काठमाडौं/ प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसद अवरोधकैबीच प्रधानमन्त्री निर्वाचन प्रक्रिया व्यवस्थापिका–संसदले अघि बढाएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले बिहीबार पनि संसद अवरोध गरेपछि संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्री निर्वाचन गर्ने गरी संसद बैठक स्थगित गरेको छ ।
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न राष्ट्रपतिबाट आह्वान भएपछि संसदको कार्यसूचीमा त्यो पत्र पढेर सुनाउने थियो । तर, विपक्षी एमालेले संसद अवरोध गरेपछि पत्र पढेर सुनाउने काम हुन सकेन ।
सामान्यतः प्रधानमन्त्री निर्वाचन प्रक्रियाका लागि सभामुखले संसद बैठकमा निर्वाचन अधिकृत र मिति तोक्ने प्रचलन छ ।
संसद बैठकमा त्यो हुन नसकेपछि सभामुख ओनसरी घर्तीले संसद सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यतालिका बिहीबार नै सार्वजनिक गर्ने तयारी गरे पनि शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक गरेरमात्र गर्न सुझाव आएपछि बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएन ।
शनिबार मनोनयनपत्र दर्ता र अन्तिम नामावली प्रकाशन तथा आइतबार निर्वाचन गर्ने गरी शुक्रबार कार्यतालिका सार्वजनिक गरिने स्रोतको भनाइ छ । संसद बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ ।
कांग्रेस र माओवादी गठबन्धनका प्रधानमन्त्रीका उम्मेदवारकारुपमा अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा देखिएका छन् ।
जेठ २१ गते संसद खुलेपछि सभापति देउवा माओवादी केन्द्र, मधेसकेन्द्रित दलको समर्थनमा प्रधानमन्त्री बन्ने बताउँछन्, कांग्रेस महामन्त्री शशांक कोइराला ।
तर, एमालेले भने यो ढंगबाट प्रधानमन्त्री चयन हुनै नसक्ने बताएको छ । प्रधानमन्त्री निर्वाचनका लागि आफ्नो उम्मेदवार नभएको भन्दै एमाले नेता सुरेन्द्र पाण्डेले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने बताए ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता लक्ष्मणलाल कर्णले भने आफूहरुसँग पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा गरिएको सहमति कार्यन्वयन भएमात्र देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताए ।
प्रधानमन्त्री बनाउने थलो संसद नै बन्धक रहेकाबेला दलहरुले आ–आफ्नै दाबी गरिरहेका छन् ।
संसद नियमावलीले नियमावलीको अन्तिम व्यख्या गर्ने अधिकार सभामुखलाई दिएको छ ।
कानुनकासमेत ज्ञाता मानिने माओवादी केन्द्रका सांसद रामनारायण बिडारी संसद चल्न नदिएपछि अहिले सभामुखले बढाएको प्रधानमन्त्री निर्वाचन प्रक्रिया स्वागतयोग्य रहेको जिकिर गर्छन् ।
इमेज