धरान / पूरानो नगर धरानमा स्थानीय तहको चुनावमा कांग्रेस, एमाले, र माओवादी केन्द्रबीच रोचक भिडन्त हुने देखिएको छ । यो भिडन्त ‘नाक’ को भिडन्त पनि हुने छ । धरान कम्युनिष्टको गढ मानिन्छ । २०४६ पछिका मध्यावधि निर्वाचन, स्थानीय निर्वाचनमा पनि कम्युनिष्ट पार्टीहरुले नै बर्चश्व कायम गरेका थिए । जतिबेला धरान १९ वटा वडामा मात्रै सिमित थियो । तर, अहिले केही फरक छ । विष्णुपादुका र पाँचकन्या गाविसहरु मिलेसँगै धरानको क्षेत्रफलले जसरी काँचुली फेरेको छ । चुनावी प्रतिस्पर्धामा पनि काँचुली फेरिन आशङ्का गरिरहेका छन् । चुनावी प्रतिस्पर्धामा कांग्रेसबाट धेरै नै माथापच्चीपछि नगर सभापति तिलक राईले बाजी मारेको पार्टी निकट स्रोतहरु बताउँछन् । त्यसो त पूर्व सभापति किशोर राई पनि मैदानमा छन् । त्यसो हो भने अव धरान उपमहानगरमा जितको ‘गोरेटो’ कुन पार्टीले खन्ला ? अनुमान लगाउन केही गाह्रो छ । यता, एमालेबाट तारा सुब्बा लाइनमा छन् । र, माओवादी केन्द्रबाट युवा नेता आइन्द्रबिक्रम बेघा छन् । एमालेबाटै राजनीतिमा प्रवेश गरे पनि बेघाको सम्भावना पनि राम्रै रहेको आँक्नेहरु धेरै छन् । तर, बाजी कस्को पोल्टामा जाला त्यसको परिणाम कुर्नु पर्ने छ धरानवासीले । कतिपयले स्थानीय निकायको निर्वाचनमा पार्टी भन्दा पनि व्यक्ति हेरिने ‘स्वतन्त्र’ भोटरहरु बताउँछन् । अझ धरानको हकमा जातीय भोटले ठूलो महत्व राख्छ ।

हरेक जसो स्थानीय निकायको निर्वाचनमा यसको प्रभाव पर्दै आएको छ । जातिगत आधार हेर्ने हो भने धरानमा राई पहिलो नम्बरमा आउँछ । जसको जनसंख्या २८५३६ छ । त्यसपछि लिम्बू दोस्रो नम्बरमा छ । लिम्बूको जनसंख्या १६ हजार ६१ छ । तेस्रो नम्बरमा नेवार छ । जसको जनसंख्या १५ हजार २३७ छ । चौथो नम्बरमा क्षेत्रीहरुको छ । जसको जनसंख्या १४ हजार ६९२ छ । यो जनसंख्या राष्ट्रिय जनगणना २०६८ को हो । तर, राजनीतिकलाई नजिकबाट नियालेका धरान–१४ बासी कृष्ण कोइराला भने जातिगत भोटले हारजितको मापन नभएको बताउँछन् । थप्छन्, ‘मेजरिटीको हिसावले राईको प्रतिशत धेरै छ । तर, धरानको परम्परामा जातिगत रुपले मात्रै हारजीत भइरहेको छैन् ।’ धरानमा जातिगत भोटलाई आधार मान्ने हो भने सबैभन्दा निर्णायक मत नेवार र ब्राम्हण क्षेत्रीको हुने गरेको कोइराला बताउँछन् । धरानमा मतदाता संख्यालाई हेर्ने हो भने ७९ हजार २ सय ८२ रहेको छ । यो जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क हो । कोइरालाका अनुसार धरानमा कांग्रेस–एमालेबीच नै अन्तिम प्रतिस्र्धा हुन्छ । उनले भने, ‘१५ सालदेखि नै यहाँ लेफ्ट कै बर्चश्व थियो । यसपाली चाही कांग्रेस पनि बलियो देखिएको छ ।’ धरानमा कांग्रेसको क्रियाशील सदस्यहरु ३ हजार १५० रहेको नगर सभापति बताउँछन् । उनले कांग्रेसलाई स्वतन्त्र भोट १० हजार माथि आउने दाबी गरे । यता एमालेका नगर अध्यक्ष तारा सुब्बाले एमालेको संगठित सदस्यहरु मात्रै (जो पार्टी पिएम लिएकाहरु) २२ सय हाराहारीमा छन् । उनका अनुसार पार्टीमा जनवर्गीय संगठनहरुको बेग्लै ‘लेयर’ हुने गरेको छ । ‘त्यसो हुँदा ५ हजार माथि त पार्टी कार्यकर्ताहरु मात्रै होलान् ।’ उनले भने । तर, एमालेले अहिले नै स्वतन्त्र मतको आकलन नगरिसकेको अध्यक्ष सुब्बाले बताए । यता माओवादी केन्द्रको संगठित सदस्य र साधारण सदस्य गरेर साढे ४ हजार रहेको माओवादी केन्द्रका नगर संयोजक चोत्लुङले बताए । उनले धरानमा १८ देखि २० हजार मत ल्याएर जित्ने लक्ष्य रहेकोले अन्य सबै मत स्वतन्त्र मत हुने रहने बताए ।