भरौल (सुनसरी)/जस्को लागि सातवर्ष आगन परदेश बन्यो । आधा मृत र आधा जीवित शरीर लिएर अध्यारो कोठामा ७ वर्ष ओछ्यानमै गुजारे । अध्यारो कोठामा सात वर्ष बिताउँदा सुनसरी भरौल–३ मिलनचौकका रामकुमार तिवारीको परिचय लगभग समाप्त भयो । ram   त्यही हराएको परिचय फेरि खोतल्ने प्रयासमा जुटेका छन् चित्रकलामार्फत् उनी । केराको सुकेको दाम्चालाई कैची र ब्लेडको सहायताले चित्रमा ढाल्छन् उनी । तीनवर्षदेखि चित्रमा होमिएका तिवारीको परिचय मात्रै हैन, ‘जीवन जिउने उत्प्रेरणा’ बनेको छ । सातवर्ष ओछ्यानको ओछ्यानमै बिताएका ती क्षणहरु भुल्ने साधन बनाएका छन् । नेपालमै सायद पहिलो हुनसक्छन् उनी । केराको सुकेको दाम्चामार्फत् सुन्दर चित्र बनाउने चित्रकारमा । यो चित्र बनाउन सिकाउने दधिवाल चापागाईले नेपालमा केराको दाम्चाबाट चित्र बनाउनेहरु नभएको उनी बताउँछन् । ‘नेपालमा कहीँ पनि बन्दैन भनेर सरले भन्नुभयो ।, सिकेकाले पनि यसरी बनाएका छैनन् ।’ उनी भन्छन् । २०७० सालमा लिएको तालिमले उनलाई जिउने उर्जामात्रै प्रदान गरेको छैन्, फरक क्षमताहरुको लागि प्रेरणाको स्रोत बन्ने ध्याउन्नमा लागेका छन् । समता आमा समूहमार्फत् उनले यो तालिम पाए । आमा समूहले चक बनाउने, अगरवत्ति बनाउने तालिम दियो । तर, उनको शरीरले त्यो तालिम अनुसार थेग्न सकेन् । तेस्रो पटक पाएको तालिमले भने उनलाई जीवन जिउने बरदान सावित बनिदियो । तालिम लिने मध्येमा उनी उत्कृष्टसमेत बने । उनलाई घरमै तालिमको व्यवस्था गरिएको थियो । तालिम लिएको एकवर्षपछि करिव ७० हजार रुपैयाको लागतमा आरके कटिङ एण्ड आर्टस् ग्यालरी नामक पसल नै खोलेका छन् । हालसम्म १ हजार बढी चित्र बनाइसकेका उनले ३ सय भन्दा बढी चित्रहरु बिक्री गरिसकेका छन् । उनलाई यो स्थानमा ल्याउन इटलीका सिस्टर लैला र इटलीकै फिजियोथेरापिष्ट आदेलो निग्रोको मूख्य भूमिका छ । जसले उनलाई ओछ्यानमै रहेका समयमा दुई महिना थेरापी दिइन् । त्यही थेरापीले उनी ह्विलचियरमा बस्ने क्षमता विकास गरिदियो । ‘जिन्दगी यति नै हो भनेर सोच्ने मलाई उनीहरुले थेरापी दिँदा जीवन सुरु भएको भनेर भन्नुहुन्थ्यो । बाँच्ने उर्जा दिनुहुन्थ्यो ।’ उनी भन्छन् । [caption id="attachment_22720" align="alignnone" width="960"] आफ्नो चित्र देखाउँदै फरक क्षमताका रामकुमार । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ
