..........ए देश मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर म अरबबाट घर फर्कें भने त ठीकै हो तर त्यसभन्दा ठूलो रातो काठको बाकसमा म आफैं भरिएर फर्कें भनें ? अहिलेको समयका सवैभन्दा लोकप्रीय कवि नवराज पराजुलीको सर्वाधिक लोकप्रीय कविता ‘सगरमाथाको गहिराई’को टुङ्ग्याउनी अनुच्छेद हो यो । बाबु आमाका सपना किन्न अरब पुग्नेहरु बाकसभरी पैसा लिएर मात्र आइरहेका छैनन, आर्फै बाकसभित्र भरिएर आउने गरेका विडम्बनालाई ज्यादै प्रभावपूर्ण ढंगले उनले प्रस्तुत गरेका छन् । उनका लागि यो पहिलो कृति ‘सगरमाथाको गहिराई’ लाई गत वैशाख १८ गते काठमाडौंमा उनकी आमा लक्ष्मीको हातबाट लोकार्पण गराएर लाखौं छोराहरुको लाखौं कमाउने अरब सपनाको चिरफार गरे । संसारको सवैभन्दा अग्लो शीर सगरमाथाको दुःख, समस्या, अभाव अनि विडम्बनापूर्ण उस्तै गहिरो गहिराई समेत कवितामा उतारे । झापाको हल्दिवारी गाउँपालिका ४ जलथलका ३० वर्षीय उनी काठमाडौंलाई आफ्नो कर्मथलो बनाएर कविता र नाटकमा लागिपरेका छन् । आफ्नो पहिलो कृतिको चर्चा चाँही पहिलोपटक गृहजिल्लाको दमकमा गरे । अग्लो कदका सधैं दाह्री पालिरहने हँसमुख नवराज साहित्यकार र साहित्य मन पराउनेहरुका लागि फेसबुक र युट्युवमार्फत भनें लगभग परिचित भइसकेको अवस्था छ । यही बीचमा दमक क्याम्पस नेपाली विभाग र सीधा रचना वाचनको सांगोपाङ्गोमा वैशाख २९ गते २ सय बढी सहभागिबीच नवराज प्रत्यक्ष सुनिए । उनका बाबु हरिप्रसादलाई समेत मञ्चको अतिथि लहरमा राखेर तिनै बाबु र आमाका सपना अनि छोराप्रति गरेको अपेक्षा जोडिएका कविता सुनाउँदाको अवस्थाले कविताको शक्ति चखाइरहेको थियो । गुलाफको कुरा त परै जाओस्, ओठमा क्यातुके समेत फुल्न सकेन । सवै सस्ता चिजहरु विक्री नहुँदा रहेछन् भन्दै एउटी अविवाहित युवती प्रतिकात्मक रुपमा आफ्नो जिन्दगी च्याउ नै भएको विलौनामा थिइन् । जसले उम्रिनु मात्रै पनि परालले कुहिनु पर्ने अवस्था रहेको ‘च्याउ’ कविताबाट आफ्नो वाचन सुरु गरे । अर्काे सुनाए ‘खोया’ । नयाँ प्रेमिकासँगको प्रसंगलाई जोडेर मकैका दाना नभएर नाङ्गो भएको खोयासँग आफ्नो जीवन जोडे । खोयाको जिउभरीका खाल्डाहरु खोयालाई छोडेर गएका मकैका दानाहरुको याद भएको कुरा ज्यादै कलात्मक हिसावले जीवनसँग रुपान्तरण गरे ।

आफ्नो ओठमा च्याप्नका लागि एक खिल्ली खुसी समेत नभएको बेला आएकी प्रेमिकालाई बसन भन्न ओठ डराउने र उनी गएको हेर्न आँखा डराउने कविताको लय थियो । उनका कविताहरु सुन्दा लाग्थ्यो हामीले प्रत्येक अक्षर र शव्दको भिडियो हेरिरहेका छौं ।

आफ्नै आखाँका सीधा अगाडि समगरमाथाको गहिरो उचाईमा आफु नापिइरहेका छौं । प्रत्येक हरफमा कविताको गहिरो उचाई भेटिरह्यौं । प्रत्येक शव्दले प्रस्तुतिका लागि माग्ने भावभंगीमा आफुलाई ढालेर प्रस्तुत हुने उनको प्रस्तुति कविताको उचाई कायम गराउने उत्तिकै महत्वपूर्ण कडी बनेको छ ।

अनि राम्रो कविता लेखेर मात्र आफ्नो जिम्मेवारी पुरा नहुने र वाचनको शक्ति उत्तिकै आवश्यक पर्ने मर्म प्रत्येक सर्जकको मन मनमा उनीदिए । अर्काे उनको प्रभावपूर्ण विशेषता भनेको उनले लेखेका सवै कविता उनलाई कण्ठ छ । जति सुकै लामा कविता भएपनि उनी मञ्चमा डायरी हेरेर कविता वाचन गर्दैगर्दैनन् । आफ्ना सृजना कण्ठ भएपछि त्यसको प्रस्तुतिलाई न्याय गर्न सकिने हुन्छ ।

