इटहरी /r k dai1   शुक्रवार विहान कवि राजकुमार कार्की भेट्न धरान जानु थियो । पानी पर्न पर्न लागेको थियो । कुनै ठूलै दौड जितौंला झैं गरेर गाडीहरू बत्तिरहेका थिए । प्रायः सार्वजनिक कवि गोष्ठीहरूमा नआउने र हत्तपत्त लामो गफको समय पाउन नसक्ने कारण मलाई कवि कार्कीसँग कुरा गर्न रफ्तारकै गाडी समात्नु थियो । अरूबेला बस चढ्ने म योपटक माइक्रो चढेर लागें धरान । माइक्रोले धरान जाने यात्रु भरेपछि सिधा धरान पु—याएर मात्रै रोक्ने हुनाले यो विकल्प रोजें । धरानको बस स्ट्यान्डबाट इटहरी आउने रोडमा केही पाइलामै पुगिने ‘ब्लास्ट टाइम्स’को कार्यालय छिरें । पूर्वको पहिलो रंगीन दैनिक ब्लास्ट टाइम्सका पायोनियर तथा प्रधानसम्पादक कार्की आफ्नै कार्यकक्षमा भेटिए । उनको हातमा भेटियोे धुँवा फुसफुसाइरहेको चुरोट ।

चुरोट प्रसंग उनैले झिके र भने, ‘डाक्टरले चुरोट खाएमा ज्यान जान्छ भनेको छ तर मलाई चुरोट खाएन भने चैँ ज्यान जान्छ जस्तो हुन्छ ।’ यसो भन्दा बत्ती बलेर उनका पुस्तक, पदक, फोटो र प्रमाणपत्रrk daiहरूले भरिएको कोठाको उज्यालो जत्तिकै उज्यालो ओठ थियो । उत्तिकै चम्किलो अनुहार थियो । पाँचकक्षा पढेदेखि वामपन्थी झुकाव राख्ने ५८ वर्षे कवि कार्की आफ्नो समयका वामपन्थीभन्दा भिन्न छन् । उनी टाइसुट लाएर आफ्नो कार्यकक्षमा जान्छन् । शरीर र समयले साथ दिएमा पुस्तक पढ्छन् । चुरोट र चिया भने उनलाई हरेक दिन केही घण्टाको अन्तरालमा किस्ता–किस्तामा चाहिन्छ । उनको कार्यकक्ष एकखाले पुस्तकालय जस्तो छ । उनको निवास पनि पुस्तकालय जस्तै छ । चारैतिर भरिभराउ पुस्तकहरू । एउटा हत्केला पनि नअट्नेगरी भित्ताको चारैतिर विभिन्न कालखण्डका तस्वीरहरू छन् । धेरै त प्रमाणपत्रहरू छन् । अझ धेरै सम्मानपत्र छन् । त्योभन्दा बढी फोटोहरू छन् । सबैभन्दा बढी त पुस्तकहरू नै छन् । पुस्तकहरूतिर हात फर्काउँदै कवि भन्छन्, ‘यी सबै पुस्तक पढेको छु । कतिपय त दोहो—याएर समेत पढेको छु ।’ ३० देखी ५० को दशकमा हरेक दिन औसतमा एउटा पुस्तक पढिसक्ने कवि कार्की पछिल्लो दशकमा स्वास्थ्य र दैनिक कामको चटारोले अध्ययनको पुरानो रफ्तार कायम गर्न नसकेको बताँउछन् । मुटुको भल्भमा समस्या भएपछि पटक–पटक भारतीय अस्पताल ओहोरदोहोर गर्ने कवि स्वास्थ्यको कारण साहित्यमा सक्रिय समय दिन नसकेको दुखेसो गर्छन् । कविता र कविका कुरामा निक्कै उज्यालो अनुहार पार्ने कवि कार्कीले योपटक लोकान्तरसँग आफ्नो कविता यात्रा, वामपन्थी झुकाउ र जेल जीवनमा आधारित भएर लामै बातचित गरे । एउटा लाशले जन्माएको क्रान्तिकारिता ऊ बेला कार्की भर्खरै धरान बरगाछीको पञ्चायत स्कूलमा पढ्थे र उनका प्रिय शिक्षक थिए वामपन्थी विचार राख्ने सूर्य पराजुली । कक्षा पाँच पढ्दै त्यो बेलाका धरानको महेन्द्र बहुमुखी क्याम्पसका स्ववियुका नेता बिआर पौडेलसँग पनि कार्कीको चिनापर्ची थियो ।

