di‘अन्तत: शैलु दिदीको मृत्यु भयो ।’ शम्भुले गहभरि आँसु पार्दै भने । मलाई (म भनेको कथाकार) शैलु दिदीको मृत्युको खबरमा एकप्रकारको नमीठो पीडा त अघिदेखि छँदै थियो फेरि शम्भुको शोकमग्न भावमुद्राले असाध्यै दु:खी बनायो । शम्भु मेरो हितैषी मित्र हो । शम्भु शैलु दिदीको असामयिक निधनले निकै मर्माहत थियो । उसको सानो घरपरिवार छ । ऊ कसैको लोग्ने हो, कसैको पिता र कसैको पुत्र हो । राजधानीको रैथाने शम्भुलाई एकसरो लाउन–खान समस्या पनि छैन । उसका साथीहरू पनि प्रशस्त छन् । उनीहरू सहरमा आ–आफ्नो पेसामा रमेका छन् । ऊ पनि सहरमा रमेको थियो । उसले चाहेजति पढ्न सकेन । त्यतिबेला पनि काठमाडौंमा घरैपिछे प्लस टु र टोलैपिच्छे क्याम्पसहरू थिए ।
  ‘शिक्षालय भएर के गर्नु मानिसलाई पढ्न नआएपछि कसको के लाग्छ र ?’ शम्भुले भन्यो । उसका बा सहरमा मजदुर थिए । उसका बाले शम्भुलाई वकिल बनाउन चाहेका थिए तर शम्भुले उक्त चाहना पूरा गर्न सकेन । उसलाई आज शैलु दिदीको मृत्युको खबरले आफ्ना दिवंगत बाबुको सपनाले फेरि कलेजोमा तीखो गरी प्रहार गरिरहेछ । बाबुले उसको आँखाबाट संसार हेर्ने प्रयास गरेका थिए । ऊ शैलु दिदीको सहयोगबाट आफ्नो छोरा इन्जिनियर बन्ने सपना देखिरहेको छ तर दुवै सपनाका महलमा नराम्रो हुरी आयो र ती सिसाझैं फुटे । उसका बाका सपना त तुहिए–तुहिए, अब उसको सपनामा पनि तुषारापात भयो ।   शम्भुले भनेको थियो–‘उसको शैलु दिदीसँग पचपन्न सालमा मित्रपार्कनेर भेट भएको रहेछ । शैलु दिदी त्यतिखेर मन्त्री हुनुहुन्थ्यो ।’ उसले शैलु दिदीसँग भएको अप्रत्याशित भेटका सम्बन्धमा बताएको थियो–‘पचपन्न सालतिरको कुरा हो । म एकजना साथीसँग मित्रपार्कतर्फ जाँदै थिएँ । मित्रपार्कबाट एउटा झन्डावाल गाडी निस्कदै थियो । गाडीभित्रकी महिलालाई देखेर मैले साथीसँग सोधें । ‘उहाँ शैलजा आचार्य होइन ?’ उसले ‘हो’ भन्यो । मैले सोधें–‘म उहाँलाई नमस्ते गर्न सक्छु ?’ साथीले टाउको हल्लाएपछि सुरक्षाकर्मीहरूलाई पन्छाउँदै नजिकै गएर ‘मन्त्रीज्यू, नमस्कार’ भनें । उहाँले पनि ‘नमस्कार’ भन्नुभयो । त्यसबेला उहाँ उप–प्रधानमन्त्री हुनुहुन्थ्यो ।   पार्टीका नेता र मन्त्रीहरूले साधारण मान्छेसँग कुरै गर्दैनन्, नमस्ते नै फर्काउँदैनन् भन्ने सुनेको थिएँ तर शैलजालाई मैले सुनेभन्दा बेग्लै पाएँ । उहाँको नाम मैले रेडियो र टिभीमा धेरै पहिलेदेखि सुन्दै आएको हुँ । उहाँ कस्ती हुनुहोला भन्ने खुल्दुली पनि थियो तर त्यस दिनपछि म उहाँको प्रशंसक बनें ।’ यति भनिसक्दा पनि शम्भुका आँखाबाट आँसु झर्न खोज्दै थिए तर पनि उसले आँसुलाई बल गरेर आँखैमा दबायो । शम्भुले फेरि अर्को दिन बतायो–‘उप–प्रधानमन्त्रीबाट हटेपछि उहाँका ड्राइभर मेरा काकाका छोरा लक्ष्मण हुनुहुन्थ्यो । उहाँलाई दिदीले अन्तै जागिर लगाइदिनुभएछ तर मलाई थाहा थिएन । त्यतिबेला म आफ्नै ट्याक्सी चलाउँथे । मलाई आफ्नै संसारमा फुर्सद थिएन । मैले उहाँलाई बिर्सिएको थिएँ । सहरमा यस्ता मानिस कति छन् कति ? तिनीहरूसँगको भेटलाई सधैं सम्झिरहन पनि त सकिँदैन ।’ उसले फेरि बतायो–‘एकदिन लक्ष्मण दाइले मलाई बिहानै आफ्नो घर बोलाउनुभयो । म गएपछि उहाँले ‘दिदीको घरमा जाऊँ’ भन्नुभयो । दिदीलाई ड्राइभर चाहिएको रहेछ । मलाई दिदीको घर गएपछि मात्र थाहा भयो । दाइले मलाई चिनाउँदै भन्नुभयो–‘यो मेरो भाइ हो, अब यसले गाडी चलाउँछ ।’ यसरी म दिदीको घर र गाडीसम्म पुगेको थिएँ ।   मैले काम गर्न थालेकै अर्को दिन दिदीले मलाई ‘हामी बीस–पच्चीस दिनलाई बाहिर जाँदैछौं’ भन्नुभयो । मैले आफू काठमाडौं बाहिर नगएको कुरा उहाँलाई बताएँ । पछि थाहा भयो उहाँ जिल्ला भ्रमणमा जान लाग्नुभएको रहेछ । अर्कै ड्राइभरले दिदीलाई जिल्लाबाहिर लग्यो । कार्यक्रम सकिएपछि उहाँ राजधानी फर्कनुभयो । म बिहान सबेरै जान्थें र राति गाडीलाई थन्क्याएर घर फर्कन्थें । एकदिन दिदीले भन्नुभयो–तिमीलाई अप्ठ्यारो भए यहीँ बस ।’ पछि म दिदीको घरमै बसें । दिदी कम बोल्नुहुन्थ्यो । एकदिन उहाँले मलाई आफ्ना बारेमा सोध्नुभयो मैले नढाँटी भनें–‘मेरो विवाह भैसकेको छ । दुईजना छोराछोरी छन् ।’ दिदी असाध्यै हक्की र स्वाभिमानी हुनुहुँदो रहेछ । नेपालको राजनीतिमा यस्ती हक्की, स्पष्टवक्ता र निडर मानिस त्यसमा पनि महिला नेतृ मैले देखेको छैन ।   मेरो चुरोट खाने बानी थाहा पाएर उहाँकी आमा इन्दिराले निकै नराम्रो मान्नुभयो तर दिदीले ‘खाने भए खाऊ तर पछाडिको कोठामा ढोका लगाएर खाऊ’ भन्दा उहाँकी आमाले उहाँलाई एकपटक गाली गर्नुभयो । त्यो गालीले मलाई नराम्रो चोट पुर्‍याएपछि मैले चुरोट खान छाडिदिएँ । मलाई निकै दिनसम्म पनि मेरा लागि शैलु दिदीले गाली खाएको कताकता मन परेन । दिनहरू त्यसरी बित्दै गए । मैले दिदीको राम्रोसँग सेवा गरेको थिएँ । एकपटक दिदीकी आमा बिरामी हुनुभयो । त्यतिबेला मैले मेरी श्रीमतीलाई उहाँकी आमाको हेरचाहमा पठाइदिएँ । त्यसपछि मेरी श्रीमती पनि त्यो घरकी सदस्य भइन् । कहिलेकाहीँ मेरा छोराछोरीहरू पनि दिदीको घर जान्थे अनि उहाँ मेरा छोराछोरीसँग गफ गर्नुहुन्थ्यो । मेरो छोराको पढाइ राम्रो भएकाले एकपटक दिदीले नै कुरा उप्काउनुभयो–‘यसलाई राम्रोसँग एसएलसी पास गराऊ । म आफ्नै खर्चले इन्जिनियर पढाइदिन्छु ।’ त्यसो भन्दा दिदीका आँखामा मैले भरोसाको भाव देखेको थिएँ ।   आज उहाँ असमयमै हामीलाई चटक्क छाडेर जाँदा आफ्नै अभिभावक गुमाएजस्तै लागिरहेछ । कतिपय मानिस त उहाँको प्रगति देखेर डाह गर्थे । खासगरी आफ्नै राजनीतिक पार्टीका सहकर्मीहरूलाई उहाँको भ्रष्टाचार विरोधी प्रवृत्ति उतिसारो मन परेको थिएन । एकपटक दिदीले मलाई भन्नुभएको थियो–‘अब म सानुबाबुलाई भनेर भारतको राजदूतमा जान्छु । ‘शम्भु तिमी पनि मसँग जानुपर्छ ।’ दिदीले त्यसोभन्दा मैले कुनै प्रतिक्रिया जनाइन । पछि मैले सुस्तरी भनेको थिएँ–‘म त जान्न होला दिदी, तर हजुरको सेवा गर्न मेरी श्रीमती पठाउँछु ।’   दिदीले केही भन्नुभएन, सुनिरहनुभयो । उहाँ आफ्नो तर्कमा अडिनुहुन्थ्यो । कसैले उहाँको अन्तर्मनको आवाजलाई सुनेन भने उहाँ जस्तोसुकै निर्णय लिन पनि पछि पर्नुहुन्नथ्यो । जलस्रोत मन्त्री हुँदाको घटना रमाइलो छ । दिदी ठूला प्रोजेक्टको विरोधी हुनुहुन्थ्यो । उहाँ यस्ता विदेशी आयोजना गरिब देशले थेग्न नसक्ने भएकाले हामीले थोरै लगानीमा निर्माण गर्न सकिने साना जल विद्युत्मा लगानी गर्नुपर्छ भन्नुहुन्थ्यो । म त त्यस्ता नीतिगत कुरा बुझ्दिनथेँ तर बुझ्ने मानिसहरूले भनेको सुनेको छु । दिदीकै अडानका कारण साना जलविद्युत् नीति सरकारले बाध्य भएर पारित गराएको थियो । केही समयअघि उहाँ कृषि मन्त्री हुँदा पनि मलको व्यापारमा हुने घोटालाका विरुद्धमा लाग्नुभएको थियो तर सरकार नै माफियाहरूलाई संरक्षण दिने भएकाले दिदी असफल हुनुभयो रे !मुख्य कुरा त दिदी आफूलाई कसैले महिला भनेर कठैबरा भनी सान्त्वना दिएको पटक्कै मन पराउनुहुन्नथ्यो । उहाँ आफू महिला भएर कसैको माया पाउनकै लागि मोरमोलाहिजा गर्न चाहनुहुन्नथ्यो । एक दशकको मेरो सेवामा उहाँले मलाई निकै शिक्षा दिएर जानुभएको छ । आफू जुनसुकै कार्यक्रममा जाँदा पनि उहाँ पहिले हामी सवारी चालकलाई खानपानको व्यवस्था गराएर मात्र आफू खानुहुन्थ्यो ।   उहाँ जे हुनुहुन्थ्यो त्यो छवि बाहिर देखिँदैनथ्यो । बाहिर देखिएको व्यक्तित्व आन्तरिक रूपमा थिएन । कहिलेकाहीँ मलाई उहाँको यस्तो विरोधाभाषपूर्ण व्यक्तित्व निकै गूढ लाग्थ्यो तर मसँग त्यस्तो प्रवृत्तिको विश्लेषण गर्ने क्षमता थिएन । एकपटक म निकै बिरामी भएँ । मसँग औषधि गर्ने पैसा पनि थिएन । दिदीले नै ओम नर्सिङ होममा मेरो उपचार गराइदिनुभयो । एकप्रकारले भन्ने हो भने उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो । आज उहाँ बित्नुभएको भन्ने कुरा यो मनले स्वीकार गर्नै चाहिरहेको छैन । हुन त कतिपय मानिस उहाँको मृत्युबाट पनि खुसी भएका होलान् । अझ खासगरी कोइराला परिवारका लागि उहाँ बाटोको काँडा नै हुनु भएको मान्थे–तिनीहरू ।   मेरो सोचमा दिदी त्यस्ती खालकी पटक्कै हुनुहुन्नथ्यो । आफ्नो उन्नति आफैँ गर्ने स्वभावकी र चाकरी–चाप्लुसी नगर्ने भएकैले उहाँ नेपाली राजनीतिको पछिल्लो समयमा निकै पाखा लगाइनुभयो । यो उहाँको जीवनको अर्कै पाटो हुनसक्छ । आज सबैभन्दा चिन्ता मलाई र मेरो छोरा सुयशलाई परेको छ । ऊ अहिले एसएलसी डिस्टिङ्सनमा उत्तीर्ण भएर बाह्र कक्षा पढ्दैछ । उसको एउटा इन्जिनियर हुने सपना अब कहिल्यै पूरा नहुने भएको छ । म उसलाई उसले भनेको विषय पढाउन सक्दिन । उसले त्यही कुरा बुझेकाले हिजोआज ऊ निकै स्याड मुडमा छ ।   