धरान/वार्षिक साढे ५ हजार मेट्रिक टन भन्दा बढी सब्जीको कारोबार गर्ने धरान कृषि उपज बजार स्थल कारोबारको हिसावले नेपालको करिव पाँचौं नम्बरमा पर्छ । पूर्वी पहाडको सब्जीको नाकाको रुपमा रहेको स्थलमा आर्थिक वर्ष २०७१/०७२ मा मात्रै तरकारी र फलफूल गरी ६१ हजार ७ सय ३६ मेट्रिक टन कारोबार गरेको थियो ।
यो वर्ष ६५ हजार ३ सय ४५ मेट्रिक टन कारोबार भएको देखिन्छ । यतिको परिणाममा कारोबार हुने सब्जी भण्डारण क्षेत्रमा सरकारले अहिलेसम्म पनि विषादी मापन यन्त्रलाई अनिवार्यतामा राखेको पाइएको छैन् । सब्जी तथा फलफूलमा कतिमात्रामा विषादीको प्रयोग भइरहेको छ त्यो विषयमा अहिलेसम्म आमउपभोक्ताहरु अनभिज्ञ मात्रै छैनन् । किशानहरुसमेत कति मात्रामा हाल्नु पर्ने भन्ने ज्ञानबाट बाहिर छन् । धरान कृषि उपजमा पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत क्षेत्रबाट हरियो सब्जी तथा फलफूलहरु आइपुग्ने गरेका छन् । त्यस्तै तराईको सुनसरी, मोरङ, सप्तरी, सिराहा र भारतका केही भूभागहरुबाट सब्जी तथा फलफूलहरु आइपुग्ने गरेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । परिमाणको आधारमा हेर्दा पनि नेपालको चौथो पाँचौं सब्जीको कारोबार हुने केन्द्रको रुपमा चिनिने उनी बताउँछन् । नेपालमा सबैभन्दा बढी कारोबार कालिमाटी तरकारी बजारमा हुने गरेको छ । दुईवर्ष अघि मात्रै सरकारले विषादी मापन यन्त्रको व्यवस्था गरेको थियो । उक्त विषादी मापन यन्त्र अन्यत्रसमेत विस्तार गर्ने बताए पनि सरकारले अहिलेसम्म पाइला चालेको छैन् । यसले गर्दासमेत आम उपभोक्ताहरु विषादी हालिएको सब्जी तथा फलफूल खान बाध्य छन् । ‘सरकारले गर्दै नर्गने भन्ने होइन्, क्रमशः सबैतिर यो मापन यन्त्रको विकास गरेर लाने हो ।’ कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयका सूचना अधिकारी मकबुल अलीले फोनसम्पर्कमा भने । उनले एकैपटक विस्तार गर्न नसकिने बताउँदै दक्ष प्राविधिकहरु तयार पारेर सबैतिर यसको विकास गरेर लाने दाबी गरे । ‘विस्तारै हुन्छ । आउँदो वर्षसम्म पूर्वतिर पनि यन्त्र पु¥याउने योजनामा छौं ।’ उनले फोनसम्पर्कमा भने । धरानको कृषि उपज बजार स्थलले पनि विषादी मापन यन्त्रको लागि बजार स्थलका सञ्चालक समितिले २०७१ कात्तिक १३ गते निर्णय गरेर प्रस्ताव सम्बन्धित कार्यालय कृषि व्यवसाय प्रवद्र्धन तथा बजार बिकास निर्देशनालयलाई पठाएको थियो । ‘सञ्चालक बडीले नै विषादी मापन यन्त्र चाहिन्छ भनेर निर्णय गरेरै पठाएको थियो ।’ व्यवस्थापक भट्टराई भन्छन् ‘तर, अहिलेसम्म कुनै आधिकारिक निर्णय सम्बन्धित कार्यालयबाट आएको छैन् ।’ आर्थिक वर्ष २०७१/०७२ मा तरकारी मात्रै ५३ हजार एकसय ५७ मेट्रिक टन आएको थियो भने २०७२/०७३ मा ५५ हजार ४ सय ३२ मेट्रिक टन कारोबार भएको थियो । यतिका परिमाणमा कारोबार हुँदासमेत पूर्व तर्फ सम्बन्धित निकायहरुले ध्यान दिनपर्ने तर्क तरकारी व्यवसायीहरुले राख्दै आएका छन् । पालिका तरकारी बजार स्थलमा सब्जी व्यवसाय गर्दै आएका धर्मप्रसाद तिम्सिनाले उपभोक्ता मात्रै हैन, कृषकहरुलाईसमेत चेतना विकास गर्नको लागि यन्त्रको माग रहेको बताउँछन् । पालिका तरकारी बजारमा धरान आसपासको क्षेत्रबाट धरानलाई झण्डै चार महिना पुग्ने गरी सब्जीहरु आउने गरेको छ । पालिका तरकारी बजारमा धरान आसपासको क्षेत्रबाट दैनिक ३ टनको हिसावले हरियो सब्जी भित्रिने गरेको छ । त्यो हिसावलाई आधार मान्ने हो भने मासिक ९० टन र वार्षिक एक हजार ८० मेट्रिक टन सब्जी धरान आसपास क्षेत्रबाटै भित्रिने गरेको तिम्सिना बताउँछन् । तिम्सिनाका अनुसार धरानको पानबारी, ठिंगाबारी, मोरङको याङसिलालगायत क्षेत्रबाट आउने गरेको छ । ‘विषादी माया यन्त्र धरानलाई अनिवार्य जस्तै भइसकेको छ ।’ उनी भन्छन् ‘उपभोक्तालाई कति असर गरिरहेको छ । र, कृषकहरुले कतिमात्रामा विषादी प्रयोग गरिरहेको छन् भनेर जान्नको लागि पनि त्यो यन्त्र आवश्यक हो ।’ अनिवार्य आवश्यकताका चिजहरुमा राज्यको द्रुततर सेवा नदिँदा पनि आम उपभोक्ताहरुले विषादी खाइरहेका छन् । नेपालमा विषादी प्रयोगको अवस्था हेर्ने हो भने प्रतिहेक्टर १ सय ८२ टन विषादी प्रयोग गर्ने गरेको तथ्याङक छ । जसमध्ये सबैभन्दा बढी तरकारी खेति, केरा खेति र फलफूलमा लगाउने गरेको बाली संरक्षण निर्देशनालयको तथ्याङ्कमा रहेको छ । सुनसरीमा मात्रै प्रतिवर्ष ३ मेट्रिक टनका हिसावले प्रयोग बढिरहेको देखाउँछ ।