एक दिन सुनसरीको पञ्चायन झोडा फाँडेको भनेर वन कर्मचारीहरूले भरतसिंह याक्खालाई मारे । त्यसको विरुद्धमा उनका शिक्षक सूर्य पराजुुली र बिआर पौडेल पनि उत्रिए । सुनसरी तरहाराको पानीपियामा रहेको लाश लिन धरानrkबाट एक ट्रक प्रदर्शनकारी गए । वन कार्यालयबाट खोसेर ल्याएको लाश प्रदर्शनकारीहरूले धरानको छाता चौकमा बिसाए । त्यहाँबाट धरानका तत्कालीन प्रधानपन्च गोविन्द मोक्तानको घर अगाडि लाश राखेर प्रदर्शनकारीहरूले कोणसभा गरे । चर्का भाषण र नाराबाजी सुनेपछि कार्कीमा पञ्चायतबारेका आक्रोशहरू शुरू भए ।

पछि धरानकै सदन स्कूल पढ्न थालेपछि कार्कीले एउटा साहित्यिक समूह खोलेरै राज्यका बेथिती, विसंगति, भ्रष्टाचार र अन्यायको विरुद्धमा कविता कोर्न थाले । पछि दक्षिण अफ्रिकाको रंगभेदी सरकारले जनताको पक्षमा कलम चलाउने क्रान्तिकारी कवि मालेसेला बेन्जामिन मोलाइसलाई मृत्युदण्ड सुनायो । २०४२ साल कात्र्तिक २ गते उनलाई झुन्ड्याएरै मा—यो । यही बेला उनले पञ्चायतलाई पनि दक्षिण अफ्रिकाको अमेरिकी कठपुतली बोथा सरकारको नेपाली संस्करण देख्न थाले । राज्यको पक्षमा कलम र कला प्रदर्शन गर्ने कवि, कलाकारलाई जेल हाल्नाले उनमा यस्तो सोच आएको थियो । मालेसेलालाई सम्झेर त उनले कवितै लेखे । उनले भारतका चारु मजुमदारले शुरू गरेको नक्सलाइट आन्दोलन समर्थित भारतको पटनाबाट आउने हिन्दी पत्रिका ‘उद्भावना’मा उनको कविता छपाए । दक्षिण अफ्रिकाले अश्वेत कविलाई दिएको मृत्युदण्डबारेको उनको कविताको दोस्रो हरफ उनी अहिले पनि सम्झन्छन् : ओ मालेसेला…. खुली हावामे पंख फिँजाकर उडकर तुमने हमको दिखायी है आजादी के लिए कुल जिन्दगी देना तुमने हमको सिकायी ओ मालेसेला …..

कविता लेख्दा राज्यले १२ पटक जेल र १६ वटा मुद्दा लगायो रासीङ, रासीङ लामा, रेड रोज र सूर्य नामले पञ्चायतकालमा खरो कविता लेख्ने कवि राजकुमार कार्कीले मोरङको उर्लाबारीमा व्यवसाय गर्थे । उनी उर्लाबारीको राधिका माविमुन्तिरको श्रेष्ठ थरका घरबेटीकोमा बस्थे । राधिका माविमा बेलाबेला कवि गोष्ठी आयोजना हँुदा कविता भन्ने कार्की अलिक क्रान्तिकारी स्वभावका थिए । त्यो बेला तत्कालीन पूर्वका वामपन्थीहरूको कोअर्डिनेसन केन्द्रमा आबद्ध कार्कीको समूहलाई त्यो बेला उर्लाबारीमा बहुदलको प्रचारमा आएका तत्कालीन नेकमा (मार्क्सवादी)का महासचिव मनमोहन अधिकारीलाई सहयोग गर्न भनिएको थियो । तत्कालीन कालोबजारीले आजित गरीब किसानको बिजोग देखेर कालोबजारी गरी लुकाइएका तेल, चिनी र नुन खोसेर केही किसानलाई बाँडे कार्कीको समूहले । कार्कीलाइ ठ्याक्कै मिति त थाहा छैन तर त्यही बेला नेपालमा जनमत संग्रहको गाइँगुइँको हल्ला भएको उनी सम्झन्छन् । मनमोहनको कोणसभामा दमकबाट उर्लाबारी आउनासाथै प्रहरीको गोली चल्यो । भागाभाग भयो । कार्की आफ्ना केही साथीहरूसँगै भागेर मोरङको मधुमल्लामाथि पर्ने तोरीबारीमा लुकेर बसे । जंगलक्षेत्रमा पर्ने तोरीबारीमा स–साना केही झुपडी र साना गाउँ थिए । गाउँलेले दयाले दिएको आधा च्यातिएको धर्सा ओढेर २२ दिन बिताउँदा कार्की र उनका साथीहरूलाई ठूलो सकस प—यो । कान्लामा पाइने अमिलो झार, मकै र पानी खाँदै पञ्चायतसँग लडेको उनी सम्झन्छन् । २२ दिनको भूमिगत बसाईपछि कार्की उर्लाबारी आएर आफनो व्यापार गर्नेबारे सोच्दै थिए । डेरा फर्किएको मध्यराति उर्लाबारी प्रहरीका हवल्दार दुतराज थापा मगर सहितका ६ जना प्रहरी आएर उनलाई बिच्छ्यौनाबाटै उठाएर लगे । उर्लाबारीको थुनामा बन्दी कार्कीसँगै एकजना पागल पनि थिए ।

