धरान / ‘कुनै पनि काम सानो हुँदैन भन्ने औद्योगिक तालिम लिने क्रममा ज्ञान प्राप्त गरेका’ धरान–१४ का प्रेमबहादुर पराजुलीले पिण्डेश्वर मन्दिरमा फूलमालाको पसल थाप्दा धेरैले ‘बाहुनले केहीले नपुगेर फूल टपरा बेच्न थालेछ’ भन्नेसम्म कटाक्ष पाए ।

तर, त्यही फूलमाला, टपरा व्यवसायले पराजुलीको जीवनले यति कोल्टे मा¥यो अहिले उनी नै पछाडी फर्केर हेर्दा ‘अचम्मै’ मान्छन् । १२, मंसिर २०५४ मा तीनसय रुपैयाबाट पिण्डेश्वर मन्दिर अघिल्तिर फूलटपरा बेचेका उनले उक्त व्यवसायको सुत्रपात मात्रै गरेनन् । त्यही व्यवसायले उनलाई लाखौं कमाई गर्ने पात्र बनाइदियो । फूलमाला बेच्ने क्रममा भारतीय भक्तजनहरुले रुद्राक्षको माला खोजेपछि उनले रुद्राक्ष तर्फ मोडिए । त्यहीबाट उनको व्यवसायले ‘यु टर्न’ मार्यो । भक्तजनहरुले मालासँगै रुद्राक्षको विरुवासमेत खोज्ने थालेपछि विरुवाबाट पनि पैसा कमाइने रहेछ भन्ने लागेका पराजुली अहिले यही व्यवसायले घरघडेरी मात्रै हैन, जग्गासमेत किन्न भ्याएका छन् ।
विरुवाबाट वातावरण त सुद्ध बनाउँछ–बनाउँछ, उल्टो पैसा पनि आउने रहेछ भन्ने थाहा पाएरै उनले रुद्राक्षको नर्सरी सुरु गरे । सुरुमा खासै कमाई नभए पनि उनले आउनेहरुलाई माला र विरुवा बेचेरै जीवनका केही वर्ष गुजारा गरे । फूलमाला बेच्नै पर्ने बाध्यताको कथा भने बेग्लै छ । २०५२ सालमा बिहे गरेपछि उनलाई बाँच्नको लागि केही गर्नु पर्ने बाध्यता आइलागेपछि फूलमालामा ध्यान गयो । काठमाडौंमा मन्दिर अघिल्तिर फूलमाला बेचेको देखेपछि ‘गर्दा त यसमा पनि हुने रहेछ’ भन्ने लागेका उनले धरानमा आएर पहिलो पल्ट यो काम थालेका थिए ।
त्यही क्रममा रुद्राक्षको माला खोजी गर्ने विरुवा खोजी गर्ने क्रम बढेपछि उनले फूलमाला भन्दा बढी रुद्राक्षको विरुवा र माला बिक्रीमा ध्यान दिए । त्यही क्रममा २०६२ सालमा बुढासुब्बा मन्दिर छेउमा करिव ढेड कठ्ठा जग्गामा रहेको घरसमेत खरिद गरे । बैंकसँग ऋण काढेर करिव १२ लाख रुपैयामा खरिद गरेपछि उनको रुद्राक्ष नर्सरीसमेत बढ्दै गयो भने रुद्राक्ष किनबेचसमेत गर्न थाले । त्यही पेशाबाट २०६६ सालमा आधा विगाहा जग्गासमेत किने । ‘मलाई यो ठाउँमा पु¥याएको नै रुद्राक्षको विरुवा र रुद्राक्षको मालाले नै हो ।’ उनी विगत सम्झिन्छन् ‘सायद बाँच्नको लागि फूलमाला नबेचेको भए यो ठाउँमा आइपुगिदैन थियो होला ।’
सुरुमा कटाक्ष गर्नेहरु यतिखेर लज्जाबोध गर्न थालेको उनी महसुस गर्छन् । किनकी फूलमाला बेचेरै अहिले पिण्डेश्वर, दन्तकाली र बुढासुब्बामा जीविकोपार्जन गर्नेहरुको संख्या झण्डै २ सयको हाराहारीमा छ । ‘मैले सुरु गर्दाखेरी धेरै व्यङ्ग्य गरे । तर, अहिले त्यही व्यवसाय धेरैको बाँच्ने मेलो बनेको छ ।’ उनी भन्छन् ‘कतिपयले काम मागेर वाक्क लगाका’थे । तिम्ले गरेकाले धेरैलाई सजिलो बनाइदियौं भन्दै धन्यवाद दिनेहरु पनि छन् । रुद्राक्षको नर्सरीबाटै उनी वार्षिक १० लाख रुपैयाको हाराहारीमा कमाई गर्छन् । बाह्रै महिना नर्सरीको व्यापार हुन्छ ।
भोजपुरमा जन्मिएका पराजुली बाउबाजेको बसाइसराईसँगै सुनसरीको प्रकाशपुर–१ मा आइपुगे । तर, कखरा नचिन्दै २०३७ सालदेखि निरन्तर धरानै बसिरहेका उनी २०६२ साल अघिसम्म डेराबासी भएरै जीवन गुजारे । तर, अहिले उनी धरानलाई कर्मथलो मात्रै हैन, जीवनले सिकाएको एउटा थलोको रुपमा लिन्छन् । अहिले उनको विरुवा पूर्वको ताप्लेजुङदेखि लिएर काठमाडौंसम्म पुग्ने गरेको छ । एउटा विरुवाको मूल्य ३५ रुपैयादेखि सुरु भएर ३ सय रुपैयासम्म छ । उनी विरुवा मात्रै बेच्दैनन् । रुद्राक्षको व्यापारसमेत गर्छन् । वार्षिक १५ देखि २० टनसम्म कारोबार गर्ने उनी यही पेशाले चारजनाको परिवार मजासँग पालेका छन् भने यही पेशाले छोराहरुसमेत पढाए, बढाए । यो ठाउँमा पु¥याएको उनले अहिले पनि पेशा छाडेका छैनन् ।
बुढासुब्बा मन्दिरको मूल ढोका अघिल्तिरको घरको एक छेउमा अहिले पनि फूलमाला बेच्ने गरेका छन् । तर, अहिले श्रीमतिले उक्त जिम्मेवारी सम्हालेकी छिन् । उनले झण्डै घरबारी क्षेत्रमै ६ कठ्ठाजति लिजमा लिएर रुद्राक्षसँगै विभिन्न ‘इनडोर’ फूलका विरुवाहरुसमेत बेच्ने गरेका छन् । व्यवसायमा एकदमै सन्तुष्ट देखिने पराजुलीले गर्न सक्दा नर्सरीबाट लाखौं आम्दानी हुने बताउँछन् । दुईदशकदेखि यही पेशामा लीन भएका पराजुलीलाई यसैले दाम मात्रै दिएको छैन् ।
अहिले पूर्वाञ्चलका रुद्राक्षमा एउटा व्यापारीको रुपमासमेत पहिचान बनाइसकेका छन् । सामान्य व्यक्तिको रुपमा दुईदशक अघि उभिएका उनी अहिले त्यस ठाउँका ‘गन्नेमान्ने’ व्यापारीमा दरिएका छन् । ‘एकदमै सन्तुष्ट छु व्यवसायबाट ।’ जीवन बाँच्ने क्रममा थालेको व्यवसायले उनलाई यतिखेर आत्मसन्तुष्टी मिलेको छ ।
क्याप्सन: रुद्राक्षको विरुवा सम्हाल्दै पराजुली । तस्बिर/भोजराज