ओखलढुङ्गा । आगोले जलेर सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ ।

सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो ।

बाहुनडाँडा कोल पाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर बालिष्टार सिंहले बताए ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघिदेखि स्थानीय जङ्गलमा डढेलो लागेको थियो । अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।