खुट्टालाई चलमलाउन समेत नदिने तुरुङमा बाँधिएर राखिएका उनलाई त्यो रात दुर्गन्धले हैरान पा—यो । एकातर्फ ढुसीले गनाएको कोठा, अर्कोतर्फ दिसापिसाब गरेर हातले गिजजिग गर्दै खेलाउने पागल थुनुवा । उर्लाबारी थुनामा राखेको केही समयपश्चात् कार्कीलाई डिएसपीको कार्यालय विराटनगर लगियो । त्यहाँ कार्की ९ महिना जेल बसे । यो उनको पहिलो जेल अनुभव थियो । त्यसपछि ११ पटक जेल परेका कार्की कहिले कवि गोष्ठी गरेको आरोपमा त कहिले पञ्चायतले आफ्नो रजतजयन्ती मनाइरहँदा पञ्चायतलाई ‘धमिराले खाएको घर’ भन्दै कविता लेखेकोमा जेल परे । कहिले पुस्तक विमर्शमा प्रहरीको घरपकडपछि हप्तौं थुनामा बसे । महिनौं जेलमा बसे । सुनसरीको डिएसपी कार्यालयदेखि मोरङको अञ्चल कारागारसम्म जेलमा बसे कार्की । धरानको छाता चोकबाटै ४ पटक पक्राउ परे । १२ पटकको जेल जीवनमा मोरङको डेढ वर्षे जेल सबैभन्दा लामो जेल बसाई हो उनको । अरूपटक भने कहिले हप्तादिन कहिले ९ महिना गरी सालाखाला ४ वर्ष जेल बसेका छन् उनी ।

कार्की २०४६ सालको पञ्चायत ढाल्ने आन्दोलनको माग सुनुवाइ हुँदा पनि जेलमै थिए । २०४६ माघ २७ गते जेलबाट निस्कँदा कार्कीलाई मनमोहन अधिकारीले स्वागत गरेका थिए जुन तस्वीर अझै पनि कार्कीको कार्यकक्षमा झुन्डिरहेको छ । २०४६ सालको आन्दोलनमा जेल पर्दा ३१ वर्षे कार्की २०६२÷६३ सालको आन्दोलन उत्कर्षमा पुग्दा पनि इटहरीमा पक्राउ परेर पकलीको सशस्त्र क्याम्पमा ११ दिन थुनिएका थिए । राजद्रोह, राजकाज, शान्तिसुरक्षा, लेखन प्रकाशन गरी विभिन्न १६ वटा मुद्दा खेपेर जेल बसेका कार्की आफूले जेल बसेर छुट्नुको खुशीभन्दा देशको परिवर्तनको लागी गरिएको आन्दोलनको सम्बोधन नभएकोमा भने दुःखी छन् । भन्छन्, ‘पहिले एउटा मात्रै राजा थियो । अहिले थुप्रै छोटे राजाहरू भए । हिजो राजाले देश लुटे, आज राष्ट्रपति, पूर्वराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको स्वास्थ्य खर्चमा राज्यले करोडौं खर्च ग—यो । आज दिनदिनै उपचार नपाएर भौंतारिएका गरीब नेपालीलाई कसले हेरेको छ ?’ ३०० भन्दा धेरै कविता जलाइएका कवि १२ पटक जेल र थुनामा परेका कवि कार्कीका २० वटाभन्दा बढी कविता र दैनिकी लेखिएका डायरीहरू पञ्चायती प्रहरीले जलाइदियो ।

