धनकुटा । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ क्षेत्र) को बेसक्याम्पमा चन्द्र ढकालको केबलकार परियोजना सुरक्षार्थ खटाइएका प्रहरी फिर्ता बोलाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन् । 

पाथीभरा (मुक्कुमलुङ) मा सरकारी दमनबाट पीडित भएका व्यक्तिहरूले गृह मन्त्रालयमा मङ्गलबार भेट गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै केबलकार निर्माणस्थलमा खटिएका सुरक्षाकर्मीहरू फिर्ता बोलाउन दुवै प्रहरी सङ्गठनका आईजीपीलाई निर्देशन दिएको स्रोतले बताएको छ । पाथीभराको फेदीमा रहेका सशस्त्र र जनपथ सबै प्रहरी फिर्ता बोलाउन गृहमन्त्री गुरुङले प्रहरी हेडक्वार्टरलाई निर्देशन दिएका हुन् ।

पाथीभरा दर्शनका लागि जाने तीर्थालुहरूको सेवामा खटिँदै आएका प्रहरी बस्ने फेदीको चौकी भने यथावतै रहनेछ तर केबलकार परियोजनाका सञ्चालक चन्द्र ढकालले पूर्ववर्ती सरकारसँग सहयोग मागेर तैनाथ गरेको सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली भने फिर्ता हुने भएको हो ।

पाथीभरा (मुक्कुमलुङ) जस्तो पवित्र धार्मिक र ऐतिहासिक महत्वको स्थानमा सत्ता र शक्तिको दुरुपयोग गरेर जबरजस्ती केबलकार बनाउन लागिएको भन्दै स्थानीय किरात धर्मावलम्बीहरूले विरोध जनाउँदै आएका थिए । तर अघिल्लो सरकार र केबलकार सञ्चालकको मिलेमतोमा प्रहरी परिचालन गरेर स्थानीयमाथि गोलीसमेत चलाई दमन गरेर जबरजस्ती आयोजना अघि बढाइएको थियो ।

हाल आएर बालेन्द्र साहको नेतृत्वमा सरकार बनेसँगै अघिल्लो सरकारले चलाएको गोलीकाण्डको छानबिन हुने र घाइतेहरूलाई न्याय पाउने स्थानीयले विश्वास लिएका छन् । ०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन हुनुअघि बालेन्द्र साह आफैले पाथीभरा (मुक्कुमलुङ क्षेत्र) को दर्शन र केबलकार निर्माण परियोजनाको स्थलगत अवलोकन र भ्रमणसमेत गरेका थिए । त्यसबेला पनि स्थानीय जो मुक्कुमलुङ संरक्षणको लागि सङ्घर्षरत पक्षले आदिवासी समुदायले परापूर्वकालदेखि मान्दै आएको ऐतिहासिक देवस्थल मुक्कुमलुङ अतिक्रमण र त्यहाँ जङ्गल फँडानी भएको विषयमा बालेन्द्र साहसँग गुनासो पोखेका थिए ।

यसैबीच पाथीभराको ऐतिहासिक एवम् पर्यावरणीय महत्वको जङ्गल फँडानी गरेको विषयसमेत विवादमा परेको छ । वन फँडानीका लागि वन मन्त्रालयबाट फर्जी डकुमेन्ट बनाइएको पाइएपछि यसबारे प्रश्न उठेको हो । पाथीभरा (मुक्कुमलुङ) मा यसअघि भएको गोलीकाण्डको समेत छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।