नेपाली वाङ्मयमा ‘पारिजात’ अपरिचित नाम होइन । उनको चर्चा कहाँ मात्र छैन र !

वि.सं. २०२२ मा पारिजातको पहिलो उपन्यास ‘शिरीषको फूल’ प्रकाशनसँगै निबन्धकार शंकर लामिछानेले लेखे, “वर्तमान त पारिजातको हो नै । तर अब लाग्दैछ, आउँदो भविष्य पनि केवल उसैको रहनेछ ।”

बूढा अहिलेसम्म पनि बाँचेका हुन्थे भने मक्ख पर्थे होला– उनले भनेजस्तै समय अझै पनि पारिजातकै पक्षमा छ ।

‘शिरीषको फूल’ पारिजातको सर्वप्रिय कृति हो । यसैका लागि ०२२ सालको मदन पुरस्कारद्वारा सम्मानित भएसँगै नेपाली साहित्यमा पारिजातको चर्चा ह्वात्तै चुलिएको हो । विसंगतिका विरुद्ध अस्तित्ववादी विचारधारालाई आफ्नो लेखनीमा प्रखर रूपमा जोड दिएकी पारिजात उपन्यासका अतिरिक्त कविता, निबन्ध र कथाका क्षेत्रमा पनि उस्तै खरो देखिन्छिन् ।

भर्खरै फिनिक्स बुक्सले पारिजातका कृतिहरू नयाँ स्वरूपमा ल्याएछ । यस्तैमा एकदिन बजार विचरणमा हात पर्‍यो, तिनैमध्येको एक, ‘बैंसको मान्छे’ । श्यामश्वेत आवरणमा सजिएको पारिजातको तेस्रो उपन्यास ।

पक्कै पनि चर्चित लेखकको पुस्तक भन्नेबित्तिकै थुप्रै अपेक्षाहरू अवश्य राखिन्छ नै । धेरै कृतिहरू राम्रा हुँदाहुँदै पनि उति साह्रो छुन नसकेका अनुभव हामी सबैसँग छन् । मलाई डर थियो, कम्तीमा पारिजातमा त्यो नभइदेओस् । नभन्दै भयो ठ्याक्कै उस्तै । पारिजातप्रतिको मेरो अपेक्षा सार्थक रूपमा अवतरण हुन पुग्यो । बहुत गजबको रै’छ, ‘बैंसको मान्छे’ ।

कथा सामान्य छ । एक जवान युवक हुन्छ, जो पढे–लेखेको हुँदाहुँदै पनि काम पाउन सक्दैन । या भनौं उसले सोचेजस्तो काम पाउन सकिरहेको हुँदैन । घरव्यवहार जति सबै उसकी एक्ली आमाले एक्लै चलाइरहेकी हुन्छिन् । ऊ भने बिल्कुल हरफनमौला । ‘पियन केटो’ उसको प्रिय साथी हो, जोसँग बसेर ऊ समाज बदल्ने कुरा गर्छ । आफ्नो अस्तित्वको स्थापना गर्ने कुरा गर्छ । समाजको विसंगति नामेट पार्ने कुरा गर्छ । कसैको पैतालामुनि दबिएर नोकरी गर्नुभन्दा त बरु निकम्मा भएर हिँड्ने कुरा गर्छ । यस्तै–यस्तै विद्रोही कुरा ऊ सधैंजसो गर्छ । अनि साँझपख घरमा उही बूढी आमैले पकाएको खोले खान्छ र सुत्छ । भोलि फेरि सधैंजस्तो सबेरै उठ्छ, घुम्छ, डुल्छ, गफ्फिन्छ, खान्छ र सुत्छ । दिनानुदिन यही चक्र दोहोरिइरहन्छ ।

यहीँ कहीँ भेटिन्छन् उसका सहयात्री पात्रहरू । सडकमा माग्दै बाँचिरहेकी ‘गोल्ड्याङरी’, होटेलमा भाँडा माझिरहेकी ‘स्यामो’, बर्दीको फुलीका भरमा छोरीचेलीका फुली खोज्दै हिँडिरहेको ‘हवल्दार’, देवल छेउमा जिन्दगी बिताइरहेकी ‘लाटी’ आदि–इत्यादि । यहाँ सबै आ–आफ्ना कथा बोकेर हिँडिरहेका छन् । कोही कतै त कोही अन्यत्रै ।

उपन्यासभरि नै कताकता रुमल्लिइरहेका भेटिन्छन्, सबै पात्र र कथाहरू । सधैं दबाइन्छन् उनीहरू, कहिले समाजका उच्च वर्ग भनाउँदाहरूबाट त कहिले स्वयं समयबाटै । खैर ! जे जस्तो परिवेशमा रुमल्लिए पनि कथाको समग्र अन्त्य भने निकै शानदार रूपमा हुन पुग्छ । लाग्छ– कथाको अन्त्यबाट नै कथाको औपचारिक सुरुआत भएको छ । वास्तवमै कथाको अन्त्यबाटै उपन्यासको सार्थकता महसुस हुन्छ ।

कथाको सरलतालाई पारिजातको सिग्नेचर शैलीले निकै असामान्य र लोभलाग्दो बनाइदिएको छ । हरेक स–साना परिस्थितिहरूको आकर्षक विश्लेषण । घटनैपिच्छेको सुन्दर वैचारिक दृष्टिकोण । व्यक्ति, विचार र समयको त्रिकोणात्मक संश्लेषण । समग्रमा निकै महँगो दरिएको छ ‘बैंसको मान्छे’ ।

पारिजातका कथाहरूको विशेषता नै उनका सशक्त पात्रहरू हुन् । निकै दरिला बनाउँछिन् उनी पात्रलाई । विसंगति र बेथितिले माझिएका उनका पात्रहरू जीवन–जगत्बारे खरो भएर प्रस्तुत भइरहेका हुन्छन् । चाहे ती ‘शिरीषको फूल’ का सकम्बरी, सुयोगवीरहरू हुन् या ‘बैंसको मान्छे’ भित्रका युवक, पियन केटोहरू नै किन नहून् । सबै कमालका लाग्छन् ।

‘बैंसको मान्छे’ बाट पियन केटो बोल्छ, “पेट भरिसकेपछि मात्र प्रेम सुरु हुन्छ ।” ऊ मान्छ– प्रेम त बस् धनीहरूले गर्न सक्छन् । हामी गरिबलाई त बस् काम गर्‍यो, जसोतसो खायो, मर्‍यो ।

साँच्चै डरलाग्दा छन्, उसका वाक्यहरू । अझ डरलाग्दो गरी निस्किन्छन् केही यस्ता वाक्यहरू पनि, “समाज पैसामा उभिएको छ । सुविधाप्राप्त वर्गको पर्सभित्र छ समाज । समाज शासकहरूको खल्तीमा छ ।” अहो ! पारिजातका पात्रहरू !!

समग्रमा, केही शाब्दिक जटिलता एवं लामा तथा गम्भीर अनुच्छेदहरूको बोझिलोपनलाई थाँती राख्ने हो भने ‘बैंसको मान्छे’ उपन्यासलाई निकै सुन्दर, सशक्त एवं पठनीय कृतिका रूपमा हेर्न सकिन्छ । पारिजातको ब्रान्डेड शिल्पशैलीको रसपान गर्नकै लागि पनि ‘बैंसको मान्छे’ पढिनु पर्छ भन्ने मलाई लाग्छ ।बाह्खरीबाट