विराटनगर । बुधबार दिउँसो ठिक साढे ३ बजे विराटनगरको कोशी अस्पताल परिसरमा एउटा फरक दृश्य देखियो । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहेताको झण्डावाल गाडी गेटबाट भित्रिँदा सुरक्षाकर्मी र अस्पताल प्रशासनमा एकाएक दौडादौड चल्यो ।

मन्त्रीको अनुगमन सुरु भयो । सुरुमा उनी चिसो वातानुकूलित (एसी) जडान गरिएको आईसीयू वार्ड पुगिन् । त्यहाँको सन्नाटा र उपकरणहरूको निरीक्षणपछि उनी एचओडी वार्डतर्फ लागिन् । अस्पतालको सफा देखिने भागहरू पार गर्दासम्म मन्त्रीको अनुहारमा एउटा सन्तुष्टि थियो । तर, जब उनी भूइँतर्फको आकस्मिक (इमर्जेन्सी) वार्डतर्फ पाइला बढाउन खोजिन्, त्यहाँको दृश्यले मन्त्रीको ‘अनुगमन’ को लय नै बिगारिदियो ।

आकस्मिक कक्षको ढोकैमा मन्त्रीलाई बिरामीका कुरुवाहरूले घेरे र गुनासो राख्न थाले । त्यही भीडबाट अगाडि आए बेलबारी–७ बाहुनीका बिन्देश चौधरी । उनका दाजु ४७ वर्षीय ध्रुवनारायण चौधरी खुट्टा भाँचिएर अस्पताल भर्ना भएको १८ दिन भइसक्यो । ७ चैतमा दाजुलाई आकस्मिक कक्षमा ल्याउँदा बिन्देशलाई लागेको थियो–सरकारी अस्पतालमा गरिबको उपचार सजिलो होला । तर अस्पताल छिरेपछि उनले जुन ‘सिन्डिकेट’ को सामना गर्नुप¥यो, त्यो कुनै फिल्मको कथाभन्दा कम थिएन ।

मन्त्रीको अगाडि उभिएर बिन्देशले गुनासो सुनाउन थाले । “मन्त्रीज्यू, यहाँ उपचार होइन, व्यापार हुँदो रहेछ” उनले भने, “डाक्टरले खुट्टामा स्टिल (इम्प्लान्ट) हाल्नुपर्छ भन्नुभयो । अनि एउटा कागजमा नाम र मोबाइल नम्बर टिपाइदिएर बाहिरबाट सामान ल्याउन भन्नुभयो ।” उनले सुनाएको कथाले कोशी अस्पतालभित्रको एउटा ठूलो सेटिङको जालो उधिनेको थियो । चिकित्सकले लेखिदिएको नम्बरमा फोन गर्दा सुरुमा ४२ हजार रुपैयाँ मागियो । धेरै रोइकराइ गरेपछि ३२ हजारमा सामान त पाइयो, तर बिल दिइएन । “डाक्टरले तोकेकै ठाउँबाट सामान नल्याए अप्रेसन नै गर्दैनौँ भन्छन् । हामी गरिबले कहाँबाट ल्याउनु त्यत्रो पैसा ? बिल माग्दा मान्छे हराउँछ”–बिन्देशले मन्त्रीसामु भने । 

यो व्यथा बिन्देशको मात्र होइन । विराटनगर–१८ का दीपककुमार मण्डलले पनि मन्त्रीलाई उस्तै गुनासो सुनाए । उनकी दिदी डन्डीदेवी मण्डलको देब्रे हात भाँचिएको छ । दीपकका अनुसार सुरुमा २० हजारको सामान ल्याउन लगाइयो पछि फेरि दुईवटा स्क्रु र प्लेट थप्नुपर्छ भन्दै ४५ हजार रुपैयाँ लिइयो । “डाक्टरले सेटिङ मिलाएका मान्छेबाहेक अरूसँग सामान लिँदा वास्ता गर्दैनन् । यहाँ त बिरामीलाई दुहुनो गाई बनाइएको छ”–उनले आक्रोश पोखे ।

