विभिन्न दलका नेताहरूका आ–आफ्नै थेगो छन् । उनीहरूले प्रयोग गर्ने थेगोले कुनै खास अर्थ भने बोक्दैन । तैपनि भाषण र बोलिचालीका क्रममा उनीहरूले बारम्बार थेगो प्रयोग गरिरहेका हुन्छन् । हास्य कलाकारहरूले समेत प्रयोग गर्न थालेपछि केही नेताका थेगो जनमानसमा समेत चर्चित बनेका छन् । आफूहरूले प्रयोग गर्ने थेगोका बारेमा वेलाबखत शीर्ष नेताहरूको बैठकमैसमेत घोचपेच हुने गरेको छ । स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा एक दिन बालुवाटारमा बसेको तीन दलको बैठकमा अहिलेका प्रधानमन्त्री प्रचण्डले प्रयोग गर्ने ‘मने…’देखि कोइरालाको ‘ऊ…’ र एमाले अध्यक्ष केपी ओलीका उखान–टुक्काकाका बारेमा समेत चर्चा भयो । नेताहरूले एकअर्काकै कुरा गरेर हाँसोमजाक गरेको विषय त्यो दिनको बैठकमा सहभागी नेताहरू अहिले पनि सुनाउँछन् । ओलीले ‘प्रचण्डजीको मने पनि निकै चर्चित भयो’ भनेपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले हाँस्दै प्रचण्डतिर हेरेका थिए । प्रचण्ड’ भने मुसुमुसु हाँसी मात्र रहे । कोइरालाले थप प्रश्न गरे, ‘साँच्चै प्रचण्डजी यो मनेचाहिँ कसरी थेगो बन्यो ?’ बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले हाँस्दै जवाफ दिए, ‘मने भन्दाभन्दै थेगो नै बन्यो, अहिलेचाहिँ निकै कम गरेको छु ।’ नेताहरूका थेगो थरीथरीका छन् । क्यारिकेचरले सुधार्‍यो प्रचण्डलाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को थेगो ‘मने…’ हो । पाँच वर्षअघि एक अन्तर्वार्ताका क्रममा पत्रकारले सोधेको ‘अबको संघीयताको ढाँचा कस्तो हुन्छ’ भन्ने प्रश्नमा उनले भनेका थिए, ‘मेरोचाहिँ त एकदम प्रस्टै छ, मने हामी सबै खालको उत्पीडनको अन्त्य गर्ने आधारमा संघीयता हुनुपर्छ मने पुरानो सामन्ती राजतन्त्रले भनौँ राज्यले… ।’ उनले प्रयोग गर्ने मनेको कुनै अर्थ भने लाग्दैन । कलाकारहरूले ‘मने’ शब्द जोडेर क्यारिकेचर गर्न थालेपछि उनी अचेल यो शब्दबाट प्रयोग गर्नबाट भरसक बच्न खोज्छन् । माओवादी द्वन्द्वका वेलादेखि शान्तिप्रक्रिया हुँदै दोस्रो संविधानसभाको निर्वाचनमा आउँदासम्म कतै भाषण गर्नुपर्‍यो भने उनको मुखबाट ‘मने’ निस्किहाल्थ्यो । ‘मने’ शब्दलाई लिएर धेरैले क्यारिकेचर गर्न थालेपछि उनले यसलाई सुधार गरेका हुन् । तर, भाषण गर्दा दुई हातका औंँला आपसमा मिसाएर दुई बुढीऔँलालाई तलमाथि गर्ने उनको बानी भने अझै फेरिएको छैन । यो पनि नक्कल हुन थालेपछि उनको शैलीमा भने केही बदलाव आएको छ ।