यो बेला चुनावी माहोल उत्कर्षमा पुगेको छ । चुनावमा जित्ने मात्रको सोच दिमागमा राखेर नेता, उम्मेदवार र कार्यकर्ताहरु दोस्रो चरणको स्थानीय निर्वाचनको चुनावी प्रचार प्रसारको अन्तिम घडीमा छन् । धेरैले धेरै कुरा गर्ने भनेर ५ वर्षमा पुरा गर्नै नसकिने प्रतिवद्धता गरेर जसरी पनि मतदाताको मत तान्ने ध्यानमा छन् । जे जे कुरा पुरा गर्न सकिने हो त्यो त्यो कुरा मात्र गर्ने चलन बसेकै छैन । जसले जति बढी कुरा गर्छु भन्यो त्यो त्यति नै कर्मवीर हुने भन्ने भ्रम चिरिएकै छैन । नेपाल जेसीजले विधिको साशनको कुरा स्मरण गराउँदै भ्रमात्मक प्रतिवद्धता व्यक्त नगर्न र गर्न सकिने कुराको सामुहिक प्रतिवद्धताका लागि देशका ठाउँ ठाउँमा सवै उम्मेदवारसँग ‘ककस’ कार्यक्रम राखेको छ । यो सान्दर्भिकतालाई दलीय तथा स्वतन्त्र हैसियतका उम्मेदवारले कति आत्मसाथ गर्छन् त्यो जनताले खबरदारी गर्नु आवश्यक छ । बढी नै कुरा गरेर जनमत तान्ने तीव्र प्रतिष्पर्धाकाबीच सृजनशिल क्षेत्रका सर्जकहरु पनि उम्मेदवारको मैदानमा छन् । सृजनशिलतामा विश्वास गर्ने उनीहरु राजनीतिक पार्टीको ‘उम्मेदवार कार्यकर्ता’ भएपछिको उनीहरुको सृजनशिलताको मर्म धारिलै रहला कि भुत्ते होला भनेर सोचिरहेको छु । पूर्वका श्रष्ठाहरु विभिन्न पार्टीका उम्मेदवार बनेका छन् । साहित्यमा नाम कमाएका झापाकी लीला अनमोल राप्रापाबाट विर्तामोडको नगर उपप्रमुखको उम्मेदवार बनेकी छन् । मोरङकी तारा पराजुली पनि उसैगरी बेलबारी नगरको एमालेबाट उपप्रमुखको उम्मेदवार खडा भएकी छन् । यिनीहरु देशमै चिनिएका युवा साहित्यकार हुन् । अरु साहित्यकारहरु समेत उम्मेदवारको मैदानमा छन् नै । अनि सृजनाको अर्काे पाटो कलाकारिताका क्षेत्रका पनि उसैगरी उम्मेदवार बनेका छन् । पूर्वकै कुरामा केन्द्रीत हुँदा चलचित्र निर्देशक दुर्गा नेम्वाङ माओवादी केन्द्रबाट झापाको शिवसताक्षी नगरको वडा नम्बर १ को वडाध्यक्षका उम्मेदवार छन् । इलामको चुलाचुलीमा नाट्य गतिविधिमा सक्रिय चेतन आङ्थुपो संघीय लोकतान्त्रिक राष्ट्यि मञ्च र राष्ट्यि जनमुक्ति पार्टीको संयुक्त गठनबन्धनमा चुलाचुली ४ को वडाध्यक्षका उम्मेदवार हुन् । मोरङको पथरीशनिश्चरे ९ बाट राप्रपाको तर्फबाट नाटक र टेलिचलचित्रका क्षेत्रमा सक्रिय हरेन्द्र खत्री उसैगरी वडाध्यक्षकै उम्मेदवार दरिएका छन् । मैले चिने जाने बुझेका यी युवा साथीहरुको उम्मेदवारीले सृजनशिल क्षेत्रको समेत उत्थान हुने अपेक्षा गरिएको छ । यसमध्ये कतिजनाले जित्लान् र आफ्नो सृजनशिलता उस्तै ज्यूँदो राखेर त्यसको पक्षमा नीति तथा कार्यक्रम तयार गर्नेछन् भनेर हेर्न प्रतिक्षा गरिहेको अवस्था छ । सृजनशिल र बौद्धिकताको व्यवसाय गर्ने पत्रकारहरु समेत उसैगरी