‘पञ्चायती पुलिसको पहिलो काम कवितामा तानाशाही शासकको विरोध ग—यो भनेर कविलाई पक्रिनु हुन्थ्यो र दोस्रो काम चाहिँ कविताका डायरीहरू जलाउनु हुन्थ्यो,’ धमिलो अनुहारमा कवि भन्छन्, ‘आफ्ना कविता र दैनिकी लेखिएका डायरी जलाउँदा डायरीसँगै दिल जल्थ्यो । अक्षरसँगै आत्मा जल्थ्यो । जलेका शब्दको खरानीमा म पञ्चायतको अनुहार देख्थें । यसले मलाई पञ्चायतविरुद्ध लेख्न थप हौसला दिन्थ्यो ।’ २०३० देखि ४० को दशकमा लेखिएका आफ्ना ३०० जति नछापिएका कविता र दर्जनौं छापिएका कविताहरू जलाइएको कवि कार्की बताउँछन् । आफ्ना थुप्रै कविताहरू जलेपछि स्मरणले त्यही स्तरका कविताहरू सम्झन नसकेपछि आफ्नो कविता संग्रह निकाल्न सकस भएको कविको दुखेसो छ । भन्छन्, ‘मैले क्रान्तिको समयमा लेखेका आगो कविताहरू पञ्चायतको आगैले जलायो । पछि पचास र साठीको दशकमा लेखेका केही कविताहरू मात्रै छन् ।’ जेलभित्रै पञ्चायतका कार्यकर्तालाई बहुदलवादीमा रूपान्तरण पञ्चायतले कार्कीलाई पञ्चायतविरोधी कविता लेखेको भन्दै जेल हाल्थ्यो । यातना दिन्थ्यो । कतिसम्म भने लिङ्गमा धागो बाँधेर भित्तामा तान्दै धागोमा हिर्काउने गर्थे पुलिसहरू । अझै उनको दाहिने हातको साहिँली औंला र माहिली औंलामा किला गाडेको निशाना छ । पञ्चायतले औंला भाँचेको चोट छ । यत्ति पीडा र यातना हुँदाहुँदै पनि कार्कीले जेलमा जेलर तथा नाइकेहरूलाई प्रजातन्त्रका पुस्तकहरू दिन्थे । ती पुस्तकहरू उनलाई भेट्न आउने जेबी टुहुरे जस्ता क्रान्तिकारी कवि–कलाकारहरूले थमाइदिन्थे । प्रहरीका असइ, सइ तथा इन्सपेक्टरहरूलाई क्रान्तिका पुस्तकहरू पढ्न दिन्थे । जेलमा हुने अन्य कैदीहरूलाई पनि उनी राजनीतिक प्रशिक्षण दिन्थे । यसले उनलाई केही फाइदा पनि भयो । पाँचपटक उनलाई विराटनगरबाट काठमाडौंको नख्खु जेल लाने योजना बन्यो । नख्खु जेल सरकारविरोधी तत्व सफाया गर्ने स्थलको रूपमा चिनिएको थियो । तर चौकीदार झारमान लिम्बू र नेपाल थरका एक जेलरले उनलाइ त्यसो गर्न दिएनन् । मोरङ शनिश्चरेका कट्टर पञ्चायतपक्षीय लिम्बूलाई कार्कीले बहुदलवादी बनाइसकेका थिए । जेलर नेपाल पनि क्रमशः पञ्चायतको विरोधमा ‘कन्भिन्स’ भइसकेका थिए । सोही कारण उनीहरूले मोरङ कारागारबाट राजकुमार कार्कीलाई नख्खु लान नहुने विषयमा अडान लिए । अन्य कैदीहरूले पनि आफ्नो कालो गन्जी, पेन्टलाई बाँसमा बेरेर कारागारको छतमा गएर राजबन्दी सार्न पाइँदैन भन्दै नारा जुलुस गरेको कार्की स्मरण गर्छन् । मुद्दा लड्न सुशीला कार्कीदेखि सुवास नेम्वाङसम्म धरान आए पञ्चायतले पक्राउ गरेर धरानको प्रहरी थानामा तीन महिनादेखि थुनामा थिए कार्की । त्यो बेला अञ्चलाधीशको ठाडो आदेशमा जत्ति पनि थुनामा राख्ने प्रचलनले गर्दा थुप्रै बन्दीहरूलाई मुद्दा नचलाई थुनामा राख्ने गरिएको कार्की बताँउछन् । गाउँघरमा हल्ला फैलियो कि अब पञ्चायतको अदालतले कार्कीसँग पाँच लाख धरौटी माग्छ । राजकुमार कार्कीले तिर्न सक्दैन अनि वाग्मतीमा गोली खाएर मर्छ । यो हल्लाले त्रस्त कार्कीका इटहरी बौकाझोडामा बस्ने बा–आमाले तत्कालीन इटहरीका प्रधानपञ्च रामकुमार सुब्बालाई ठूलो बिन्ती बिसाए । सुब्बाकै पहलमा धरान घर भएका तत्कालीन सञ्चार सहायक मन्त्री (हाल एमालेबाट धरानकै सांसद) कृष्ण कुमार राई कार्कीलाई भेट्न धरानको थानामा पुगे । ‘कत्तिको धुलाइ हुँदैछ त, केटा?’, मन्त्रीको भनाई उद्धृत गर्दै कार्की भन्छन्, ‘लु, अबको हप्ता दिनमा छुट्ने व्यवस्था म काठमाडौं गएर मिलाउँछु ।’ मन्त्रीको आश्वासन विपरीत विगत हप्ता दिन यता रोकिएका कुटाई त्यही रातबाट फेरि शुरू भएको सम्झँदै कार्की भन्छन्, ‘मन्त्रीले भनेपछि छुटिएला भनेको झन कुटाई पो थपियो ।’ मन्त्रीको छुटाउने आश्वासन असफल हुनु, गाँउघरमा पञ्चायतले माग्ने ठूलो अदालती धरौटी तिर्न नसक्दा मार्ने हल्ला हुनुका कारणले कार्कीको परिवारलाई ठूलो तनावमा पारेको थियो । यी सबैका बीच काठमाडौंबाट सुशीला कार्की तथा सुवास नेम्वाङसहितको ११ जना वकिलहरूले तत्कालीन धरानमा रहेको अञ्चल अदालतमा बन्दीहरूको पक्षमा वकालत गरे । राजकुमार कार्कीले २०० रुपैयाँ धरौटीमै छुट्ने मौका पाए । त्यो बेला संयुक्त प्रजातान्त्रिक आन्दोलनको पक्षमा लागेका बन्दीहरूको पक्षमा वकालत गर्न राजनीतिक दलहरूले एउटा वकिलहरूको समूह नै तयार गरेको कार्कीले बताए ।

