धरान । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै ‘रेड नोटिस’ जारी गर्न लागिएको छ । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मङ्गलबार पक्राउको लागि अनुमति दिएको जनाइएको छ । उनीहरूलाई फरार सूचीमा राखी रेड नोटिस जारी गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको छ । 

देउवा भने उपचारका लागि भन्दै फागुन १३ गते नै सिङ्गापुरतर्फ लागेका थिए । त्योभन्दा अगाडि नै पत्नी आरजु भारत हुँदै सिङ्गापुर पुगेकी थिइन् । हाल दुवै जना हङ्कङतर्फ लागेको बुझिएको छ । दुवै दम्पतीलाई बुधबार हङ्कङको स्टेन्ली मार्केटमा घुमफिर गर्दै गरेको अवस्थामा भेटिएको छ । दम्पतीसहित केही दलबलसँग उनीहरू हिँडिरहेको देखिन्छ । 

उक्त मार्केटको एक रेष्टुरेन्टमा खाना खाएर बाहिर निस्किएको ब्लाष्टका सम्पादक देवेन्द्र कार्कीले सामाजिक सञ्जालमार्फत् जानकारी गराए । उनको करिब १२ सेकेन्डको भिडियो ब्लाष्टलाई प्राप्त भएको छ । केही मिडियाले भने हङ्कङबाट सिङ्गापुर फर्किसकेको बताए पनि उनीहरू बुधबारसम्म हङ्कङमै घुमफिर गरिरहेको भेटिएको हो । देउवा गत कात्तिक १० गते उपचारका लागि भन्दै सिङ्गापुर गएका थिए । 

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरीहरूको साझा संस्था इन्टरपोलमार्फत् रेड नोटिस जारी गर्न लागेको हो । नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने तयारी गरेको छ । अपराधीहरू भाग्न सक्ने र लुक्न सक्ने भन्दै उनीहरूलाई पक्राउ गर्नका लागि इन्टरपोलमार्फत् पक्राउ गर्न रेड नोटिस जारी गरिन लागिएको हो । नेपाल पनि इन्टरपोलको सदस्य राष्ट्र हो । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत् रेड नोटिस जारी गरिने प्रचलन रहेको छ । 

बालेन्द्र साह सरकारले २०४७ पछिका उच्च पदस्थ व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न लागेको छ । जसमा पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललगायत पूर्व मन्त्रीहरू रहेका छन् ।