[caption id="attachment_2386" align="alignleft" width="1000"]aaurbed आफ्नै कर्मचारी जाच्दै कबिराज निरीक्षक यादब[/caption]

धरान/ एलोपेथिक औषधिको साम्राज्यमा जडिबुटीबाट बनेको आयुर्वेदिक ओखती दिन–प्रतिदिन निरीह बन्दै गएको छ ।
नेपाल सरकार मातहतकै धरान आयुर्वेदिक औषधालयको मासिक तथ्याङ्क हेर्ने हो भने औसत सय जना जतिमात्रै जडिबुटी ओखती लिन पुगेको देखिन्छ । यस्तै जिल्लामा मासिक ३ देखि ४ सय मानिस उपचारका लागि पुग्ने गरेको तथ्याङ्क छ । तर, सामान्य क्लिनिकमा भने आयुर्वेदको तुलनामा पाँच गुणा बढी मानिस पुग्ने गरेका छन् । पूर्वाञ्चलको रेफरल सेन्टरको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपडीमा दैनिक आउनेहरु २५ सयदेखि ३ हजार पुग्छन् ।
२०६७ सालदेखि धरानमा कार्यरत् बरिष्ठ कविराज निरीक्षक रामबहादुर यादवको अनुभवमा जडिबुटीमा हरेक रोगको औषधि नपाइने भएकाले पनि बिरामीको चाप न्यून हुने गरेको छ । भन्छन्, ‘सामान्य रोगीहरु मात्रै यो औषधालयमा आइपुग्छन् । कि त एलोपेथिक औषधि खाँदाखाँदा ठिक नभएपछि बाध्य भएर यहाँ आइपुग्छन् ।’ नेपालमा करीब ३ सय औषधालय सरकार मातहतमा  छन् । जहाँ जडिबुटीले बनेका आयुर्वेदिक औषधिहरु पाइन्छन् । ‘एलोपेथिक औषधिभन्दा आयुर्वेदिक औषधि राम्रो हो । किनकि यसले साइड इफेक्ट हुँदैन’, कविराज यादव भन्छन् ।
सबै सेवा नहुनुको परिणाम ः
जसरी एलोपेथिक औषधालयहरुमा सबै प्रकारका रोग निदान गर्ने औषधी हुन्छन्, आयुर्वेदिक औषधालयमा भने ती सबै सेवा हँुदैन । ल्याब सेवा लिनु परेमा एलोपेथिकमै भर पर्नुपर्ने हुन्छ । यसो हुँदा मानिसमा आयुर्वेदिक ओखतीप्रति ध्यान हटेको कविराज निरीक्षक यादव बताउँछन् । ‘यहाँ चेकजाँच फिजिकलमै हुने हो । ल्याब सेवा हामीसँग हुदैन’, उनी भन्छन् ।
यो कुरालाई जिल्लाका प्रमुख डा. सबरी साहसमेत मान्छन् । भन्छन्, ‘बिरामी कम हुनुको कारण आयुर्वेदमा सेवा–सुविधा छैन । जनताको जागरुकताको कमी छ ।’ त्योसँगै ओखतीहरु पनि प्रशस्त मात्रामा पाइँदैन । सामान्य ग्याष्ट्रिक, रुँघाखोकी, दम, जण्डिस, बाथ, ज्वरोलगायतका औषधि मात्रै पाइन्छन् । त्यसमा पनि लामो समयसम्म खानुपर्ने बाध्यता भएको औषधालयका कार्यालय सहयोगी बताउँछन् ।
सुनसरीमा वार्षिक ४ लाख ३० हजार रुपैयाँमात्रै औषधिको लागि सरकारबाट बजेट निकासा भएको जिल्ला आयुर्वेद औषधालय इनरुवाका प्रमुख डा. सवरी साह बताउँछन् । ‘त्यही पैसाले ८ वटा शाखालाई बराबरी हिसाबले औषधि प्रदान गर्नुपर्ने हुन्छ’, साहले फोन सम्पर्कमा भने, ‘औषधि पनि जति उपलब्ध हुनुपर्ने हो त्यो हुँदैन ।’
कामबिहीन कर्मचारी
धरान–१५ स्थित आयुर्वेद औषधालयको तथ्याङ्कमा दैनिक ५ देखि ७ जना उपचारको लागि आउने गरेका छन् । यो संवाददाता पुग्दा पनि कार्यालयमा कोही देखिएनन् । केही क्षणपछि एकजना कार्यालय सहयोगी आइपुगे । लगत्तै अर्का कार्यालय सहयोगी । उनीहरुलाई बुभ्दा प्रमुख यादव भने खाना खान गएको बुझियो । तर, जब प्रमुख यादव आइपुगे, त्यसपछि थाहा भयो उनी आप्नो छोरालाई खाजा खुवाउनको लागि स्कुल गएका रहेछन् ।
यसरी नै कार्यालयका कर्मचारीको दिनचर्या बित्ने गरेको पाइयो । कार्यालयमा चारजना मध्ये तीनजना मात्रै थिए । वैद्य भने बिदामा बसेको भन्ने कार्यालय सहयोगीहरुबाटै जानकारी पाइयो । ‘बिरामीहरु भर्खरै गए’, कार्यालय सहयोगी भन्दै थिए । बिरामीको तथ्याङ्क हेर्दा सामान्य रुपमा मात्रै उपचारको लागि आउने गरेको पाइयो । जिल्ला प्रमुख डा. साहले भने दैनिक छड्के जाँच गर्न नसकिने र फोन सम्पर्क गर्दा अफिसमै छु भन्ने जानकारी आउने गरेको बताए ।
नागरिक वडापत्र छैन
आयुर्वेदमा जाँच गर्न आउने बिरामीलाई निःशुल्क सेवा मात्रै हैन, उपचारसमेत निःशुल्क हुने गरेको छ । तर, आम सेवाग्राहीले यसबारे बुझेका छैनन् । त्यसको मुख्य कारण भनेको औषधालयले नागरिक वडापत्र राख्ने गरेको पाइएन ।
हरेक सरकारी कार्यालयमा अनिवार्यरुपमा नागरिक वडापत्र हुनुपर्ने भएपनि उक्त कार्यालयमा नहुँदा के सेवा पाइन्छ, कस्ता खालका सेवा हुन्छन् भन्ने बारेमा आम सेवाग्राहीमा अन्यौल छ । पहिलो कुरा त कतिपयलाई सरकारी मातहतको औषधालय हो भन्ने आमसेवाग्राहीलाई जानकारी छैन । त्यो जानकारी गराउने दायित्व औषधालयको भएपनि त्यसबारे कार्यालयका कर्मचारीहरु नै जानकार छैनन् । ‘सबै औषधि तथा उपचार निःशुल्क हुन्छ’, जिल्ला प्रमुख डा. साह भन्छन्, ‘तर, आम मानिसमा पनि आयुर्वेदप्रति चासो हुँदैन ।’