विराटनगर । मोरङमा पछिल्लो समय सहकारी संस्थाहरूमा शृङ्खलाबद्ध रूपमा चोरीको घटना बढेको छ । एकपछि अर्को गर्दै सहकारीमा चोरीको घटना बढेको हो । ९ महिनाको अवधिमा मोरङमा १२ वटा सहकारीबाट ४० लाख बढी रकम लुटपाट भएको जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए ।  साउन १२ देखि वैशाख ६ गतेसम्म मोरङका विभिन्न स्थानबाट १२ वटा सहकारीमा लुटपाट भएको उनले बताए ।

रतुवामाई न.पा.–६ मा रहेको सौंठा बचत तथा ऋण सहकारी संस्था लि.मा दुई पटक चोरी भएको छ । यसैगरी सोही वडाको सुनगाभा बचत तथा ऋण सहकारी संस्था शनिश्चरे, जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी–७, आदर्श बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी–६, सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे,  एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ–२ फँडानी र खैरेनी सेवा केन्द्रमा चोरी भएको जनाइएको छ ।

त्यस्तै जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लि. बेलबारी–८ राधानगर, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. बेलबारी–३, लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. बेलबारी–३, झलझली बचत तथा ऋण सहकारी संस्था लि. बेलबारी–१०, दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्था लि.बेलबारीमा पनि तोडफोड तथा नगद र सामान चोरी भएको अध्यक्ष पोखरेलले बताए । यी सहकारीबाट ४० लाखभन्दा बढी रकम चोरी भएको उनले बताए । ‘२०८० साउनदेखि २०८१ वैशाख ६ गतेसम्म शृङ्खलाबद्ध चोरी भएको जिल्ला सहकारीमा जानकारी आएको छ’ अध्यक्ष पोखरेलले भने, ‘सहकारीमा चोरी बढ्न थालेपछि शान्ति सुरक्षाको माग गरिएको हो ।’

सहकारीमा चोरी, तोडफोड, कर्मचारीमाथि आक्रमणजस्ता आपराधिक गतिविधिहरू बढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन–पत्र बुझाएका छन् । आपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कारबाहीको माग राख्दै जिल्ला सहकारी सङ्घले मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएको हो ।

सङ्घका जिल्ला अध्यक्ष पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन–पत्र बुझाएका छन् । प्रजिअ भट्टराईलाई ज्ञापन–पत्र बुझाउँदै सङ्घका अध्यक्ष डा.पोखरेलले जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका सहकारी संस्थामा तोडफोड गरी नगद तथा भौतिक सामान चोरी गर्ने, कर्मचारीलाई कुटपिट र अभद्र व्यवहार गर्नेजस्ता कार्य बढिरहेकोले उक्त कार्य नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न र त्यस्ता कार्यमा संलग्न रहेकाको खोजी गरी कारबाही गर्न माग गरेका थिए ।

सङ्घले बुझाएको ज्ञापन–पत्रमा जिल्लाका एक दर्जन बढी सहकारी संस्थामा चालु आ.व.२०८०/०८१ को साउनदेखि यही वैशाख ६ गतेसम्म तोडफोड गरी नगद तथा सामान चोरी भएकोले उक्त घटनामा संलग्नलाई खोजी गरी कारबाही गर्न र चोरी भएका सहकारी संस्थाको रकम तथा सामग्रीको क्षतिपूर्ति दिलाउन माग गरिएको छ । साथै निरन्तर भइरहेका यस्ता गतिविधिहरूका कारण सहकारी सङ्घ÷संस्थाहरूको सञ्चालन प्रक्रियामा नै गम्भीर समस्या देखापरिरहेकोले तत्काल शान्ति सुरक्षा मजबुत बनाउनसमेत सङ्घले ज्ञापन–पत्रमार्फत् माग गरेको छ ।

सङ्घले सहकारी संस्थामा चोरी डकैतीमा संलग्न केही व्यक्तिहरूलाई झापा प्रहरीले पक्राउ गरी हाल थुनामा राखेकोले उनीहरू मोरङका सहकारी संस्था तोडफोड गरी चोरीमा संलग्न रहेको हुनसक्ने भएकोले झापा जिल्ला प्रशासनसँग समन्वय गरी सत्य–तथ्य पत्ता लगाउनका लागि आवश्यक पहल गरिदिनसमेत ज्ञापन–पत्रमार्फत् अनुरोध गरेको छ । सङ्घले सहकारी सङ्घ–संस्थाको विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा प्रदान गर्न गराउन र भयरहित वातावरणमा काम गर्नसक्ने अवस्था सिर्जना गर्न गराउनसमेत माग गरेको छ ।

गिरोह पक्राउपछि...

शृङ्खलाबद्ध सहकारी लुटपाट गर्ने ६ जना गिरोहको समूह पक्राउ गरेपछि अहिले सहकारी चोरीको घटना रोकिएको छ ।

इटहरीबाट ७ वैशाखमा पक्राउ परेको ६ जनाको समूहले झापा र मोरङका २४ सहकारीहरुमा शृङ्खलाबद्धरुपमा लुटपाट गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसनधानबाट खुलेको छ ।

२४ सहकारीबाट झण्डै आधा करोड रूपैयाँ लुटपाट गरेको प्रहरीको अनुमान छ । झापामा मात्रै १३ वटा सहकारीबाट ३० लाख १६ हजार रूपैयाँ लुटेको झापा प्रहरीले जनाएको छ । झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर प्रहरीले थप अनुसन्धान गर्ने तयारी गरेको छ । त्यसपछि लुटपाट गरेको रकम थाहा हुने मोरङ प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा ‘फाखेल समूह’ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षका अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान छन् । उनीहरुलाई वैशाख ७ मा पक्राउ गरेर झापा प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरुले सहकारीलाई मात्रै ‘टार्गेट’ गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।