भद्रपुर/ गाडाकै भरमा भारतसँग आयात–निर्यात कारोबार हुने गरेको भद्रपुरस्थित छोटी भन्सार कार्यालयलाई कारोबारीहरुले नजराना बुझाउने गरेको पाइएको छ ।
भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी बजारमा किनिएका सामान ल्याउन छोटो दुरीको काँकडभिट्टा नाकालाई छाडेर भद्रपुर नाका प्रयोग गरिरहेका कारोबारीले ‘सेटिङ’ मिलाएकै कारण कठिन बाटो हुँदै गोरु र राँगा गाडाबाट सामान आयात गर्ने गरेको कारोबारीहरुले नै बताए । कारोबारी बनेर उनीहरुको सम्पर्कमा जाँदा उनीहरुले भन्सार कार्यालयका कर्मचारीलाई प्रतिबोरा १ हजार रुपैयाँका दरले नजराना दिने गरेको बताए । एक कारोबारी भन्छन्, ‘हामीले एक बोरा कपडा काँकडभिट्टा नाकाबाट ल्याउनुप¥यो भने १५ हजारसम्म भन्सार बुझाउनुपर्छ तर यो नाकाबाट ल्याउँदा ४– ५ हजार रुपैयाँ तिरेर प्रतिबोरा १ हजार छुट्टै दिए हुन्छ ।’ कम भन्सार महसुल तिरेर प्रतिबोरा १ हजार दिने सेटिङ मिलेकै कारण कठिन बाटो भए पनि मुनाफा हुने भएकाले आपूmहरुले यो नाकाबाट काम गरिरहेको उनले सुनाए ।

भद्रपुर नाका हुँदै हरेक दिन दुई सय बोराको हाराहारीमा सामान आयात हुने गरेका छन् । ‘भन्सार कार्यालय हाताभित्र बसेर नियाल्ने हो भने पनि सेटिङबारे सहजै अनुमान लगाउन सकिन्छ । न त त्यहाँ सामानको परिमाण हेरिन्छ, न चेकजाँच नै हुन्छ ।’ उनले भने । उनका अनुसार भद्रपुर नाका हुँदै गाडाबाट भित्र्याइएका सामान प्लेनबाटै काठमाडौँसम्म दैनिक रुपमा जाने गरेको छ । भन्सार कार्यालयले स्थानीय व्यापारीले स्थानीय बजारका लागि आवश्यक सामान मात्रै ल्याउने गरेको बताए पनि सो नाकाबाट भित्रिएका सामान पूर्वका सबै शहर र काठमाडौँसम्म कपडा, जुत्ताचप्पल र मोटर पार्टस जाने गरेको छ ।
सबैभन्दा ठूलो र बढी काम गर्ने सञ्जीव घोष समूहमा पप्पु घोष, सञ्जय घोष, अर्जुन ठकुरी, अनिल श्रेष्ठ, अजय कानू, तुला प्रधान र गणेश राय छन् । यो समूहले महङ्गा कपडा र मोटर पार्टसलगायतका सामान आयात गर्दै आएको छ । त्यसैगरी प्रवीणकुमार घोष नेतृत्वको अर्को समूहमा तुलाराम हलवाई, खड्ग लिम्बू, कालु घोषलगायत छन् । राजा सरकार समूहमा राजन थापा, दीपक राजवंशी, गणेश राजवंशी, चन्दन महतोलगायत छन् । अर्को समूहमा सोनु कानू, दीपेश शाह, राजु रायलगायत छन् ।
यसरी चार समूहमा गाडाबाटै सामान आयात गर्ने गरेका कारोबारीले भद्रपुरबाट भने ढुवानीका लागि प्लेन र निजी गाडीहरु प्रयोग गर्ने गरेका छन् । कारोबारमा संलग्न सबैको काम ‘क्यारिङ’ को मात्रै भएको तर सञ्जीव घोषलगायत केही ठूला कारोबारीले भने आपैंm पनि सामान आयात गरेर बिक्री गर्ने गरेको कारोबारी निकटहरुले जनाए । नेपालका व्यापारीहरुले सिलिगुडीमा किनेका सामान नेपालसम्म ल्याइदिनेलाई ‘क्यारिङ’ को काम गर्ने भन्ने गरेको बताउँदै एक कारोबारी भन्छन्, ‘हाम्रो काम सामान ओसारेर मुनाफा निकाल्ने हो । जहाँबाट ल्याउँदा बढी मुनाफा हुन्छ, त्यही नाका प्रयोग गर्ने हो नि ।’
भन्सार कार्यालय प्रमुख निर्माणकुमार भट्टराईले भने नजराना लिने गरेको कुरा सत्य नभएको दावी गरे । उनले यस विषयमा छानविन गरिने र त्यस्तो भएको भए संलग्नलाई कारवाही गरिने बताए । सुगम र नजिकको नाका छाडेर अप्ठ्यारो नाका प्रयोग गरिनु र त्यसमा पनि गाडाबाट सामान ल्याउनुको कारण भने आपूmलाई थाहा नभएको बताउँदै उनले यसबारेमा कारोबारीलाई नै सोध्न सुझाए ।