नयाँपत्रिकाबाट उखान–टुक्कामा माहिर केपी ओली एमाले अध्यक्ष केपी ओलीको खास थेगो छैन । उनी भाषणमा उखान–टुक्का मिसाउन भने खप्पिस छन् । उनी बोल्ने कार्यक्रममा नयाँ र फरक शैलीका उखान–टुक्का सुन्न पाइन्छ, जुन निकै तीखा र भित्रैसम्म बिझ्ने खालका हुन्छन् । एकपटक ओलीले वाइसिएलको गतिविधिमाथि आफूले टिप्पणी गर्नु उपयुक्त नहुने भन्दै भनेका थिए, ‘म कर्कलोमाथि बन्चरो प्रहार गर्न चाहन्नँ, उरन्ठेउला भुराहरू हुन्, बिस्तारै राजनीति सिक्दै जान्छन् ।’ मेरी बास्सैले बाबुरामलाई टेन्सन नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई एकपटक सोधियो, ‘तपाईं किन सधैँ ‘भन्ने हाम्लाई लागिराछ’ भन्नुहुन्छ ? त्यो तपाईंको थेगो हो ? जवाफमा उनले भने, ‘यो मेरो थेगो होइन, कलाकारहरूले बनाइदिए ।’ नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य शृंखला मेरी बास्सैमा कलाकार ज्योति काफ्ले बाबुराम भट्टराईको रूपमा अभिनय गर्न थालेपछि भट्टराईको ‘भन्ने हाम्लाई लागिराछ’ निक्कै चल्तीमा आयो । त्यसो त केही समयअघि भट्टराईले यो शब्द उच्चारण गर्ने गर्थे । हाल भने उनले यसमा सुधार ल्याएका छन् । देउवाको थेगो ‘भन्देखिलाई’ कांग्रेस सभापति शेरबहादुर देउवाको थेगो ‘भन्देखिलाई’ हो । भाषण गर्दा होस् वा कुनै पार्टीको आन्तरिक तथा दलहरूबीच हुने छलफलमा उनी यो शब्द बोलिहाल्छन् । त्यसो त ‘भन्देखिलाई’ नभने तापनि वाक्य पूरा हुन्छ । तर, उनको यो शब्द थेगो नै बनेको छ । भाषण गर्दा उनको बोली प्रस्टसँग नबुझिने हुँदा उनको थेगोबारे धेरैलाई थाहा नहुन सक्छ । तर, उनको बोली बुझ्नेहरू भने यसबारे राम्रोसँग जानकार छन् । सांसद तथा नेताहरूलाई सेवा सुविधा दिएको विषयमा कुरा गर्दै पत्रकार दिलभूषण पाठकसँगको एक अन्तर्वार्तामा देउवाले भनेका छन्, ‘सर्वदलीय सहमतिमा सबै पार्टीका नेताहरू, सांसदहरूले होइन, योचाहिँ अप्ठ्यारो छ, सांसदहरूलाई केही सुविधा दिनुपर्‍यो भन्देखिलाई त्यो पनि भान्साको सुविधा दिएको हो ।’ त्यस्तै, अर्को एक अन्तर्वार्ताका क्रममा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको विकल्पमा बन्ने नयाँ सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्छ कि गर्दैन भन्ने प्रश्नमा देउवाले भनेका थिए, ‘म प्रधानमन्त्रीका लागि मरिमेटेको पनि छैन, एउटा कुरा के भन्देखिलाई सबैले माने भने भाग्ने कुरा पनि छैन ।’ त्यसो त उनले ‘यार’ शब्द पनि पटक–पटक प्रयोग गर्ने गर्छन् । देउवाले प्रयोग गरेको यार शब्दको चर्चा मिडियादेखि राजनीतिक दलका नेता र कार्यकर्ताहरूबीच पनि हुने गर्छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा संवैधानिक परिषद्को बैठक बस्यो । सो क्रममा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन । प्रमुख प्रतिपक्षी दलका नेता पनि परिषद्को सदस्य हुने व्यवस्था छ । त्यसकारण देउवा पनि बैठकमा उपस्थित थिए । सहमति हुन नसकेपछि देउवाले ओलीलाई भने, ‘हतारमा निर्णय गर्न जरुरी छैन, दुई–चार दिनपछि फुर्सदमा निर्णय गरौँला ।’ देउवाको भनाइपछि ओलीले रिसाउँदै ‘समय कम छ, आजै निर्णय गरौँ’ भने । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका देउवाले ‘किन हतार गर्नुहुन्छ यार’ भन्ने जवाफ फर्काए । कम छैनन् मोहन वैद्य नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यको थेगो ‘भन्नुस्’ र ‘भन्देखि’ हो । उनको बोलीमा प्रायः भन्नुस् र भन्देखि झुन्डिराखेको हुन्छ । तर, त्यसले कुनै खास अर्थ भने दिँदैन । दिलभूषणसँगको टफ टल्कमा कुरा गर्दै नेपाल बन्दबारे सोधिएको प्रश्नमा वैद्यले भनेका छन्, ‘होइन, यस्ता कुरालाई त्यसरी भन्ने कुरा होइन । यही ०६२–६३ कै कुराहरू गरौँ भन्नुस् त योचाहिँ १९–१९ दिनसम्म बन्द भएको थियो । यहाँ मात्र होइन अन्यत्र पनि बन्दको कार्यक्रम गरिन्छ, त्यो कुरा के भन्देखि नेपालमा, नेपाली जनताले… ’ त्यस्तै पत्रकार भूषणले गरेको अर्को प्रश्नमा वैद्यले भने, ‘यो अत्यन्तै मामुली कुरा गर्नुभयो हेर्नुस्, यो कुरा के हो भन्देखि यो कुरा…’ अर्को प्रश्नको उत्तर दिने क्रममा वैद्यले भनेका छन्, ‘हामी यही नेपाली जनता, यत्रो पार्टीहरू छ, पार्टीहरूसँग सरसल्लाह नगरीकन एउटा भन्नुस् विदेशी इसारामा किन यत्रा गतिविधिहरू गरिए ? चिन्ता मान्ने कुरा यहाँ हो हेर्नुस्, त्यसकारण के हो भन्देखि जनताको हक–हितको निम्ति एउटा संघर्ष गर्नुपर्ने हुन्छ, जनता मुक्त छैनन् ।’ कांग्रेस नेता पौडेलका दुई थेगो कांग्रेस नेता रामचन्द्र पौडेलको पनि आफ्नै थेगो छ । सामान्य र महत्वपूर्ण विषयमा बोल्दा महत्वपूर्णलाई जोड्नुपर्दा उनी ‘खास गरीकन’ भन्ने गर्छन् । त्यस्तै, कतै भाषण गर्दा, बैठक या कुनै मिडियामा अन्तर्वार्ता दिने क्रममा उनी पटक–पटक ‘चाहिनी’ शब्द प्रयोग गर्ने गर्छन् । हिमालयन टेलिभिजनको यक्ष प्रश्नमा पौडेलले एउटै प्रश्नको उत्तर दिँदा थुप्रैपटक चाहिनी शब्दको प्रयोग गरे । वैद्य नेतृत्वको माओवादीलाई चुनावमा ल्याउन तपाईंहरू सरकार र नीति तहसनहस गर्ने कुरामा सहमत हुनुहुन्छ कि नाइँ ? भन्ने प्रश्नमा पौडेलले भनेका छन्, ‘अब सरकार र नीति यताउता गर्नेबित्तिकै देशको चुनाव चाहिनी अलपत्र पर्छ । मुलुक अलपत्र पर्छ । र, यो उहाँहरू भनिराख्नु भा’छ नि यस्तो किसिमको सरकार झेल्नु… उत्तरदायी सरकार चाहियो । भन्नुभएको छ नि त्यसलाई छिटोभन्दा छिटो ल्याउनुपर्‍यो, हैन ? र, अहिले चाहिनी गैरराजनीतिक चाहिनी व्यक्तिहरूको सरकार चाहिनी जतिसक्दो चाँडो चाहिनी यसलाई बिदा दिनका लागि चुनाव नै हो एक मात्र समाधान ।’ त्यसैगरी कुनै महत्वपूर्ण विषयलाई जोड्नुपर्‍यो भने उनले ‘खास गरीकन’ शब्द जोडेर वाक्य बनाइहाल्छन् । कतिपय स्थानमा सामान्य अवस्थामा पनि ‘खास गरीकन’ शब्द प्रयोग गरिरहेका हुन्छन् । प्रायः शीर्ष दलको बैठकमा सहभागी हुने नेता पौडेल बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई बैठकबारे जानकारी दिँदा ‘खास गरीकन’बाट कुरा सुरु गर्छन् । यति भनिसकेपछि मात्र उनी अरू कुरा अघि बढाउँछन् । माधवकुमारको ‘वर्तमान परिप्रेक्ष्यमा…’ एमाले नेता माधवकुमार नेपालले ‘वर्तमान परिप्रेक्ष्मा…’ शब्द थेगोका रूपमा प्रगोग गर्छन् । हास्यकलाकारले क्यारिकेचर गर्न थालेपछि उनले यसमा केही सुधार गरेका छन् । तर पनि ‘वर्तमान परिप्रेक्ष्य’मा भन्ने शब्द उनको मुखबाट आक्कलझुक्कल फुस्किहाल्छ । भाषण सुरु गर्दा होस् या भाषणको बीचबीचमा उनले यो शब्दलाई स्थान दिइ नै रहन्छन् । एकपटक एमाले मुख्यालय बल्खुमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओलीले पहिलो प्रश्नको जवाफ नेता माधवकुमार नेपालले दिनुहुन्छ भनेपछि एक पत्रकारले प्रश्न गरे ‘अध्यक्ष केपी ओली र तपाईंको मन र मत दुवै मिलेको हो कि पोलिटब्युरोमा आफ्ना मान्छे सेटल गर्न मिलेमतो भएको हो ?’ पत्रकारको प्रश्नको जवाफ दिँदै नेपालले भने, ‘वर्तमान परिप्रेक्ष्यमा मुलुकलाई निकास दिन र पार्टीलाई एकताबद्ध बनाउन हामी मिलेका छौँ, यो मिलन देखावटी मात्र होइन, मनैदेखि मत मिलेको हो ।’ दुई शब्द जोडेर वामदेवको थेगो एमाले उपाध्यक्ष वामदेव गौतमको पनि थेगो छ । तर, यसबारे कमलाई थाहा छ । उनले दुईवटा शब्द जोडेर थेगो बनाएका छन् । ‘भनेर’मा ‘भन्दा’ जोडेर उनी ‘भँरभन्दा’ थेगो प्रयोग गर्छन् । एकपटक उनलाई आफ्नै अध्यक्षविरुद्ध किन बोलेको भनेर पत्रकारले प्रश्न सोध्दा भनेका थिए, ‘मैले पार्टी अध्यक्षविरुद्ध बोलेको भन्ने शतप्रतिशत गलत हो, भँरभन्दा पत्रकारले जे पायो त्यही लेखिदिएछन् ।’ नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘बा’ भन्ने शब्दलाई थेगोका रूपमा प्रयोग गर्छन् । वास्तवमा उनले भन्न खोजेको वा हुने गरे तापनि उच्चारणका क्रममा बा सुनिने गर्छ । चित्रबहादुर केसी जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी प्रायःजसो ‘तपाईंको चाहिँ’ थेगो प्रयोग गर्छन् । उनले तपाईंको चाहिँ प्रयोग गरेर बोल्ने वाक्य यस्तो हुने गर्छ, ‘हामीले सुरुदेखि नै संघीयताको विरोध गर्दै आइरहेका छौँ । संघीयताले देशलाई निकास दिँदैन भन्ने पक्षमा तपाईंको चाहिँ हामी भोलि पनि बोलिरहनेछौँ ।’ ईश्वर पोखरेल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको थेगो ‘भन्दाखेरी’ हो । उनले प्रायः भाषण गर्दा ‘…भन्दाखेरी एमालेले जनतालाई र केपी ओलीले देशलाई पहिलो प्राथमिकतामा राख्छ’ भन्ने गर्छन् । त्यस्तै, अन्य वाक्यमा पनि उनको भन्दाखेरी आउने गर्छ । उपेन्द्र यादवको थेगो संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पनि आफ्नो छुट्टै थेगो छ । उनले कुनै कार्यक्रममा भाषण गर्दा, अन्तर्वार्ता दिँदा या बैठक वा अन्तक्र्रियामा ‘के त भन्दाखेरि’ भन्ने शब्द बढी प्रयोग गर्ने गर्छन् । त्यससँगै उनी के त नभनी भन्दाखेरि शब्दको प्रयोग पनि उत्तिकै गर्ने गर्छन् । केही समयअघि फायर साइडमा कुरा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारणबारे बोल्दै उनले भनेका छन्, ‘आफैँले गरेको प्रतिबद्धता, आफैँले गरेको हस्ताक्षर, आफैँले गरेको वचनबद्धता, आफैँले देश र जनतासामु चाहेर गरेको के छ भन्दाखेरि प्रतिबद्धतालाई उल्ट्याएर उहाँहरूचाहिँ गर्न सक्नुभएन ।’ यसरी यस सन्दर्भमा जाहेर गरेको पछि उल्लेख गरेको शब्द के छ भन्दाखेरिले कुनै अर्थ लाग्दैन । राजेन्द्र महतोको ‘हाल्छ नि’ र ‘गोबर मट्टी’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ‘भैहाल्छ नि’ र ‘गोबर मट्टी’ भन्ने शब्द बढी प्रयोग गर्छन् । कुनै भाषण गर्दा वा अन्तर्वार्ता दिँदा उनी गोबर मट्टी लाइदिओ भन्छन् । उनीनिकट एक नेताका अनुसार महतो प्रायःजसो भइहाल्छ नि भन्ने शब्द पनि उत्तिकै प्रयोग गर्छन् । अन्य नेताको थेगो रामबहादुर थापा बादल माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल ‘चाहिँ’ शब्दलाई थेगेका रूपमा बढी प्रयोग गर्छन् । क्रान्तिको विषयमा भाषण गर्दा उनी भन्ने गर्छन्, ‘हामी क्रान्ति छाड्दैनौँ चाहिँ, हामी क्रान्ति गछौँ चाहिँ…’ अग्नि सापकोटा माओवादी केन्द्रका नेता अग्नि सापकोटाको थेगो ‘ची’ हो । उनले चाहिँ भन्न खोजेको भए पनि उनको मुखबाट ची शब्द उच्चारण हुन्छ । कुनै विषयलाई गम्भीर रूपमा भन्नुपर्दा उनी भन्ने गर्छन्, यो ची गम्भीर कुरा हो । देव गुरुङ नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङको थेगो ‘चाहिँ’ हो । उनले कुनै भाषण वा अन्तर्वार्ता दिँदा पटक–पटक चाहिँ शब्दलाई दोहर्‍याउने गर्छन् । हितमान शाक्य माओवादी केन्द्रका नेता हितमान शाक्य ‘चाहिँ’ भन्ने शब्द पटक–पटक प्रयोग गरिरहन्छन् । उनले बोल्दै गर्दा बीचबीचमा चाहिँ भन्ने शब्द प्रयोग गर्ने भएकाले यसलाई धेरैले उनको थेगोका रूपमा लिने गरेका छन् । विमलेन्द्र निधि कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिको ‘यी हुन्’ भन्ने थेगो छ । उनी प्रायः सुन्नुस् न भन्ने शब्द पनि प्रयोग गरिरहेका हुन्छन् । पार्टीको उपलब्धिका विषयमा चर्चा गर्नुपर्दा निधिले बोलेको वाक्य यस्तो हुन सक्छ, ‘…सुन्नुस् न, हाम्रो पार्टीले सरकारमा रहेर गरेका यी हुन्, मुख्य उपलब्धि भनेका यी हुन् ।’ कृष्णप्रसाद सिटौला कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको थेगो बुझ्नुपर्ने कुरा हो । कुनै प्रायः भाषणा गर्दा बुझ्नुपर्ने कुरालाई मिसाउँदै उनी भन्छन्, ‘हामी सबैले बुझ्नुपर्ने कुरा मुलुकलाई बुझ्नुपर्ने कुरा…’ शशांक कोइराला कांग्रेस महामन्त्री शशांक कोइराला ‘बिपीसँग सपना थियो, समय थिएन, हामीसँग समय छ, सपना छैन’ भन्ने वाक्य सित्तिमित्ति छुटाउँदैनन् । भाषण गर्दा होस् या कतै अन्तक्र्रिया वा प्रशिक्षणका क्रममा उनले प्रायः यो वाक्य उच्चारण गर्न छुटाउँदैनन् । शेखर कोइराला कांग्रेस नेता शेखर कोइरालाको ‘अब हेर्नुस्’ भन्ने थेगो छ । उनले प्रायः एउटै वाक्यमा कैयौँपटक अब हेर्नुस् प्रयोग गर्छन् । रामशरण महत कांग्रेस नेता रामशरण महतको ‘चाहिने’ भन्ने थेगो छ । उनी यो चाहिने, त्यो चाहिने, खास कुरा चाहिने भन्ने गर्छन् । रामहरि खतिवडा कांग्रेसका युवा नेता रामहरि खतिवडाको ‘धेरै भन्नुछैन’ भन्ने थेगो छ । उनको ‘धेरै भन्नुछैन’ भन्ने अनि भनेको भन्यै गर्ने बानी छ । प्रदीप ज्ञवाली एमाले सचिव प्रदीप ज्ञवालीको थेगो ‘फन्डामेन्टल’ हो । उनी प्रायः भाषण गर्दा होस् या अन्तर्वार्ता दिँदा फन्डामेन्टल शब्दको प्रयोग बढी गर्छन् । प्रदीप गिरि एमाले नेता प्रदीप गिरि ‘त्यसैले त’ भन्ने शब्द प्रयोग गरिरहन्छन् । उनले त्यसैले त प्रयोग गरेर बोल्ने वाक्य यस्तो हुन सक्छ, ‘..त्यसैले त म भन्दिन… त्यसैले त शेरबहादुले कुरा बुझ्दैन…’ दिलनाथ गिरी राप्रपा नेता एवं पर्यटनमन्त्री दिलनाथ गिरी ‘चाइने’ थेगो प्रयोग गर्छन् । के हुन्छ थेगोको अर्थ ? नेताहरूले प्रयोग गर्ने थेगोले खास अर्थ भने दिँदैन । यस्ता शब्दको प्रयोग नगरी भाषण गर्दा वाक्य पूरा हुने भए पनि उनीहरू यी शब्द प्रयोग गरिरहन्छन् । उनीहरूको थेगोमा प्रयोग हुने शब्द न नेपाली शब्दकोशमा भेटिन्छन् न कतै प्रयोगमा नै आएका छन् । भाषण गर्दा वा अन्तर्वार्ताका क्रममा बोलिरहेको शब्दपछि बोल्ने अर्को शब्द नआएपछि नेताहरू प्रायः थेगो प्रयोग गर्ने गर्छन् । थेगोकै कारण उनीहरूलाई हास्यकलाकारले धेरै ठाउँमा उडाउँछन् । क्यारिकेचरमा प्रयोग गरिने शब्द नेताकै थेगोबाट लिइएको हुनाले पनि कतिपय क्यारिकेचरले नेताको झझल्को दिलाउँछ । यसलाई मनन गर्दै केहीले आफूलाई सुधार्ने प्रयास गरेका छन् भने कतिपयको प्रयास व्यर्थै भएको छ  । नेपालपाटीबाट