शनिश्चरे, मोरङ / झापामा आर्थिक वर्ष ०७२/०७३ मा ७० करोड बढी रकम खर्च नभएर फिर्ता गएको (फ्रिज भएको ) छ । आर्थिक वर्ष ०७१/०७२ को तुलनामा भने यो रकम केही कम फ्रिज भएको हो ।
कुल बजेटको हिसावले आर्थिक वर्ष ०७१/ ०७२ मा ९ प्रतिशत बजेट फ्रिज भएको थियो । तर आर्थिक वर्ष ०७२/०७३ मा ८ दशमलव ९५ प्रतिशत फ्रिज भएको तथ्याङ्कले देखाएको छ । ०७२/०७३ मा जिल्लाको स्थानीय निकाय तथा विषयगत कार्यालयहरुको एकीकृत विनियोजत बजेटमध्ये ७० करोड ३२ लाख ८५ हजार ९ सय ४ रुपैयाँ बराबरको बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ । फ्रिज भएको बजेटमा जिल्ला विकास समिति झापाको आन्तरिक स्रोत र भारतीय राजदुतावासबाट प्राप्त बजेट भनें समावेश गरिएको छैन ।
चालु खर्चतर्फ दैनिक कार्यालय प्रयोजनका लागि हुने रकमतर्फ ३० करोड र पूँजीगत विकासतर्फ ४० करोडको हाराहारीमा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख ज्ञानेन्द्र ओझाले बताए । अनुमानित खर्चको योजनामा ९० प्रतिशतको हाराहारीमा खर्च हुनुलाई त्यति नराम्रो मान्न नसकिने उनको तर्क छ । ‘देशमा अघोषित नाकाबन्दीको परिस्थिती, सामानहरुको अभाव, चाँडै मनसुन सुरु सहितका कारणलाई हेर्ने हो भनें बजेटमा भएको यत्तिको खर्च सन्तोषजनक नै मान्नु पर्ला ।’– उनको तर्क छ । त्यसमध्ये सवैभन्दा नराम्ररी बजेट फ्रिज भएको चाँही ७ वटा नगरपालिकाका लागि छुट्याइएको सोलार सडक बत्तीको बजेट रहेको उनले टिप्पणीको शैलीमा उल्लेख गरे ।
नगरपालिकाको मागलाई सम्बोधन गर्दै दमक, गौरादह, शिवसताक्षी, कन्काई, विर्तामोड, शनिअर्जुन र मेचीनगर नगरपालिकालाई सरकारले असारको दोस्रो साता मात्र बजेट पठाएको थियो । १५ दिनको अवधिमा सोलार बत्ती जडान गर्ने काम चुनौतीपूर्ण भएकोले कुनै नगरपालिकाले काम शुरु गर्न नसक्दा २४ करोड बराबरको रकम फ्रिज भएको ओझाले बताए । दमक नगरपालिकामा सौर्य सडक वत्तिका लागि साढे ३ करोड रकम ढिलो आएकाले काम थाल्नै नपाइएको उल्लेख गर्दै त्यसबाहेक अन्य ५० लाखको हाराहारीमा गरी साढे ३ करोड रकम फ्रिज भएको कार्यकारी अधिकृत युवराज दहालले सुनाए ।
सोलार बत्ती बाहेक जिल्लामा सवैभन्दा बढी बजेट फ्रिज जिल्ला विकास समितिको भएको देखिन्छ । जिविसको पूँजीगत र चालु गरी १ अर्व १८ करोड ५१ लख ३६ हजार २ सय ८३ रुपैयाँ बजेटमध्ये १५ करोड ९९ लाख ५० हजार १ सय ५६ रुपैया बराबरको बजेट फ्रिज भएको छ । फ्रिज भएको सो रकम जिविसको आन्तरिक स्रोत र विदेशी अनुदान बाहेक हो । ११ करोड हाराहारी चाँही निकासा भएको बजेट फ्रिज भएको र अन्य ६ करोड हाराहारी त निकासा नै हुन नपाएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताए । उनले बहुवर्षीय योजनाका धेरैजसो बजेट फ्रिज भएकाले सो शिर्षकको बजेट अर्काे वर्षमा आइहाल्ने हुँदा फ्रिज नै भएको भन्न नपर्ने तर्क पेश गर्छन् । उनले ठेकेदारले विभिन्न कारण दर्शाएर बेलामा काम नगर्दा विकास निर्माणका बजेट फ्रिज हुन पुगेको दर्शाए ।
