काठमाडौँ/स्थानीय तह निर्वाचनको नमुना मतपत्र सार्वजनिक भएपछि धेरैको आकलन थियो यो पटक बदर मतको सङ्ख्या बढ्छ । धेरै दलको प्रतिनिधित्व गराउनुपर्ने ठूलो मतपत्र र त्यसपछि दलहरूबीच भएको चुनावी तालमेलले मतदाता झनै झुक्किए ।

पूर्वानुमान मतगणना सुरु भएसँगै सही साबित हुँदै गयो । शिक्षित मतदाता रहेको काठमाडौँ महानगरपालिकामा नै प्रारम्भिक एक हजार मतगणनामा १०७ मत बदर भयो । काठमाडौँको वडा नम्बर २ मा त सुरुवातको २४ मतमा नै पाँच मत बदर भेटिए । निर्वाचन आयोगले औपचारिक रूपमा बदरको मतको तथ्याङ्क सार्वजनिक नगरे पनि मतगणनाका क्रममा केही स्थानमा बदर मत समेत सार्वजनिक गरिएको छ । काठमाडौँको प्रारम्भिक मतलाई आधार मान्ने हो भने शिक्षित मतदाता रहेको महानगरमा नै १० प्रतिशतभन्दा बढी मत बदर हुने देखिएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार काठमाडौँमा ७५ दशमव पाँच प्रतिशत मत खसेको छ । जसअनुसार काठमाडौँमा दुई लाख हाराहारीमा मत खसेको छ । बदरको प्रारम्भिक परिणामअनुसार काठमाडौँमा मात्र २० हजार हाराहारीमा मत बदर हुने देखिएको छ । अहिलेको बदर दर उच्च निर्वाचनमा मत बदरको प्रतिशत यसअघि पाँच प्रतिशतको हाराहारीमा सीमित भए पनि यो पटक त्यो आँकडा नाघ्ने देखिएको छ । विशेष गरी ठूला दलबीच तालमेल भएका स्थानीय तहमा मत बदर बढी देखिएको हो । यअअघि २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा पाँच लाख ६० हजार मत बदर भएको थियो । यो कूल खसेको मतको पाँच प्रतिशतको हाराहारीमा थियो । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चार प्रतिशत हाराहारीमा मत बदर भएको थियो । समानुपातिकमा तीन प्रतिशत हाराहारीमा मत बदर भएको थियो । कूल एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामा औसतमा मत बदर दोस्रो संविधान सभामा पनि चार दशमलव ९६ प्रतिशत रहेको थियो । मत सङ्ख्याको हिसाबले भने दोस्रो संविधान सभामा झन्डै सात लाख मत बदर भएको थियो । उम्मेदवार नभए पनि मत आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत ३४ जिल्लामा ४९ लाख ५६ हजार ९२५ मतदाता थिए । निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्कअनुसार ७३ प्रतिशत मत खसेको छ । जसअनुसार कूल मतदातामध्ये ३६ लाख १८ हजार ५५५ मत हुन्छ । प्रारम्भिक मत परिणामको औसतमै मत बदर भएमा तीन लाख ८७ हजार हाराहारी मत बदर हुन्छ । तर, यो सङ्ख्या देशका ७५ जिल्लामध्ये ३४ जिल्लाको मात्र हुनेछ । स्थानीय तहका सङ्ख्याको हिसाबले अझै ४६१ स्थानीय तहमा निर्वाचन हुन नै बाँकी छ । मतपत्र ठूलो भएको दलीय समीकरणको कारण क्रस भोटिङ हुँदा मत बदर बढी भएको हो भन्ने मतगणनामा सहभागी दलका प्रतिनिधिहरूको आकलन छ । ललितपुर महानगरको मुख्य निर्वाचन कार्यालयले मङ्गलबार साँझ सार्वजनिक गरेको तथ्याङ्कअनुसार उम्मेदवार नै नभएकोमा पनि मत खसेको छ । दलीय समीकरणका कारण फरक फरक पार्टीका फरक फरक उम्मेदवारलाई मत दिँदा धेरै मत बदर भएका छन् । एमाले राप्रपाबीच भएको तालमेलमा एमालेको ललितपुरमा उपमेयरको उम्मेदवार नै छैन । तर, क्रस भोटिङ नभएपछि उम्मेदवार नै नभएको एमालेको चिह्नमा तीन हजार १२३ मत गणना भइसकेको छ । महानगरको मतगणना सुस्त निर्वाचन सम्पन्न भएपछि ललितपुर महानगरको मतगणना आइबार रातिदेखि नै सुरु भयो । चार मुख्य महानगरमध्ये काठमाडौँ, पोखरा लेखनाथ र भरतपुरमा भने सोमबार दिउँसोबाट मात्र सुरु भयो । तीनै महानगरमा मतणना सुरु भएको मङ्गलबार राति ९ बजेसम्म ३० घन्टा पार गरिसकेको छ । तर, काठमाडौँमा अहिलेसम्म एउटा वडाको पनि पूर्ण परिणाम आउन सकेको छैन । ललितपुरमा सोमबार राति ९ बजेसम्म ४ वडाको मतपरिणाम आइसकेको छ । भरतपुर महानगरमा १ वडा र पोखरा लेखनाथ महानगरमा २ वटा वडाको मतगणना सकिएको छ । तर, मत परिणामको सङ्ख्याका हिसाबले ३० घन्टाको अवधिमा तीन महानगरले तीन हजारको हाराहारीमा पनि मतगणना गरेका छैनन् । राति ९ बजेसम्म काठमाडौँमा एकहजार ४३० मतगणना भएको छ । ३० घन्टाको अवधिमा औसतमा ५० हाराहारीमा मतगणना भइरहेको छ । ललितपुर महानगरमा चार वडाको गणना सकिँदा एक वडामा काँग्रेस उम्मेदवार विजयी हुनुभएको छ । तीन वडामा एमाले विजयी भएको छ । राति ९ बजेसम्मको मत परिणामअनुसार भरतपुर महानगरको वडा १ मा काँग्रेस विजयी भएको छ । पोखरा लेखनाथमा दुई वडामध्ये काँग्रेस एमालेले एक-एक स्थानमा विजयी भएका छन् ।

गाेरखापत्रबाट