धरान / ‘मान्छेले धोका खाएपछि मात्रै चेत खुल्छ’ भन्ने भनाइ धरान–११ का प्रविण राईमा चरितार्थ भएको छ । उमेरमा ब्रिटिस सेना, भारतीय सेना के मा कोशिष गरेनन् । तर, खाली हात भएपछि २०६१ सालमा खाडी राष्ट्र कतारसमेत हानिए । २२ दिनपछि नै घर फिर्ता भएपछि मात्रै ‘जीवनको असली अध्याय’ सुरु भएको स्मरण गर्छन् । ३८ वर्ष टेकेका राई कुखुरापालनबाट मनग्यै कमाउने पात्रको रुपमा चिनिन्छन् । उनकै सिको गर्नेहरु कतिपयले लगानी डुबाए । कतिपय विदेश पलायन भए । तर, उनी त्यही कर्मबाट अकल्पनीय जीवनस्तर उकास्ने प्रतिनिधिको रुपमा चिनिन्छन् ।   २०६२ सालमा कुखुरा पाल्न सुरु गर्दा उनले आफन्तको खोरबाट सुरु गरेका थिए । २५० वटा बोइलर कुखुराबाट अध्याय सुरु भएको राईले कुनै बेला ५ हजार कुखुरासम्म पालेका थिए । दुईवर्ष नबित्दै हाल बसिरहेको धरान–११ हिमालय टोलमा कुखुरा पालन सुरु गरे । ५० हजार रुपैयाबाट कुखुरा पाल्न थाल्नु अघि उनले १५ सय रुपैयाबाट आलुको चिप्सहरु बनाउँदै व्यवसायको सुरुवात गरेका थिए । आलुको कटिङ चिप्सको व्यवसाय गर्दा गर्दै आफन्तले पालेको देखेर उनले पनि यो व्यवसाय गर्ने सोच पलाएको थियो । अहिले यही व्यवसायले उनलाई बेफुर्सदिलो बनाएको छ । कुखुरा पालनबाट सन्तुष्ट मात्रै छैनन्, यसैले जीवन नै परिवर्तन गरिदिएको अनुभव गर्छन् । यही पेशाका कारण उनलाई आफ्नै घरमा पनि साँझबिहान मात्रै भेटिन्छ । अन्य बेला उनी धरान, धनकुटा र अन्य बजारहरुमा पुगिरहेका हुन्छन् । कुखुराको दाना, औषधि, अण्डासमेतको डिलर गर्ने उनी कुखुराबाट करोडको हाराहारीमा कमाई गरिसकेको बताउँछन् । उनले यही व्यवसायले ७ ठाउँ जतिमा घडेरी नै जोडिसकेका छन् । यही कृषि पेशाले उनले तीन छोरीहरुलाई राम्रो स्कुलमा पढाउन सक्नेसमेत बनेका छन् । दुई छोरीलाई दिल्ली पब्लिकमा पढाउँछन् भने एक छोरीलाई डिपो उच्चमाविमा पढाउँदै छन् । धेरै तिरको हण्डर र ठक्करबाट पाठ सिकेका उनी खोटाङको मात्तिम गाविस वार्ड नम्बर २ बाट धरान झरेका हुन् ।   उनीसँग अहिले ५ हजार अट्ने क्षमताको पाँचवटा खोरहरु छन् । जसमध्ये अहिले एउटा खोरमा १५ सय कुखुरा हालेका छन् । त्यसो त माओवादीकालमा आफूलाई सुरक्षित बनाउनकै लागि कतार हानिएका थिए । तर, त्यहाँबाट फिर्ता हुनु परेपछि भने धरानलाई कर्मक्षेत्र बनाए । कतारको २२ दिन बसाईले उनलाई धेरै पाठ सिकायो । ‘कमाउने शिलशिलामा देशविदेश पुगियो । लाहुर लाग्नको लागि भारतीय आर्मीमा मात्रै तीनपटकसम्म भिडे ।’ उनी भन्छन् ‘तर, कतै नभएपछि १५ सयबाट व्यवसायको थालनी गरेँ ।’ उनले वार्षिक १२ देखि १५ लाख रुपैया कमाउँछन् । गर्न सक्दा, र जान्दा विदेश भन्दा गतिलो कमाई हुने नेपालमा ‘भाग्यले पनि साथ दिनु पर्ने रहेछ’ भन्ने पाठ सिकेका छन् गएको १२ वर्षमा । त्यही भाग्यले साथ दिएकै कारणले अहिले उनीसँग पुग्दो कमाई हुन्छ । यसैबाट उनले बुलेरो गाडी केही टेम्पोसमेत जोडेका छन् । उनको अनुभवमा ५ सय कुखुरा पाल्दा १ देखि १ लाख २० हजार रुपैया चोखो आम्दानी हुन्छ । भारतीय आर्मीको छोरो प्रविणलाई यतिखेर लाग्छ ‘बन्दुकेको छोरो बन्दुके नै हुन्छ भन्ने कुनै ग्यारेन्टी नहुदो रहेछ ।’ आफूले पढ्न नसके पनि उनी आफ्नो छोरीहरुलाई राम्रै स्कुलमा हालेका छन् । २०६२ देखि औपचारिक खुकुरा पालन गरे पनि २०७० सालमा मात्रै आएर स्वस्तिक कृषि फार्म दर्ता गरेर व्यवसायिकताको प्रमाणपत्र लिएका छन् । kukhura क्याप्सनः कुखुराको दाना दिँदै स्वस्तिक फार्मका कार्यरत कर्मचारी । तस्बिरः ब्लाष्ट/भोजराज