाब गर्न जाने बहानामा अमर भागेछ । त्यो थाहा पाउनासाथ एक हुलले अमरलाई घेर्दै लगेछन् । अमर ठूलो खोलामा फाल हानेछ । धेरै समय नदेखिएपछि अपहरणकारीहरु ऊ मर्यो भन्ने सोचेर फर्किएछन् र अमरको घरतिर मरेको खबर पठाइदिएछन् । अमर भनेपछि जङ्गलकै बाटो हुँदै केही महिनामा पूजारीको भेष बदलेर बोर्डर पार गरी भारतको हैदरावादस्थित एक मन्दिरको शरणमा पुगेछ । अमर उतिबेलै घर फर्किएको थाहा पाएको भए तिनै अज्ञात समूहले मार्ने रहेछन् । भारतमा हुँदासम्म पनि कुनै नेपालीसँग देखभेट नभएर बस्नुपर्ने बाध्यता रहेछ । पछि देशमा सङ्कटकाल हटेर वार्ता भइसकेको र देशमा गणतन्त्र आएको थाहा पाएपछि अमर आफ्नो जन्मभूमि फर्किआएको रहेछ । हो, खाएको विषले त लाग्छ नै । यो ध्रुवसत्य हो । तर कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ । मान्छेलाई जीवन र मृत्युको दोसाँधमा पुर्याउँदो रहेछ । अमरले मृत्युलाई नजिकैबाट नियालेर घर फर्किएको छ । जे जस्ता आरोह अवरोह आइलागे पनि अमर र प्रीतिको प्रेम अमर रह्यो । र मैले लेखेको “अमर र प्रीति” को कथा पनि सकिएको छ ।
××× भोलि पल्ट सबेरै छोरो उठ्छ र दिनहुुँ आमाले लगेर पूजा गर्ने पूजाको थाली लिएर घर नजिकैको मन्दिरमा गएर पूजा गर्छ । भन्छ । “भगवान १ मेरो बाबालाई रक्षा गर्नुभएछ ।मैले मेरो बाबा देख्न पाएँ “ उसले आमाले जस्तै मुर्तिलाई ढोग्छ, फुल चढाउँछ । यो सब घरबाट अमर र प्रीतिले हेरिरहेका हुन्छन् । छोरोले पूजा सकेर पूजा थाली लिएर बाबा आमा भएको ठाउँ आउँछ । अमरले हर्षका आँसु खसाउँदै छोरोलाई काखमा लिन्छ ।
(स्याङ्जा) हाल : दक्षिण कोरिया