बेलबारी/जिल्ला विकास समिति मोरङले जिल्लाका खोलाहरु असार देखि तीन महिना सम्म ढुंगा,गिटी,वालुवा निकासीमा रोक लगाए पनि रातीको समयमा चोरी निकासी हुने गरिएको पाईएको छ । दोब्बर नाफाको प्रलोभन र कम जरिवानाको कारण ढुंगा चोरीको घटना रोकिएको छैन । शनिवार विहान पाँच बजे दुईवटा ट्राक्टर वन कर्मचारीले पक्राउ गरेको छ ।

सेक्टर वन कार्यालय सलकपुरबाट खटिएका वन रक्षकको टोलीले खदम को १ त ७४३ र को १ त ८६२२ नम्वरको ट्रयाक्टर पक्राउ परेको कार्यालयका प्रमुख जनक पाध्यले बताए । पक्राउ परेको मध्य को १ त ८६२२ नम्वरको ट्रयाक्टर भने अर्को ट्रयाक्टरलाई तान्न गएको पाध्यले बताएका छन् । पक्राउ परेका ट्रयाक्टरलाई कारवाहीको लागि जिल्ला वन कार्यालय मोरङमा अगाडि बढाउने उनले बताए । खोलामा ट्रयाक्टर पसेको सूचना पाएपछि वन रक्षक टोलीले खदमको शीरबाट पक्राउ गरेको थियो । चालकहरु भने भागेका बताएका छन् ।
ढुंगा चोरी गर्न ट्रयाक्टरवालाहरुले बजार देखी पारीको नाका बढी प्रयोग गर्ने गरेको बुझिएको छ । वारीको नाकामा प्रहरीको कार्यालय भएपछि पल्लो नाका प्रयोग गरेका हुन् । वन कार्यालयले श्रावणको दोश्रो साता सम्ममा १६ वटा ट्रयाक्टर पक्राउ परेको र तिनीहरुलाई कारवाही भईसकेको कार्यालयले जनाएको छ । वन कार्यालय र प्रहरीले पटक पटक ट्रयाक्टरहरु पक्राउ गर्दा पनि चोरी नियन्त्रण हुन सकेको छैन । प्राप्त विवरण अनुशार इलाका प्रहरी कार्यालय बेलबारीले मात्र २५ वटा ट्रयाक्टरलाई पक्राउ गरि जिल्ला विकास समितिलाई बुझाएको छ । कार्यालयका प्रहरी निरीक्षक मेघराज थापाका अनुशार असारमा २५ वटा जति गछिया खोलाबाट पक्राउ गरि कारवाही गरिसकेका छन् । त्यसैगरी इलाका प्रहरी कार्यालय केराबारीले भने ८ वटा ट्रयाक्टरलाई पक्राउ गरि कारवाही गरेको छ । चुरे क्षेत्रबाट पक्राउ परेका तीन वटा ट्याक्टरलाई वन कार्यालयमा पठाएको प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद प्रसाईले बताए ।
चार दर्जन भन्दा बढी ट्रयाक्टरहरु पक्राउ पर्दा पनि चोरीको क्रम भने रोकिएको छैन । यस विषयमा विभिन्न व्यक्तित्वहरुको विभिन्न धारणा आएका छन् । यस बेला ढुंगा,गिटी,वालुवाको मूल्य बढी हुने र त्यही प्रलोभनमा ढुंगा चोरी हुने गरेको अनुमान गरिएको छ । यस बेला झण्डै दोब्बर नाफा आउने प्रलोभनले जोखिम मोल्दै चोरी बढेको स्थानीयहरुको भनाई छ । उता कारवाही फितलो भएर पनि यो क्रम नरोकिएको सेक्टर वनका अधिकृत पाध्यको धारणा छ । खोलामा ट्रयाक्टर पक्राउ पर्यो भने जिल्ला विकास समितिले दश हजार जरिवाना गरेर छाडिदिने गरेको छ । त्यसैगरी वन कार्यालयले पनि १५ हजार सम्म मात्र लिने प्रावधान छ । एक टीप ढुंगाको जरिवाना दुईसय पचास मात्र हुने ऐनमा रहेको हुँदा दशहजार भन्दा कम विगोको सवारी साधन जफत नहुने भएको हुँदा दशहजार जरीवाना गर्ने प्रावधान छ । वन कार्यालयले चालक समेतको कैद जरिवाना गरेर १५ हजार सम्म मात्र जरिवाना हुने गरेको पाध्यले बताए । समचार श्रोतका अनुशार केराबारीका प्रहरी संगको मिलोमत्तोको कारण पनि चोरीका घटना जारी रहेको बुझिएको छ ।
यद्यपी प्रसनि प्रसाईंले भने सो कुरा निराधार भएको प्रतिक्रिया दिए ।
स्थानीय वासिन्दाहरुका अनुशार हिजो आज पनि खोलामा पस्ने क्रम नरोकिएको उनीहरुको भनाई छ । जिल्ला विकास समिति मोरङले तीन महिना सम्म खोलामा पस्न रोक लगाएपछि केराबारीको खदम खोलामा रातीको समयमा चोरी निकासी शुरु भएको हो । खोलाको शीरबाट विशेष गरि मध्यरातमा ट्रयाक्टर जाने र राती नै ढुंगा चोरी गर्ने गरेको स्थानीय वासिन्दाहरुको भनाई छ । स्थानीय प्रहरीलाई खवर गर्दा समेत ढुंगा चोरी निकासी बन्द भएको छैन ।
उता केराबारीको खदम खोलामा वर्षेनी स्काभेटरको प्रयोग र खोलामा वर्षायाममा जथाभावी ढुंगा चोरी निकासीले खोलाको गहि¥याई बढेर सिचाईहरुमा समस्या परेको स्थानीय राजनैतिक दलका प्रतिनिधि रमेश चेम्जोङले बताए ।