दिदी मरेको दिन ऊ त्यसरी भक्कानिएर रोला भन्ने मैले सोचेकै थिइन । उसका बा–आमा हामी छँदै थियौं । उसको त त्यही सपना चुँडिएको थियो तर उसले देखाएको चिन्ता र उत्तेजनाले मलाई पनि त्यसदिन भित्रैदेखि हुँडलो मच्चाइदियो । म पनि गहभरि आँसु पारेर झोक्राइरहें । आर्यघाटमा उहाँको चिता जलिरहँदा मेरो मनमा अनेकौं भावनाले पिङ खेलिरहेका थिए । यो हाम्रो समाज कस्तो जगमा उभिएको होला ? एउटा स्वाभिमानी मानिसलाई आफ्नो अन्तरात्माको आवाज सुनेर काम गर्न पनि दिँदैन । कसरी हुन्छ यहाँको सामाजिक उन्नति ? म सामान्य चालक भए पनि उहाँको करिब एक दसकको संगतले गर्दा यस्ता कुराहरू पनि सोच्न सक्ने भैसकेको रहेछु ।   दिदी गम्भीरताकी धनी हुनुहुन्थ्यो । लामो यात्रामा गएका बेला वा जिल्ला भ्रमणमा उहाँ प्राय: गाडीको अगाडिको सिटमा बस्नुहुन्थ्यो । म आराम गरेरै पछाडिको सिटमा बस्न अनुरोध गर्थें तर उहाँ भन्नुहुन्थ्यो–‘अगाडिको सिटमा बस्ने मानिस निदायो भने चालकलाई पनि निद्रा लाग्छ । त्यसैले तिमीलाई ननिदाउने बनाउन म अगाडि बसेकी हुँ ।’ म दिदीको यस्तो कुरा काट्न पनि सक्दिनथें । हो, हामी चालकलाई त्यस्तो फिलिङ् हुन्छ पनि । ‘आज मै उपर.....आसमा निचे......’ भन्ने हिन्दी गीत दिदीलाई निकै मन पथ्र्यो । त्यतिमात्र कहाँ हो र उहाँ हिन्दीका मुकेश, किशोरकुमार र मन्नाडेका उदासी भरिएका गीतलाई दोहोर्‍याई–तेहर्‍याई सुन्नुहुन्थ्यो । उहाँले आफूले सांसद हुँदा पाएको सुविधाको पैसाबाट ललितपुरको भंैसेपाटीमा चारकोठाको घर बनाउन सुरु गर्नुभएको थियो तर त्यो पूरा हुन नसकेपछि आफ्नी बहिनी मधुलिकाकी छोरीलाई नामसारी गरिदिनुभएको थियो । निकै अघि उहाँका भाइबुहारीले उहाँलाई आमाले दिएको अंशमा झमेला थप्न अंश मुद्दासमेत दिएका थिए । त्यसपछि दिदी ट्रेड युनियनका नेता लक्ष्मण बस्नेतले मित्रपार्कमा दिएको एउटा घरको फ्ल्याटमा बस्न थाल्नुभयो । उहाँले आमा इन्दिरालाई पाल्नुभएको थियो । बीचमा उहाँले अघोर पन्थी बाबाबाट दीक्षा लिएर पोखरामा अघोर आश्रम बनाउन थाल्नुभएको थियो । त्यो काम पनि पैसाको अभावमा त्यत्तिकै तुहियो । दिदीले आफ्ना लागि भन्दा सामान्य मान्छे र दु:खीलाई सहयोग गरेको कुरा राजनीति गर्नेहरूलाई पचेन । यसरी दिदी गुमनाम हुन पुग्नुभयो । उहाँको मृत्युको कारण उहाँको आफ्नै स्वाभिमान रहेछ । मैले चालक भएर बुझेको गुह्य यही हो । शम्भुले यसरी शैलु दिदीका व्यक्तिगत एवं सामाजिक इच्छाहरूको लामो फेहरिस्त मेरासामु प्रस्तुत गर्दा मेरा आँखाबाट आँसु रसाए ......।नारिबाट