धरान/म्याद गुज्रिएका र नगुज्रिएका खाद्य पदार्थहरु एउटै स्टोरमा राखेको पाइएपछि सिलबन्दी गरिएको दोस्रो दिन नै माथिल्लो निकायको दवाबमा प्रशासनले सिलबन्दी खोल्दै अखाद्य सामग्री बरामद गरेको छ ।जिल्ला प्रशासनको नेतृत्वमा आइतबार गरिएको अनुगमनको क्रममा भाटभटेनी डिपार्टमेन्टको धरानस्थित शाखाको स्टोरमा म्याद गुज्रिएका र नगुज्रिएका खाद्य तथा पेय पदार्थ राखेको पाइएपछि सिलबन्दी गरिएको थियो । नाम नछाप्ने शर्तमा एक स्रोतले बताएअनुसार प्रशासनलाई माथिल्लो निकायबाट दवाब आएपछि सोमबार नै स्टोरको सिलबन्दी खोल्दै म्याद गुज्रिएका सामग्रीहरु बरामद गरेर नष्ट गरिएको हो । यसअघि सिलबन्दी भएको महिनौँ दिनसम्म पनि नखुलेको उदाहरहरु प्रशस्तै छन् ।

vat यसलाई थप पुष्टि गर्दै सुनसरी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष गिरीधारी सापकोटा भन्छन्, ‘मनोज फर्मास्युटिकल्सको ग्लुकोभिटा म्याद नाघेको भेटेपछि गरिएको सिलबन्दी एक वर्षसम्म पनि नखुलेको उदाहरण छ ।’ उनले हिजै गरेको सिलबन्दी आजै बिहान फोन गरेर बोलाउँदा अचम्म लागेको सुनाए । उनका अनुसार उनले आइतबार नै सिलबन्दी नगरी म्याद गुज्रेका सामग्री जफत गरेर नष्ट गर्न भनेका थिए । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई पनि उनले जानकारी गराएको थिए । ‘उहाँले भोलि नै खुल्छ भन्नुभएको थियो ।’ उनले भने ।

अनुगमन टोलीमै रहेका एक निरीक्षकले पनि सिलबन्दी गर्नुअघि म्याद गुज्रिएका सामग्री बरामद गरेर नष्ट गरिएको भए दोहोरो काम गर्नुपर्ने अवस्था नआउने बताए । अनुगमनको नेतृत्व गरिरहेका जिल्ला प्रशासनका प्रशासकीय अधिकृत केशव खतिवडाले भने कुनै पनि दवाब नआएको जिकीर गरे । ‘मलाई कम्प्लिट्ली रुपमा त्यस्तो कुनै दवाब आएको छैन ।’ उनले भने ।

स्रोतका अनुसार सिलबन्दी भएपछि प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंलाई नै माथिल्लो निकायबाट दवाब आएको थियो । प्रजिअ चापागाईंले पनि कुनै दवाब नआएको बताए । ‘प्रेसर स्रेसर मलाई थाहा छैन ।’ उनले फोन सम्पर्कमा भने । अनुगमनमै रहेका एक प्रतिनिधिले पनि यसअघि सिलबन्दी हुँदा साता–दश दिनसम्म पनि नखोलिएको जनाउँदै दोस्रो दिन नै खोल्नु परेको सुनसरीमा यो नै पहिलो घटना भएको बताए । उनले भने, ‘यसअघि भएका कयौँ सिलबन्दीमा ८–१० दिनमा पनि खुलेको थाहा थिएन तर यसमा भने आजको भोलि नै हुँदा केही भएको हुनुपर्छ ।’ भाटभटेनीका कर्मचारीहरुले जफत गरिएका सामग्री कम्पनीमा फिर्ता गर्दा आपूmहरुले सट्टाभर्ना पाउने भएकाले नष्ट नगर्न माथिल्ला कर्मचारीहरुलाई फोन लगाएका थिए । तर, प्रशासनले लेबल नभएका सामग्रीलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताउँदै जफत गरेको थियो भने मिति भएका टुटेफुटेका खाद्य पदार्थहरुलाई कम्पनीमा पठाउन निर्देशन दिएको थियो । अधिकृत खतिवडाका अनुसार मिरिन्डा पेय ठूलो, मध्यम र सानो गरी १३ बोतल, स्प्राइट ५ सय एमएलको १६ बोतल, कोक २.५ एमएलको ३७ बोतल, एक लिटरको १० बोतल, ५ सय एमएलको १७ बोतल, सोडा ६ सय एमएलको ४३ बोतल, ३.२ को एक बोतल, माउण्ट पेप्सी ८ बोतल, डिउ ६ सय एमएलको २६ बोतल, ट्याङ जुस १७५ ग्रामको ५० प्योकेट, ग्यालेक्सी चकलेट ६५ थान, स्नेक चकलेट १२० थान बरामद गरेर नष्ट गर्न धरान उपमहानगरपालिकालाई निर्देशन दिइएको छ ।

ती सामग्रीको मूल्य ३३ हजार ४ सय ११ रुपैयाँ रहेको उनले बताए । खतिवडाले सिलबन्दी गरेर तत्कालै खोल्नुको कारण खुलाउँदै भने, ‘अनुगमन गर्दा खराब भेटिएका कुराहरुलाई अन द स्पोट कारवाही गरेर सुधार गर्नुपर्छ । सेवा दिने कुरामा पनि सरकारी तवरबाट ढिलाइ गर्नु हुँदैन भनेर तत्कालै अनुगमन गरिएको हो ।’