कोशी अस्पतालको हाडजोर्नी विभागमा सञ्जय यादव नाम गरेका व्यक्तिले ‘मधुरा कम्पनी’ का इम्प्लान्टहरू चिकित्सकको मिलेमतोमा बिक्री गर्ने गरेको तथ्य कुरुवाहरूले मन्त्रीकै अगाडि खुलासा गरिदिए । आफन्तका यी गम्भीर गुनासो सुनेपछि मन्त्री मेहेताले सँगै रहेका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीलाई यसबारे तत्काल बुझ्न निर्देशन दिइन् ।

एउटै शय्या, दुई बिरामी

कुरुवाको घेराबाट उम्किएर मन्त्री मेहेता ३५ शøयाको आकस्मिक कक्षभित्र छिरिन् । मन्त्री छिर्नेबित्तिकै बेडमा ढल्किरहेका बिरामीहरू ज¥याकजुरुक उठ्न खोजे । जो उठ्न सक्दैनथे, उनीहरूले मलिन आँखाले मन्त्रीतर्फ हेरे । आकस्मिक कक्षको पूर्वपट्टि ‘यल्लो एरिया’ मा पुग्दा मन्त्री आफै टक्क अडिइन् । त्यहाँ एउटै बेडमा दुई जना बिरामीलाई सुताएर उपचार भइरहेको थियो । विराटनगरको गर्मी र एउटै बेडमा दुई जना खाँदिएर उपचार गराउनुपर्ने बाध्यता देख्दा अस्पतालको स्रोतसाधनको खाडल छर्लङ्ग हुन्थ्यो ।

मेसु डा. चौधरीले भने, “मन्त्रीज्यू बिरामीको चाप यति धेरै छ कि हामीसँग बेड नै छैन । बिरामी फर्काउन मिल्दैन, त्यसैले एउटै बेडमा दुई जना राखेर पनि उपचार गर्नुपर्ने बाध्यतामा हामी छौँ ।” मन्त्रीले बिरामीको टाउको सुमसुम्याउँदै स्वास्थ्य अवस्था त बुझिन् तर सरकारी अस्पतालको यो भद्रगोल सुधार्ने कुनै ठोस योजना उनीसँग पनि तत्काल देखिएन ।

पीडा कर्मचारीको पनि

मन्त्री अस्पतालको फार्मेसीतर्फ मोडिँदै गर्दा उनलाई विराटनगर–१० की गङ्गा सुवेदीले रोकिन् । उनी दर्ता सहयोगी सङ्घकी संयोजक हुन् । गङ्गाले अस्पतालभित्र बिरामीको मात्र होइन, कर्मचारीको पनि आफ्नै सास्ती रहेको सुनाइन् ।

“मन्त्रीज्यू, हामी देशभरि ७ हजार बढी दर्ता सहयोगी छौँ । अहिलेसम्म राज्यले हामीलाई न पद दिएको छ, न त सेवा सुविधा नै” गङ्गाले भनिन्, “स्वास्थ्य बिमा गराएबापत पाउने १० प्रतिशत कमिसनको भरमा हामी कतिन्जेल बाँच्ने ? हाम्रो श्रमको मूल्य कहिले निर्धारण हुन्छ ?” मन्त्री मेहेताले गङ्गाका कुरा खुरुखुरु डायरीमा टिपोट त गरिन् तर आश्वासनको पोको भने खोलिनन् ।

निरीक्षणका क्रममा मन्त्री मेहेताले बिरामीका आफन्तका आँसु देखिन्, चिकित्सकको सेटिङको पोल सुनिन् र एउटै बेडमा दुई बिरामीको सकस पनि भोगिन् । तर यी सबै दृश्यमा उनी प्रायः मौन रहिन् । उनी बढीभन्दा बढी ‘नोट’ लिने मुडमा थिइन् ।

निर्माणाधीन संरचनाको निरीक्षण सकेपछि सञ्चारकर्मीले उनलाई सोधे, “मन्त्रीज्यू, कोशीको अवस्था त भयावह देखियो, के पाउनुभयो त निरीक्षणमा ?” मन्त्री मेहेताले पुरानै कर्मचारीतन्त्रीय शैलीमा जवाफ दिइन्, “अहिले म निरीक्षणकै क्रममा छु । अस्पताल हेर्दैछु, बुझ्ने काम भएको छ । हेरेपछि हामी समाधानतर्फ लाग्नेछौँ । तर सबै कुरा ठिक हुन समय लाग्छ ।”