विजयपुर । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नारासहित तीन दिने कोशीटप्पु पर्यटन महोत्सव शुरु भएको छ ।

बुधबार वराहक्षेत्र–६ स्थित ठाकुरीबारी १२ नम्बर रिसोर्टमा आगन्तुक पर्यटक र स्थानीयको उपस्थितिमा कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री सदानन्द मण्डलले महोत्सवको औपचारिक उद्घाटन गरे । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ का अवसरमा कोशी नदी किनारलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवर्धन गर्ने र स्थानीय धार्मिक, पर्यटकीय र सांस्कृतिक क्षेत्रको चिनारी एवं कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले वराहक्षेत्रमा कोशी टप्पु पर्यटन महोत्सवको उद्घाटन गरिएको हो ।

आगामी चैत २७ गतेसम्म आयोजना हुने महोत्सवमा आगन्तुक पर्यटकलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, हात्ती र चरा अवलोकनको कार्यक्रम तय गरिएको छ । यस्तै, रामधुनी मन्दिरको दर्शनपछि बोराबाँधमा सूर्यास्तको दृश्यावलोकन गराइनेछ । बिहीबार साँझ लाखे र धान नाचको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

चैत २७ गते बिहान ७ बजे प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिरको दर्शन गराई १० बजे त्यहाँबाट बोराबाँधसम्म ¥याफ्टिङ (जलयात्रा) गराइनेछ। दिउँसो जेट बोट, एटिबी राइडिङ र नौका सयरको मजा लिन पाइनेछ भने अपराह्न ३ बजेदेखि बिच स्पोट्र्स (बगर खेलकुद) आयोजना हुनेछ ।

ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा आयोजित औपचारिक कार्यक्रममा कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री मण्डलले आफ्नो कार्यकालमा कोशी नदी किनारको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको बताए । भारतका विभिन्न सहरबाट आएका पत्रकारहरूलाई सम्बोधन गर्दै सांसद मण्डलले नेपालको पर्यटकीय विविधताका बारेमा प्रचार गरिदिन आग्रह गरे ।

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले पर्यटनको विकासमा ध्यान दिएको बताए । कोशी प्रदेश पर्यटन वर्ष–२०८२ का सहसंयोजक भविश श्रेष्ठले महोत्सवको आयोजनाले प्रदेशकै पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले कोशी नदी किनारको पर्यटनको सम्भावना उजागर गर्दै प्रवद्र्धन गरिने बताए ।

पत्रकारलाई सम्मान

वराहक्षेत्रको पर्यटन विकास र प्रवर्धनमा योगदान गर्दै आएका पत्रकार भीषण राईलाई सम्मान गरिएको छ । सांसद मण्डलले सम्मानपत्रसहित नगद ५ हजार ५ सय रुपैयाँसहित पत्रकार राईलाई सम्मान अर्पण गरे । कोशीटप्पु पर्यटन महोत्सवका संयोजक अंगत राईको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।