आफ्नो चित्र देखाउँदै फरक क्षमताका रामकुमार । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] सातवर्षदेखि आगन नदेखेका उनलाई त्यही थेरापीले आगनसम्म आउने बनायो । ‘भित्रै धेरै वर्ष बसेकाले बाहिर जान मन नलाग्ने, भित्रै रमाउने थालेको थिएँ ।’ उनले थपे । थेरापीले जीवन जिउन सिकायो । तालिम लिन सक्ने भए । तिनै लैला र आदेलाको सहयोगमा धेरै चित्रहरु बिक्री गरे । एकपटकमा २८ हजारसम्मको चित्र बेचे । अझै पनि उनी ढेडदेखि २ घण्टा भन्दा माथि ह्विलचियरमा बस्न सक्दैनन् । जति बस्छन् त्यही समयमा उनी चित्रको लागि सामग्री भेला पार्छन्, काट्छन् । तालिमको पूर्वाद्धमा उनले एउटा चित्र भन्दा बढी काट्न सकेनन् । तर, अहिले ३ वटासम्म चित्र काट्छन् । उनलाई चित्र काट्न भन्दा कागजमा टाँस्न समस्या हुन्छ । भन्छन्, ‘काट्न समस्या हुँदैन् । तर, काटेको चित्रलाई कागजमा मिनेटभरमै टाँसीसक्नु पर्छ । यताउता भयो भने चित्रको स्वरुप नै बिग्रन्छ ।’ उनले अहिले जिसस क्राइष्ट, भगवान बुद्ध, लक्ष्मी, सरस्वती, गणेशलगायत विभिन्न मन्दिर, जंगली जनवारको चित्रहरु काट्छन् । फेसबुकमा मनपरेका चित्रहरु कपीमा उर्ताछन् । अनी त्यसलाई काट्छन् । उनको छाती भन्दा मुनीको भाग मृत छ भने माथिको भागमात्रै जिवित छ । उनी भन्छन्, ‘आधा मरेको आधा बाँचेको मान्छे हुँ म । (छाती देखाउँदै) यो भन्दा मुनी काट्दा पनि दुख्दैन ।’ आखिर उनी जन्मदै यस्ता थिए कि त्यसपछि भन्ने जिज्ञासामा उनले भने, ‘भारतमा मजदुरी गर्दाको समयमा करेन्ट लागेर उनको स्पाइनल कर्डले काम गरेन् । त्यो घटना २०६२ सालतिरको हो । करेन्ट लागेर फ्याक्दा उनको टाउँको बजारियो । ६ महिना शरीर नै चलेन । ६ महिनापछि टाउँको हल्का चल्न थाल्यो । ओछ्यानको ओछ्यान नै जीवनका ११ वर्ष बित्न लाग्यो । तर, २०७० मा पाएको तालिमले उनलाई उर्जा थप्यो । र, अहिले सोच्छन् मेरो लागि यही चित्र नै परिचय रहेछ । उनी अन्य अपाङ्गहरुको लागि प्रेरणाको स्रोत बन्न चाहान्छन् । त्यसैले पुस्तकको तयारीमा लागेका छन् । १० कक्षासम्म पढेका उनले अपाङ्गता भएकाहरुलाई आत्मविश्वास बढाउन किताव लेख्न लागेको बताए । सातवर्ष अन्धकारमा ओछ्यानको ओछ्यानमै बिताउँदाको क्षणपछि बदलिएको जीवनलाई आफूजस्तै शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई देखाउन चाहान्छन् । भन्छन्, ‘म मरेर जाँदा यो काम मरेर नजाओस् । म जस्तै अरुले पनि आफूले सक्ने काम गरेर देखाउँन ।’ अपाङ्गता भएकाहरुलाई हेर्ने पारिवारिक, सामाजिक दृष्टिकोणहरु फरक होस् भन्नका लागि पनि उनी किताव लेख्ने सोचमा छन् । अपाङ्गता भएपछि उनले आफ्नो परिवारमा पनि दुःखको सामाना गरे । त्यो पीडा सायद उनी कितावमार्फत् पोख्न चाहान्छन् । २४ वर्षको लक्का जवान हुँदा उनी करेन्टको शिकार भए । र, उनको दुःखका दिन सुरु भए । तर, अहिले त्यो दुःखका दिनहरु बिस्तारै भरिदै गएका छन् । अहिले आफै कमाउन सक्ने भएका छन् । ‘सातवर्ष ओछ्यानमा सुत्दा भन्दा अहिले केही छ । छोरी पढाइरहेको छु ।’ उनी भन्छन्, ‘आवश्यक सामान किन्न कसैसँग हात फैलाइरहनुपर्दैन ।’ उनलाई यो काम गरेर पैसा भन्दा पनि हराएको परिचय फिजाउन पाएकोमा गर्व गर्छन् ।