निताले बिहानै उठ्नासाथ झ्यालबाट बाहिर हेरिन्। सबैतिर उजाड छ। एकदुईवटा चराहरु चिरविर चिरविर गदैछन्। केहीदिनदेखि शरीर गलेको महसुस हुदैंछ उनलाई। नितेशसंगको सम्बन्ध तोडिएदेखि झन् तनाव ग्रस्त छिन् उनी। घडीतिर हेरिन् । कति छिटो दश बजिसकेछ। हतार –हतार गरेर काममा दौडिन्। विदेशको ठाउँ काम नगरी कसरी ज्यान पाल्नु? नितेशसंगको दश वर्षको सम्बन्ध टुट्न दश मिनेटपनि लागेन। यो सम्बन्ध भन्ने कुरापनि कति अचम्मको हुँदोरहेछ। कति छिटो टुट्ने कति छिटो जोडिने। नितेश र निताले सँगै बाँच्ने र सँगै मर्ने कÞसम खाएका थिए।
दुबैजनाले सँगै सफलताको सिँढी चढे। सँगै अस्ट्रेलिया पुगे। तर अस्ट्रेलिया पुगेको एक वर्षपछि नितेश एकाएक सम्पर्क्विहिन भयो । निताको अस्ट्रेलियामा नितेशबाहेक आफ्नो भन्ने कोही थिएन। नितेश सम्पन्न परिवारको छोरा। निता सामान्य परिवारको छोरी। यति हुँदाहँुदैपनि सुरुका दिनमा उनीहरुबिच सम्पन्नता र विपन्नताको कुरा कहिल्यै आएन तर जब देश परिवर्तन भयो तब नितेशको मन परिवर्तन भयो। निताले धेरै दुख देखेकी थिइन् सानैदेखि। सानैमा नराम्रोसँग बिरामी परिन् तर भाग्यको खेल उनले मृत्युलाई जितेरै छोडिन्। पढाइमा र घरव्यावहारमा व्यस्त निताको मन त्योभन्दा बाहिर कहिल्यै गएन । साथीसँग घुम्ने धेरै पैसा खर्च गर्ने, उनको अपवादमा पर्थ्यो । आफ्नो लगन र मेहेनतका कारणनै उनले अस्ट्रेलियामा छात्रवृत्तिमा प्ढने सौभाग्य प्राप्त गरिन्। त्यसो त नितेशपनि पढाइमा अब्बल थियो । फरक यति मात्रै हो। नितेशले राम्रो र महँगो विद्यालयबाट शिक्षा हासिल ग¥यो तर निताले सामान्य विद्यालयबाट।
आखिरमा दुवैको गन्तव्य एउटै निस्कियो ,अस्ट्रेलिया। निता र नितेश अस्ट्रेलिया गएको पनि पाँच वर्ष भईसकेछ ।पाँच वर्षमा धेरै परिवर्तन आयो। निताले पढाइमा उत्तिकै सफलता प्राप्त गरिन् । पढाई पूरा गरेर ’पी.आर’ समेत लिईन्। पढाई नसकी नेपाल नजाने प्रण गरेकी थिइन् उनले। एक्लो जीवन कति संघर्षशील हुन्थ्यो भन्ने कुराको राम्रो ज्ञान थियो नितालाई तर मेहेतनको फल सधैँ मिठो हुन्छ भन्ने पनि उनले राम्ररी बुझेकी थिइन् । नितालाई कहिलेकाहि नराम्रोसंग नितेशको यादले सताउँथ्यो । नितेशसंग बिताएका पलहरू आखा अगाडि नाचिरहन्थ्यो। उनले धेरै पटक नितेशलाई सम्पर्क गर्न खोजिन् तर नितेशको फोन सधैँ स्विचअफ हुन्थ्यो। समयसँगै सम्झनाका घाउहरु पुरिदैं जान्छन् रे। निताको घाउ समयसंगै निको हुदैं गयो। निता काममा धेरै व्यस्त हुन थालिन्।