काठमाडाैं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक सफल प्रधानमन्त्री बनेर सरकार छाडेको बताए । बुधबार राजीनामा दिनुअघि राष्ट्रको नाममा सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा भएका उपलब्धिको विवरण समेत दिए । प्रधानमन्त्री प्रचण्डले अत्यन्तै प्रतिकूल परिस्थितिमा प्रधानमन्त्री बन्दा पनि देशको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कूटनीतिकलगायत क्षेत्रमा निकै सकारात्मक नतिजा हासिल गर्न सकेको दाबी गरे । आफू प्रधानमन्त्री सम्हाल्दा संविधान कार्यान्वयनको गति अत्यन्त सुस्त र राजनीतिक वातावरण पनि अन्यन्त तनावपूर्ण रहेको स्मरण गर्दै उनले भने, ‘एकथरी निराशावादीले अब नेपाल राजनीतिक र संवैधानिक शून्यतामा जाने भविष्यवाणी गरिरहेका थिए र अर्काथरीले राष्ट्रिय अखण्डतामै आशङ्का गरिरहेका थिए । सबै आर्थिक सूचकाङ्कहरू निराशाजनक थिए, लोडसेडिङ सामान्य मानिन्थ्यो । विकासका चर्का भाषण त थिए, तर आर्थिक वृद्धिदर एक प्रतिशत पनि थिएन । ’ त्यसबेला देशको राजनीति अत्यन्तै विभाजित अवस्थामा रहेको स्मरण गराउँदै उनले छिमेकीसँगको सम्बन्ध समेत सहज नभएको अवस्थामा प्रधानमन्त्री बन्नुपरेको बताए। ‘जब म प्रधानमन्त्रीको उम्मेदवार थिए“, एकथरी साथीहरूले संसद्मा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो, ‘फास्ट ट्र्याक के हुन्छ ? ओबीओआर के हुन्छ ?  हुलाकी मार्ग के हुन्छ ? ती प्रश्न गलत थिएनन् । तर, सोध्नेहरूको नियत सही थिएन । ’ प्रधानमन्त्रीले यी विषयहरूलाई राजनीतिक दाउपेचको रूपमा प्रयोग गरिएको उल्लेख गर्दै यी सबै सफलतापूर्वक सम्पन्न गरेर उत्तर दिएको बताए । ‘निर्वाचनमा सबैको सहभागिता हुन सक्छ र अझ निर्वाचन हुन सक्छ भन्नेमै धेरैलाई अविश्वास थियो,’ भूकम्पपीडितको बिचल्ली अवस्था स्मरण गर्दै उनले भने, ‘चौतर्फी राजनीतिक, सामाजिक, आर्थिक र कूटनीतिक समस्याबीच सम्मानित संसद्बाट मैले प्रधानमन्त्री पदको जिम्मेवारी लिएको थिए“ । आज म जनतासामु उभिएर विश्वासका साथ भन्न सक्छु, कि करिब दश महिनाको छोटै अवधिमा सरकार त्यो परिस्थिति बदल्न सफल भएको छ । ’ स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको, झन्डै ७ प्रतिशतको आर्थिक वृद्धिदर, लोडसेडिङको अन्त्य, बन्द रहेका उद्योगको सञ्चालन, ओबीओआरमा नेपालको संलग्नता तथा काठमाडौँ तराई फास्ट ट्र्याक निर्माण नेपाल आफैँले गर्ने निर्णय आदिलाई उनले आफू सफल हुनुको आधार भएको बताए । ‘निर्वाचनले महिला सशक्तीकरण र नेतृत्व निर्माणको दिशामा पनि ऐतिहासिक योगदान दिएको छ,’ स्थानीय तहको चुनावबारे टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘आजसम्म सीमान्तकृत रहेको समुदाय अब याचनाकर्ता होइन, न्यायदाताको नया भूमिकामा पुगेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि निरन्तर सङ्घर्षरत मैले यो युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउदा गौरवको महसुस गरेको छु ।’’ उनले आफू प्रधानमन्त्री बन्दा आर्थिक वृद्धिदर केबल ०.८ प्रतिशत रहेको स्पष्ट गर्दै अहिले चौबीस वर्ष यताकै उच्च ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दिशामा रहेको बताए। ‘आर्थिक वृद्धिदरमा हामी विश्वशक्ति बन्न अग्रसर हाम्रा दुई छिमेकीकै हाराहारीमा पुगेका छौँ भन्ने जानकारी गराउन पाउ“दा म हर्षित छु,’ उहाँले भन्नुभयो, ‘भविष्यमा बन्ने सरकारका लागि यो वृद्धिदर अब एउटा मानक बन्नेछ । देशको विकास अब जनताले भाषणमा होइन, तथ्याङ्कमा र परिणाममा खोज्नेछन् भन्नेमा म विश्वस्त छु । ’ प्रधानमन्त्री भएलगत्तै लोडसेडिङ अन्त्य गर्ने सङ्कल्प लिएर आफूले ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको सुनाउँदै उनले त्यसमा आफू सफल भएको बताए । अहिले २० घण्टा लोडसेडिङ सामान्य लाग्ने अवस्था पार गर्ने मात्र होइन, वर्षौंदेखि रोकिएको नेपालको पहिलो २२० केभीएको खिम्ती ढल्केबर प्रसारण आयोजना फास्ट ट्र्याकमा काम सम्पन्न गर्ने, दुई महिनामै ढल्केबर सबस्टेसन सञ्चालनमा ल्याउने काम भएको बताए । बिचल्लीको अवस्थामा रहेको भूकम्प पीडितलाई आठ लाखसम्मको राहत व्यवस्थापन गर्न सकेको भन्दै उनले बाढी पहिरो, डुबान र आगलागीबाट पीडितलाई समेत भूकम्पपीडित सरह राहत दिने व्यवस्था गरेको बताए । उनले वैदेशिक रोजगारमा जानेहरूको बिमा बापतको रकम सात लाखबाट थपेर २७ लाख रुपियाँसम्म पु¥याएको उल्लेख गर्दै विदेशमा श्रम बगाएर देशको अर्थतन्त्र धानिरहेका युवाको पक्षमा पनि थुप्रै काम गरेको बताए । ‘म प्रधानमन्त्री हुनुअघि सरकारको विदेशनीति विवेकभन्दा आवेगले निर्देशित देखिएको थियो । छिमेकीसँगको सम्बन्ध सहज थिएन,’ उनले भने, ‘यो सरकारले छिमेकीसँग आपसी सम्बन्धलाई राजनीतिक, कूटनीतिक र जनस्तरसम्म सहज र सन्तुलित बनाएको छ । ’

गाेरखापत्र