पहिले—पहिले कविसँग राज्य डराउँथ्यो

‘एउटा तानाशाही राज्य सधैँ सत्यसँग डराउँछ,’ कवि कार्कीको तर्क छ, ‘त्यसैले पहिले–पहिले राज्य कविसँग डराँउथ्यो ।’ आजकल भने कविहरूसँग राज्य नडराएको देखेका कवि कार्की भन्छन्, ‘अराजकताको अर्को नाम कविता हुन सक्दैन ।’ देशमा प्रजातन्त्र र लोकतन्त्र आएसँगै कविहरूको ताकत भने कमजोर भएको पो हो कि अथवा राज्य लाचार भएको हो, कार्की दोधारमा छन् । राज्य कविसँग डराएरै आफूजस्ता स्रष्टाहरूलाई पञ्चायतकालमा थुनामा र जेल–नेलको सजाय दिइएको कार्कीको तर्क छ । कवि कार्की भन्छन्, ‘राज्य कविसँग र कवितासँग डराउनु साहित्यमा शक्ति भएको आधार हो तर त्यस्तो आजकल कमै देखेको छु ।’ पहिले–पहिले कवि सर्वसम्मत हुने तर आजकल कवि पनि पार्टी, जाति र क्षेत्र विशेषको जस्तो हुन थालेकोमा कवि कार्कीको चिन्ता छ । ‘कविहरू पनि पार्टीहरूमा विभक्त हुन थाले,’ कवि कार्कीको चिन्ता छ, ‘कविहरू विभक्त हुनाले सर्वसम्मत कवि पाइन छाडेको छ । यसैले ‘बिउ कवि’हरू कमजोर भएका छन् र कवि र कवितासँग राज्य डराउन छाडेको छ ।’ कवि कार्कीसँग भेट्न इटहरी छाड्दा पर्नै लागेको पानी उनीसँग लामो बातचित गरेर फर्किएपछि धरानमै सिमसिम पर्दैै थियो । कवि भेट्न इटहरीबाट हतारहतार माइक्रो चढेको म कुराकानी गरेर धरानबाट आँउदा चाहिँ नभरिएको बस खोजेर चढें । मलाई बिहान जस्तो कविको अन्तर्वार्ता लिन हतारो थिएन । बरू बस यात्रा लामो बनाउने मन थियो किनकि धरान–इटहरीबीचको चारकोसे जंगलको शीतल र शानदार यात्रामा मैले लेख्ने फिचरको ‘एंगल’ सोच्नु थियो । जनवादी कवि राजकुमार कार्कीको कविताको राजमार्ग महसूस गर्नु थियो ।