चेलीबेटी बेचबिखन अभियानविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन हुन गइरहेको थियो । यो तीन दिने कार्यक्रमको उद्घाटनका लागि गृहमन्त्रीलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो । पानसमा बत्ती बालिसकेपछि आशन ग्रहण गरेका उनलाई मन्तब्यका लागि कार्यक्रम उदघोषकले पुनः आमन्त्रित गरे ।

गृहमन्त्री अर्थात् कार्यक्रमका प्रमुख अतिथिको भासण : “उपस्थित ….ज्यू । ……ज्यू ……ज्यू । साथै सम्पूर्ण माहानुभावहरु । चाइनेजो, यस्तो माहान कार्यक्रममा प्रमुख अतिथिको निम्तो ग्रहण गर्न पाउँदा आफूलाई गौरवबोध भइ रहेको छ । चाइनेजो, चेलिबेटी बेचबिखन भनेको जघन्य अपराघ हो । कुनै पनि चेलिबेटी बेच्नुअघि के सोच्नुपर्छ भने यो चेली मेरी आमा, दिदीबहिनी या श्रीमतीजस्तै अरु कसैको पनि विशेष मान्छे हो । आफूलाई त्यो पीडा हुँदा कस्तो महसुस हुन्छ ? अरुलाई पनि त्यस्तै हुन्छ भन्ने कुराको हेक्का राख्नु पर्छ ।

चेलीबेटी बेचबिखन गर्ने अपराधीलाई कडाभन्दा कडा कानुनको व्यवस्था गर्दै छौँ हामी । एक्कासि उनका आँखा दर्शकदीर्घामा बसेकी रविनाका आँखासँग ठोक्किन पुगे । उनलाई त्यो केटी चिरपरिचितझैँ लाग्यो । ठम्याउने कोसिस गरे तर ठम्याउन भने सकेनन् । चाइनेजो, चाइनेजो.. प्रमुख अतिथिले थेगो मात्रै बारम्बार दोहोर्याए । मन्तव्य दिँदादिँदै उनको आवाज बस्यो । पसिनाले निथ्रुक्कै भिजे उनी । कार्यक्रम उद्घोषकले दिएको एक बोतल पानी एकै सासमा पिए । आफूलाई सम्यमित बनाउँदै मन्तव्य टुङ्याउने बिचारमा लागे । “हेर्नुस्, अब चाँडै नै महिला तथा बालिका बेचबिखन, बलात्कार, हत्या हिंसाको निर्मूल हुने छ । मैले व्यक्तिगत रुपमा पनि महिला बेचबिखनविरुद्ध आवाज उठाउँदै आएको छु । तपाईंहरु हामीलाई साथ दिनुस् । यदि हामी परस्त्रीगामी नहुने हो र सबै नारी जातिलाई इज्जतले हेर्ने हो भने महिला बेचबिखन आफै निर्मूल हुनेछ । चाइनेजो, केही गर्नै पर्दैन ।” बेलाबेला रविनालाई पनि छड्के आँखाले हेर्दै थिए उनी । निकै भयो अहिले चाहिँ उनले रविनालाई देखेनन् । लामो शान्तिको श्वास फेरे उनले एकफेर अनि उच्च आवाजमा पुनः आफ्नो मन्तव्य जारी राख्न खोजे ।

“म के भन्दै थेँ रे ? अँ चाइनेजो, सबै नारीलाई इज्जतले हेर्नुपर्छ । परस्त्रीगमन गर्नु हँुदैन । परस्त्रीगमन गर्ने पुरुषकी जाहान खुसी र सुखी हुन्नन् । चाइनेजो, अब हामी… । रविना एक्कासि स्टेजमा बोल्दै आएको देखेर अवाक बने उनी । म माफी चाहान्छु ।

नमस्कार ! म रविना । हनिमुन मनाउन जाने बाहानामा आफ्नै लोग्नेद्वारा भारतमा बेचिएकी नारी हुँ म । मलाई कसैले त्यहाँबाट निकालेको होइन । म आफै भाग्न सफल भएकी हुँ । मेरो कथा लामो छ । बीचमा बोल्न किन र कसरी आई यो आइमाई भनेर यहाँहरुलाई कुतुहल जागिरहेको होला । नेताज्यूको भाषण सुनिरहँदा मेरो रगत उम्लियो । यहाँबाट जान खोजेँ तर अन्तर्मनले मनले भन्यो– “वास्तविक कुरो खोल्ने यो उचित मौका हो रविना । नेताजीहरु भाषण गरिरहन्छन्, यो गर्छु त्यो गर्छु भनेर । अहिले भर्खरै पनि हाम्रा गृहमन्त्रीज्यूले भन्नुभयो– सबै नारीलाई इज्जत गर्नुपर्छ । परस्त्रीगमन गर्नु हुँदैन । अनि चेलिबेटी बेचबिखन आफै निर्मूल हुन्छ ।” रविनाले यति भनिरहदा गृहमन्त्रीको अनुहार साच्चिकै हेर्न लायक थियो ।

हात्तीका दुई प्रकारका दाँत हुन्छन्, देखाउने र चपाउने । हो, हाम्रा नेता भनेका हात्तीका बाहिरी दाँत हुन् । उहाँहरुको भित्री रुप त अर्कै छ ।

हाम्रा हरेक नेताको विदेश भ्रमण विदेश भ्रमण मात्र नभएर वेश्यालय भ्रमण पनि हुने गरेको छ । अस्ति भर्खरैको भारत भ्रमणमा उहाँ मेरो ग्राहक हुनुहुन्थ्यो । गृहमन्त्रीज्यूलाई मेरो प्रश्न छ, के तपाईंकी घरवाली सुखी अनि खुसी होलिन् त ? के तपाईंहरुको यस्तो दुई जिब्रे भाषणले चेलीबेटी बेचबिखन निर्मूल हुन्छ त ?