अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा गरिने सम्भाव्य सैन्य कारबाहीबारे “छिट्टै निर्णय” लिइने बताएका छन्।उनको भनाइमा उनी र उनको टोलीले सिरियाको अवस्थालाई “गम्भीर भएर” हेरिरहेको छ। ट्रम्पले सिरियाले गरेको भनिएको “रासायनिक हमला”विरुद्ध कस्तो सैन्य प्रतिक्रिया दिने भन्ने विषयमा ब्रिटेन र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको छ।

सिरियाको डुमामा भएको भनिएको “रासायनिक हमला”को प्रतिक्रिया दिनेबारे पश्चिमा शक्ति राष्ट्रहरूले तयारी गरिरहेको बताएका छन्।तर सिरियाको मित्र शक्ति रूसले ती प्रतिक्रियाको बदला लिने चेतावनी दिइसकेको छ।अमेरिकाका लागि रुसी दूत भसिली नेबेन्जियाले सिरियामा कुनै कारबाही भए अमेरिका र रूसबीच युद्ध हुने सम्भावनालाई “नकार्न नसकिने” बताएका छन्।

बिहीवार फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियाली सरकारले डुमामा रासायनिक हमला गरेको “प्रमाण” आफूसँग भएको बताएका थिए।ब्रिटेनको मन्त्रिपरिषद्ले “थप रासायनिक हमला रोक्न सिरियामा कारबाही गर्नु पर्ने आवश्यकता”मा सहमति जुटाएको बताइएको छ।

ब्रिटेन सरकारको भनाइमा प्रधानमन्त्री टरिजा मे र ट्रम्प रासायनिक आक्रमणको जवाफ दिनु पर्नेमा एक मत छन् र उनीहरूले त्यसबारे निकट रहेर काम गर्ने छन् ।