काम र घर उनको दैनिकी बनीसकेको थियो। त्यो बाहेक उनी बिरलै घुम्न जान्थिन्। कहिलेकाहि कामबाट छिट्टो फुर्सद पाउँदा नजिकैको समुन्द्रको किनारामा गएर समय बिताउँथिन् । दसैँ आउनै लागेको थियो। यो दसैँ उनलाई नेपालमा मनाउन मन लाग्यो। उनले ल्यापटप खोलेर दशैंमा घर जानको लागि टिकट बुक गराइन् । कताकता मन प्रसन्न भयो। पाँच वर्षपछि उनी आफ्नो परिवारसँग भेट्दै थिइन्। घर जान अझै तिन हप्ता बाकी थियो निताको । हरेक बिहान उषाको लालित्यसंगै उनको उमंग बढ्दै जान्थ्यो। एक साँझ निता रेलमा कामबाट फर्कदै थिइन्। रेलमा बस्दा होस् वा कुनै खालि समयउनलाई त्यसबेला साथ दिने उनको सबैभन्दा नजिकको साथी हुन्थ्यो पुस्तक।
उनी पुस्तक पढ्नमा तल्लिन थिइन् । नजिकै आएर कसैले बोलाए झैँ महसुस भयो उनलाई । आफूले पढिरहेको पुस्तकबाट नजर हटाएर दाँयातिर हेरिन् । छेउमा नितेश नै आएर उसलाई हेरिरहेको रहेछ । उनलाई पत्यार लागेन। हात खुट्टा गले, ओटतालु सुक्यो उनको तर बोली फुटेन। आफूले मन पराएको मानिस पाँच वर्षपछि अकस्मात नौलो ठाउम्मा भेट्दापनि उनी बोल्न सकिनन् । मात्र आँखाबाट आशु झर्यो। नितेशले आफू एकाएक सम्पर्क बिहिन हुनुमा क्षमा माग्यो, निताको हात समायो अनि सानो कागजमा आफ्नो सम्पर्क नम्बर लेखेर निताको हातमा थम्यायो। यतिका वर्ष लगाएर निको पारेको घाउ फेरि बल्झिए झैँ भयो नितालाई। निताले बडो साहसका साथ उनले नितेशको मुहारमा होरिन्। उही गोरो मुहार उही आँखा। यतिका वर्षसम्म केही परिवर्तन भएनछ नितेशमा शिवाय उनको मन। तर निता भने नितेशले देखेभन्दा भिन्नै भएकी थिइन्। दुब्लो शरीर अनि खुम्चेका आँखा। पहिलाको भन्दा ठिक विपरीत ।
नितेशले धेरै कुरा भनिसक्दापनि निताले केही फर्काईनन्। मात्र एक टकले नितेशलाई हेरिरहिन्। मन लाग्दालाग्दैपनि उनले मुख खोल्न सकिनन्। हेर्दाहेर्दै निताको ओर्लिने स्टेसन आईसकेछ । नितेशलाई ‘बाई’ गरेर उनी बडो असहजताका साथ आफ्नो बाटो लागिन्। घर पुगेर नितेशको तस्विर हेरिन्। विगतको सम्झनाले मन भारी भयो निताको। हातको मोबाइलबाट अधि नितेशले दिएको नम्बर डायल गर्न खोजिन् तर फोन लागेन । उता नितेश पश्चातापको आगोमा जलिरह्यो । निताले नेपालमा फोन गरिन् र आफू आफू नेपाल आइपुग्न लागेको खबर दिइन्। ‘ममि मलाई भोलि बेलुका दश बजे एयरपोर्टमा लिन आउनु ल,’ यति भनेर निताले फोन राखिन्। यता बस्ने सबै साथीहरुँंग बिदा मागिन् उनले । साथीहरूले‘ कहिले आउछौ’? भनेर प्रश्न गरे तर उनले ’ थाहा छैन’ भन्ने जवाफ दिइन्। भोलिपल्ट नेपालमा निताको घरका सबैजना छोरीको पर्खाईमा बसिरहेका थिए । एयरपार्टमा निताको परिवार उनको प्रतीक्षामा बसिरहँदा परबाट एउटा बाकस बोकेर मानिसहरू लम्के । बाकसमा निताको पार्थिव शरीर थियो। सारा नेपाल चाडपर्वमा रमाउँदै गर्दा निताको परिवार शोकमा शोकले छाएको थियो । उता नितेश भने निताको बाटो हेरिरह्यो । यता निता कहिल्यै नफर्किने बाटोमा हिँडिन् ,
लोकान्तरबाट