उम्मेदवार बनेका छन् । भाषा, साहित्य, कला, संस्कृतिको मर्मको पाटोमा गहन रुपले हेर्ने र चेतनाको विकासलाई जोड दिँदै समाज चेतनशिल, सृजनशिल र कर्मशिल बनाउने कुरा आजको टड्कारो आवश्यकता हो । मान्छेहरु पैसामुखी हुँदै समाजलाई त्यतै डोर्याउँदै तत्काल उपलब्धि हात पर्ने काममा मात्र लाग्ने चिन्तनले हस्तक्षेप गरिरहेको विडम्वनापूर्णस्थिती छ । यसखाले प्रवृत्तिमा भ्रष्टाचार, अत्याचार, अनियमितता, बेथिती मौलाउने गर्छ । अर्धसामन्ती चिन्तनबाट गुज्रिएको समाजमा हुर्किएका हामीबीच सृजनशिलताको महत्वले ठाउँ पाएको छैन । अग्रजले टीका लगाएर आशिर्वाद दिँदा ठूलो मान्छे हुनु, धेरै पैसा कमाउनु भन्ने कुराले हाम्रो बालशुलभ मस्तिष्कमा जसरी पनि धेरै पैसा कमाउने भन्ने सिकाई जान्छ । जीवनयापन गर्न पैसा आवश्यक परेपनि पैसा नै सवथोक हो भन्ने कुराले प्राथमिकता पाउँदा समाजमा मान्छेले मान्छेलाई उचाल्ने, पछार्ने, मिच्ने र ठूला ठूला अपराध गर्ने प्रबृत्ति हावी हुन्छ र यो समय त्यसैमा भ्रमात्मक छ । यसकारण, यो समाजलाई मात्र प्रेम, सद्भाव, सहयोग, इमानको समतामुलक समाजतर्फ उन्मुख बनाउन चेतनाको विकास अत्यन्तै आवश्यक छ । सृजनशिल काम गरेर समाजलाई सृजनशिलतातर्फ डोर्याउने शुत्र प्रत्येक जीवनका शुत्र बन्नु पर्छ । ठूलो मान्छे होइन, असल मान्छे बन्नु पर्छ भन्ने मुलमन्त्र समाजमा स्थापित गर्नुपर्छ । यो निर्वाचनमा सवै दल र सवै उम्मेदवारहरुका गहन योजना विहीन तात्कालिन उस्तै उस्तै खाले प्रतिवद्धता छन् । अवको यति वर्षमा समाज यस्तो बनाउने भन्ने शुक्ष्म अध्ययन गरी दृष्टिकोण बनाइएको देखिदैन । गुरुयोजना बनाइएको छैन । नगर र गाउँपालिका गुरुयोजनाविहीन हिसावले मात्र तात्कालिन अवस्थामा भोट तान्ने मुद्धा र बुँदाहरुमा प्रतिवद्धतापत्र केन्द्रीत छ । ठोस योजना सहित समाजको सुन्दर अनुहार निर्माणका लागि सर्जकहरुको सुन्दर सिर्जना जस्तै सुन्दर गुरुयोजना बनोस् । भौतिक विकास मात्र विकास बुझ्ने प्रबृत्तिमाझ चेतनाको विकास सवै विकास र मानवीयताको मेरुदण्ड हो भन्ने कुरालाई योजनावद्ध रुपमा अगाडि बढाइयोस् । सर्जक बाहेककासँग कुनै भिजन नै हुँदैन चाँही भन्न खोजेको होइन । सृजनशिल भिजन भएकाहरुको एकता होस् । अरुको लहै लहैमा लाग्नु भन्दा एक दुई जनाले नै भएपनि यी चिन्तनका विषयमा चिन्ता जाहेर गरेर योजना बनाउन सकियो भनें हाम्रो लोकतन्त्र, संघीयता, सिंहदवारको अधिकार गाउँ गाउँमा सार्थक रुपमा फूल्ने र फल्ने वातावरण हुन्छ । तपाइहरु यो समाजका लागि अनमोल बन्नुहोस् र समाजलाई अनमोल बनाउनुहोस् । चम्किलो तारा भएर उदाउनुहोस् । चेतनाकर्मका लागि राक्षसी प्रबृत्तिहरुको अन्त्य गर्न शक्तिशाली दुर्गा बनेर छाउनुहोस् । शुभकामना ।