बिर्तामोड/ साना किसान झापाली चिया व्यवसायी सङ्घले हरियो चियापत्तिको उचित मूल्य तोक्न माग गर्र्दै पुनः आन्दोलन शुरु गरेको छ । उद्योगीले बिगत १५ वर्षदेखि किसानमाथि हरियो पत्तिको मूल्यमा शोषण गरिरहेको आरोप लगाउँदै साना किसानले एक सातायता नेपाल चिया तथा कफी विकास बोर्डको बिर्तामोडस्थित कार्यालयमा धर्ना दिँदैआएका छन् ।]

भद्र धर्ना कार्यक्रम भनिएको यो आन्दोलनले निकास ननिकालेसम्म कार्यक्रम जारी रहने साना किसानका अध्यक्ष पूर्ण कार्कीले बताए । उनले माग सम्बोधन नभएसम्म धर्ना कायम राख्दै थप आन्दोलन समेत गर्ने बताए । उद्योगी र चिया तथा कफी विकास बोर्डसँग पटक–पटक गरिएका सम्झौता कार्यान्वयन नगरिएकोले आन्दोलनको विकल्प नभएको उनको भनाइ छ ।
भारतीय बजारको हरियो पत्तिको मूल्यलाई आधार मानेर नेपाली चियाको मूल्य तय गर्न माग गर्र्दै किसानहरु वर्षाैंदेखि आन्दोलित हुँदैआएका छन् । २०७१ साल बैशाख २२ गते भएको आन्दोलनपछि जेठ २९ गते गरिएको सहमति हालसम्म पनि उद्योगीले कार्यान्वयन नगरेको अध्यक्ष कार्कीले बताए । सोही सालमै चिया तथा कफी विकास बोर्डले तय गरेको मूल्य समेत उद्योगीले नदिएको कार्कीको आरोप छ ।
पछिल्लो समयमा बोर्डनै उद्योगीको पक्षमा लागेर हरियो पत्तिको मूल्य तोक्न थालेको आरोप किसानको छ । उनीहरुले २०७२ असोजदेखि हालसम्म हरियो पत्तिको मूल्य अस्वीकार गर्दै पेश्की मात्र लिएको बताए । हरियो चियापत्तिको मूल्य विवाद समायोजन गर्नका लागि उच्चस्तरीय ‘न्यायिक जाँच आयोग’ बनाउनु पर्ने कार्कीले बताए ।
नेपाल सरकारको ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत सङ्घमा आवद्ध सहकारी संस्थालाई अनुदान दिन बाँकी रकम तत्काल उपलब्ध गराउन माग पनि गरिएको छ ।
किसानले हरियो पत्तिको मूल्य भारतको सरकारी मूल्यलाई आधार बनाएर समायोजन गर्नुपर्ने माग राखेपछि उद्योगीहरु वार्तामै बस्न छाडेको सङ्घका सहसचिव सुदीप श्रेष्ठले बताए । उनले सरकारी स्तरबाट मात्र समस्याको समाधान निस्कने ठोकुवा गरे । भारतीय बजारमा भएको मूल्यलाई आधार मान्न उद्योगी तयार नहुँदा यो बिवाद वर्षांैदेखि जारी छ । झापामा प्रत्येक वर्ष साना किसानहरुले तीन करोड किलोसम्म हरियो पत्ति उत्पादन गर्दैआएका छन् । झापामा मात्र ३ हजार परिवार चिया खेती गर्छन् भने ३५ सय बिघा जमिनमा चिया खेती हँुदै आएको श्रेष्ठले बताए । २३ गते ज्ञापनपत्र बुझाएर शुरु गरिएको धर्नामा सङ्घका पदाधिकारी लगायत किसानहरु समेत सहभागी छन् ।