अर्काे ठूलो रकम फ्रिज हुनेमा सडक डिभिजन कार्यालय दमक पर्दछ । उसको ४९ करोड ३१ लख २३ हजार कुल बजेटमध्ये ७ करोड ४० लाख २८ हजार ७ सय ५४ रुपैया बराबरको बजेट फ्रिज भएको कार्यालयले जनाएको छ । शिक्षा कार्यालयको ५ करोड ७३ लाख ७४ हजार १ सय ८७ , जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर १ झापाको कुल ३५ करोड ३० लाख २ हजार कुल बजेट मध्ये ५ करोड २१ लख ६२ हजार २ सय २ रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ ।
जिल्ला प्राविधिक कार्यालयको १० करोड ६१ लाख १ हजार कुल बजेट मध्ये ५ करोड १२ लाख ३३ हजार ८ सय ५५ र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको ३ करोड ३१ लख १२ हजार ४ सय ७६ रुपैया बराबरको बजेट फ्रिज हुन पुगेको छ ।
यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालयको २ करोड ३४ लाख ५ हजार ३ , कनकाई सिचाई व्यवस्थापन डिभिजनको १ करोड ७९ लाख ६१ हजार २ सय ५३, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नम्बर १ को १ करोड ६७ लाख ४८ हजार ३ सय २३, जिल्ला वन कार्यालयको १ करोड १६ लाख ९६ हजार ८ सय १५, मेची पुल विर्तामोड सडक योजनाको १ करोड ९ हजार ९ सय ४९ रुपैयाँ फ्रिज भएर रकम फिर्ता गएको छ ।
कृषि विकास कार्यालयको ८२ लाख ८७ हजार १ सय ११, पर्यटन कार्यालयको ७७ लाख ४९ हजार ४ सय ५८, आन्तरिक राजश्व कार्यालय मेचीको ७७ लाख ४१ हजार १ सय २५, पूर्वाञ्चल सिंचाई डिभिजन विकास कार्यालयको ७२ लाख १५ हजार ४ सय ११, महिला तथा बालबालिका कार्यालयको ३३ लाख ५४ हजार ७ सय ५१ , मेची अञ्चल अस्पतालको ५६ लाख ८६ हजार ४ सय ७६ रुपैयाँ रकम उसैगरी फ्रिजमा परिणत भएको छ ।
भद्रपुर नगरपालिकालाई पशुवधशाला निर्माणमा आएको ३० लाख रुपैयाँ बजेटले पनि काम गर्न नपाई फ्रिज हुन पुग्यो । घरेलु तथा साना उद्योग विकास समितिको २९ लाख २४ हजार १ सय ५८, जिल्ला अदालतको २७ लाख ६३ हजार २ सय ९५ , आयुर्वेदिक स्वास्थ्य केन्द्रको २४ लाख ५० हजार ८ सय ५५, जिल्ला प्रशासन कार्यालय झापाको १६ लाख ६५ हजार ७ सय ४, श्रम कार्यालयको ६ लाख ९२ हजार ८ सय ५६, सिप विकास तालिम केन्द्रको ६ लाख ६७ हजार २ सय ३६ र पशु सेवा कार्यालयको ५ लाख १८ हजार ८५ रुपैया बराबरको बजेट फ्रिज भएको छ ।
आर्थिक वर्ष ०७२/७३ मा जिल्लाकोे चालु तर्फको कुल बजेट ५ अर्व ५० करोड ५९ लाख ९३ हजार ६ सय ५७ रुपैयाँ मध्ये निकासातर्फ ५ अर्ब २३ करोड ६१ लख ७ हजार ४ सय २२ रुपैयाँ खर्च भएको छ, भने पूँजिगत तर्फ २ अर्ब ३५ करोड ३७ लाख ६७ हजार ४७ रुपैयाँमध्ये निकासा तर्फ १ अर्ब ९२ करोड, ३ लाख ६७ हजार ३ सय ७८ रुपैयाँ खर्च भएको देखिएको छ ।
पूँजीगत र चालु कुल बजेट तर्फ ७ अर्ब ८५ करोड ९७ लाख ६० हजार ७ सय ४ रुपैयाँमध्ये ७ अर्ब १५ करोड ६४ लाख ७४ हजार ८ सय रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७१/७२ मा पुजीगत र चालु गरी कुल बजेट ६ अर्व १५ करोड १८ लाख ६२ हजार मध्ये ५ अर्व ८६ करोड ८६ लाख ४३ हजार रुपैयाँ खर्च भएको थियो ।