स्रोतासँग केन्द्रीत भएर भावको निरन्तरतालाई निरन्तर अगाडि बढाउन सहज हुन्छ भन्ने कुरालाई उनले ज्यादै ख्याल गरेर आफु प्रस्तुत हुन्छन् । यीनै प्रभावकारी विशेषताले उनी यसबेला सञ्चारमाध्यमा छाएका छन् ।

साहित्यमा मैहुँ भन्नेलाई माथ खुवाएका छन् ।उनको कवित्व र कृतिमाथिको टिप्पणीका क्रममा कवि सुमन पोखरेलले एउटा छोटो समयमा यति धेरै लोकप्रीय भएका पहिलो कविका रुपमा उनलाई व्याख्या गरे । फेसबुक, युट्युव सहितका प्रविधिको सञ्जालमार्फत धेरैले एकैपटक ग्रहण गर्न पाएकाले पनि उनको चर्चा एकसाथ चर्चित हुन पायो । प्रा.डा. भीम खतिवडा र शिव रेग्मी प्रणतले पनि उनलाई मिठो इष्यालाग्दो कविका रुपमा चर्चा गरे ।

अनि सृजनाको तागत र त्यसको प्रभावमा युवा पुस्ताको यो लगाव समाज रुपान्तरणको कसि भएको महसुस गरे । फेसबुक र युट्युवमा सर्वाधिक हेरिने कविमा पर्छन् उनी । उनले टिकटमा आफ्ना कविता वाचन अगाडि बढाएर सृजनालाई व्यवसायिक बनाउने अभियानमा समेत सामेल छन् । साँच्चै उनको कविताको तागतले नेपालमा मात्र होइन विदेशमा समेत प्रभाव पारेर नेपाली साहित्यलाई अन्तरराष्ट्यिकरण गरेको रहेछ ।

उनको ‘सगरमाथाको गहिराई’ कवितालाई अंग्रेजीमा अनुवाद गरी डेनमार्क सरकारको सीकेयुको पाठ्यक्रममा डेढ वर्ष अघिबाट राखिएको सुखद खवर सुनियो । कविताको यो उचाईका उच्च धरोहरले नाटकमा पनि आफ्नो आयतन फराकिलो पार्दैैैरहेछन् । ओलम्पिया वल्र्ड स्कुलमा पढाउँदै समय निकालेर थिएटर भिलेजमार्फत विदेशमा समेत नाटक प्रस्तुतिका प्रभावकारी पात्र हुन् उनी । उनले नाटक ‘हेम्लेट’ पाकिस्तानमा प्रदर्शन गरिसकेका र अव ‘मालिनी’ युरोपमा मञ्चनको तयारीमा छन् ।

नाटक खेल्नु अघि नै अभिनयात्मकता प्रस्तुत गर्न शिपालु ‘स्लम पोयट्री’ का प्रभावकारि प्रस्तोता भएर अल नेपाली पोयट्री स्लम सन् ०१४ बाट पुरस्कृत भए । उनको प्रस्तुति नाटकको अभिनयमा डुबेको कलाकारका रुपमा पाइन्छ । अर्थात नाटक हेरिरहेको जस्तो लाग्छ । प्रभावकारी लेखनका साथै प्रभावकारी प्रस्तुतिले नवराज अरु कवि भन्दा अझ फरक प्रभावकारी लागेका छन् ।

यस संग्रहमा ३६ वटा कविता सामेल छन् । फाइन प्रिन्ट बुकले प्रकाशित गरिदिएको छ । विम्ब खेलाउन शिपालु उनी दमकको प्रस्तुतिमा अन्तिम प्रस्तुति दिए कविता ‘हेब्बी बड्डे’ ( ह्याप्पी बर्थडे होइन ) मा । बाबुआमा गाउँमा एक्लै छन् । छोराछोरीले छोडेर एक्लिएका उनीहरुको दिनरात र सवथोक भनें उनै छोराछोरी भएको ज्यादै मर्मस्पर्शी कविताले अहिलेको पुस्तान्तरले निम्त्याएको समाजको एकाङ्गी चरित्रलाई चिरफार गरेको छ ः म छु जस्तो लागेको दिन तिमीलाई सम्झिन्छु मर्छु जस्तो लागेको दिन तिमीलाई सम्झिन्छु सर्पले काँचुलीलाई विर्सिएको दिन तिमीलाई सम्झिन्छु काँचुलीले सर्पलाई सम्झिएको दिन तिमीलाई सम्झिन्छु मैले आफुले सम्झेको दिन तिमीलाई सम्झिन्छु आफुलाई विर्सिएको दिन तिमीलाई सम्झिन्छु मलाई नढाँटी भन न मेरो छोरा आज तिम्रो जन्मदिनमा तिमीले मलाई सम्झियौ ?