पथरी/ संविधान घोषणापछि नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ पथरीशनिश्चरे नगरपालिका अन्र्तगतको चौक चौकमा भावी सम्भावित मेयरको उमेद्वारको चर्चा भइरहेको छ।

बिभिन्न चुनौतिको वीचबाट अघि बढिरहेको निर्वाचन कार्यक्रमसँगै नगर–गाउँ पालिकामा सम्भावित नगरको प्रमुख–उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष लगायतको पदहरुमा चर्चा परिचर्चा चलिरहेको छ । यसैक्रममा मोरङको पथरीशनिश्चरे नगरपालिकामा विशेष गरेर नगरको प्रमुखमा आफै नाम घोषणा गर्ने वा अरुलाई चर्चा गर्न लगाउने क्रम बढेको छ ।

नयाँ संरचना अनुसार स्थानीय सरकार प्रमुखको अधिकार बढेपछि मुख्य पदमा आकर्षण पनि बढेको हो । दलका सम्बन्धित तह, राजनीतिक वृतमा पनि उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुभन्दा प्रमुख पदको चर्चा बढी भइरहेको हो ।

पथरीशनिश्चरे नगरपाीका निर्वाचन क्षेत्र नम्बर २ साबिक पथरी, शनिश्चरे र हसन्द गाविस जोडेर बनेको हो । नेकपा एमालेको लाल किल्ला रहेको क्षेत्र नम्बर २ मा पहिलो सबिधान सभाको निर्वाचन बाहेक सबै निर्वाचन नेकपा एमालेले विजय गर्दै आएको छ ।

निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा एमालेको नगर अध्यक्ष रमेश दाहाल, जिल्ला सदस्यहरु किशोर राई,भोला अधिकारी,ताराबहादुर काफ्ले, टंक भण्डारी र धनकुमार तामाङ, अन्य नेता अर्जुन कुढाथोकी, तुलसी ढकाल, युवराज बास्कोटा लागी परेका छन् ।

त्यसैगरी नेपाली काग्रेसका क्षेत्र नम्बर २ को सभापति गणेश खड्का, जय तामाङ,बद्री निरौला र माओवादी केन्द्रका नगर इन्चार्ज दिनानाथ तिम्सिना, सहइन्चार्ज बालकुमार मगर चुनावी अभियानमा लाग्न थालेको बुझिएको छ ।

नगर प्रमुखको लागि प्रतिस्प्रर्धीहरुले समाजिक संजाल फेसबुकमा आफैले वा नजिकको साथि मार्फत दावि गर्न थालेका छन । कतिपय उमेद्वारहरुले भने खुलेरै आफ्नो नाम प्रचारमा ल्याउने प्रयास गरिरहेको बुझिएको छ ।

नगर प्रमुखमा दावेदार व्यक्तिहरु

नेकपा एमालेबाट मोहन तुम्बापो,मोहन न्यौपाने, किशोर राई, युवाराज बास्कोटा‘यज्ञ’,धनकुमार तामाङ,बाबुराम एङ्देन,जीवन खतिवडा र कृष्णा राई छन् ।

नगरमा धेरै चर्चामा रहेको अहिले नाम मोहन तुम्बापो हो । पथरीशनिश्चरे २ निवासी तुम्बापो २०५४ सालमा साविक पथरी गाविस अध्यक्षमा निवार्चित भई प्रमुखको काम गरिसकेको छ । पथरीशनिश्चरे नगर पथरी बजारमा आदिवासीहरुको बाहुल्य रहेकोले नेकपा एमालेले तुम्बापोलाई नै अघि सार्ने एमाले क्षेत्रिय कमिटिले जनाएको छ । अर्का उमेद्वार युवाराज बास्कोटा युवा पंक्तिमा पर्ने भएकोले अवको नेतृत्व युवाहरुको हुनु पर्छ भन्दै अघि सरेको छ ।

एमालेका नगरप्रमुखका आकांक्षी धनकुमार तामाङ राजनीतिसँगै पथरी उद्योग वाणिज्य संघका निर्वाचित अध्यक्ष हुन । एमालेको आठौ जिल्ला सम्मेलनबाट समेत ओली प्यानलबाट जिल्ला सदस्य निर्वाचित भएका हुन । आफूले टिकट पाए निर्वाचन जित्ने बलियो जनधार रहेको तामाङको दावी छ । त्यसैगरी अर्का आकांक्षी अर्जुनकुमार बुढाथोकी पञ्चायत माविका प्रधानाध्यापक हुन् । टिकट पाए विद्यालयबाट प्रधानाध्यापकबाट राजिनामा दिएर उमेद्वार दिने दावि गरे । एमालेका अन्य दावेदार भने राजनीतिकमै सक्रिय छन् ।

नेपाली कांग्रेसबाट

बद्री निरौला,गणेश खाड्का,किरण थापा,पर्शुराम कार्की,माधव कोइराला,जय लामा, माओवादी केन्द्र जहरमान लिम्बू (हालसम्म सर्वसहमत) राष्ट्रिय प्रजातन्त्र पार्टी पुष्पबहादुर चौहान नयाँ शक्ति नेपाल देवराज भण्डारी

स्वतन्त्रः तिलक राई(पूर्व पथरी गाविस अध्यक्ष) र विजय खम्बू

तिलक राई २०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट साविक पथरी गाविस अध्यक्ष पदमा निर्वाचित भएका थिए । संघीय समाजवादी फोरम, लिम्बूवान जन्य संगठनहरुको भने निर्वाचनमा जाने नजाने टुङ्गो नभएको कारण चर्चा कम रहेको छ ।

एमालेले उमेद्वार छनौट कार्यविधि सार्वजनिक गरिसकेको छ । उमेद्वारको लागि सिनियर, निरन्तरता, प्रतिबद्ध, कारबाहीमा नपरेको, स्थानीय स्तरमा लोकप्रिय लगायतको मापदण्ड तोकेको छ । नगर–गाउँपालिका प्रमुख–उपप्रमुख प्रदेश कमिटी, वडा अध्यक्ष र सदस्यहरु जिल्ला कमिटीले निर्णय गर्ने कार्यविधिमा उल्लेख छ ।

त्यसकारण टिकट पाउन प्रमुख–उपप्रमुखको लागि प्रदेशको नेताहरु र वडा अध्यक्षसम्म जिल्लाको नेताहरु खुसी बनाउनु पर्ने बाध्यता भएको छ । पार्टीको स्थानीय तहमा बहुमत भएपनि प्रदेश नेताको नजरमा नपरे उमेद्वार बन्न नसक्ने भएको छ । कांग्रेस, माओवादी केन्द्र लगायतका अन्य दलले भने कार्यविधि बनाइसकेको छैन ।

पथरीशनिश्चरे नगरमा २०६८ सालको जनगणना अनुसार १९ हजार ९५६ घर परिवारमा ६२ हजार ४४० जनसंख्या बसोबास गर्छन । निर्वाचन आयोगको रेकर्डमा यस नगरमा ४० हजार ५५५ मतदाता रहेका छन् । नगरमा १० वटा वडामा विभाजन भएको छ । नगरपालिले ७९.८१ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ ।

मधेसी मोर्चाको विरोध, निर्वाचन आयोगले संविधानसँग बाझिने राष्ट्रिय प्रजातन्त्र पार्टीको हिन्दू राष्ट्र—राजतन्त्र सहितको प्रजातन्त्र निर्वाचन आयोग विधानबाट हटाइदिएपछिको आन्दोलन र पछिल्लो समयमा ३ प्रतिशत थ्रेसहोल्ड लगाउने विधेक पारित भएपछि साना दलहरु भेला बैठक लगायतको स्थानीय तहको निर्वाचन चुनौतिको साथ अघि बढिरहेका छन ।

सरकारले बैशाख ३१ गते नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचनको मिति तोके पनि थ्रेसहोल्ड, मधेसी मोर्चाको प्रदेसको सीमाना हेरफेर लगायतको अडान र सरकारमै रहेका राप्रपाको विधान समस्य लगायतको चुनौती उत्तिकै छ । विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बहिस्कारको नीति लिएको छ ।