चतराधाममा गत चैत्र २७ गतेदेखि जारी बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको आज ३० औं दिन अन्तिम शाही स्नानको आयोजना हुँदै छ । 

आज महा कुम्भ स्नान गर्ने र वराह भगवानको दर्शन गर्ने दर्शनार्थीको वराहक्षेत्र मन्दिर परिसरमा घुइँचो लाग्ने गरेको छ ।

आगामी वैशाख २८ गतेसम्म लाग्ने कुम्भ मेलामा भक्तजनको आकर्षण बढ्दै गइरहेको छ । महाकुम्भ मेला समापन हुन मात्र दुई दिन बाँकी  छ । आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन परेकाले भक्तजनको भीडभाड हुने अनुमान गरिएको वराहक्षेत्र-१ का वडासदस्य तथा बजार व्यवस्थापन समितिका संयोजक कुमार भट्टराईले जानकारी दिए । 

'आज सार्वजनिक बिदा परेको छ । बिदाको समयमा धर्मकर्म र पूण्यार्जनका लागि भक्तजन  कुम्भनगरी आउने गरेका छन्,' वडासदस्य भट्टराईले भने, 'आज वराहक्षेत्रमा शाही स्नानको आयोजना हुँदै छ ।' 

सप्तकोसी नदीमा पूजा अर्चना गर्ने चतराधामस्थित कुम्भ घडामा जल अर्पण गर्ने, औलिया बाबाको उपासना गर्ने जल अर्पण गर्ने, वराह भगवानको पूजा अर्चना गर्ने र धरानस्थित पिण्डेश्वर महादेवलाई जल अर्पण गर्ने महाकुम्भको परम्परा रहिआएको छ । 

बाह्रबर्से पूर्ण महाकुम्भ मेलाको अवसरमा आज वराहक्षेत्रस्थित सप्तकोसी नदीमा शाही स्नानको अन्तिम आयोजना हुनेछ ।

हिन्दू धर्म शास्त्रीय मान्यताअनुसार विश्वको चारधाम मध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोसी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गर्नेछन् । शुभ मुहुर्तमा चतराधामबाट बाजागाजा, झाँकीसहित वराहक्षेत्रधाम पुगेर साधुसन्तले शाही स्नान गर्ने परम्परा रहेको छ ।

राजयोगमा सन्त, महन्तले गर्ने स्नानलाई शाही स्नान भनिन्छ । शुभ मुहुर्तमा शाही स्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । वराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गतेदेखि सुरु भएको महाकुम्भ मेला आगामी वैशाख २८ गतेसम्म लाग्दैछ ।

आस्थावान धर्मावलम्बी, भक्तजन र दर्शनार्थीलाई बाह्र बर्समा मात्रै प्राप्त हुने अवसरलाई सदुपयोग गरी पूण्य आर्जन गर्न र अध्यात्मिक सुख प्राप्त गर्न मूल आयोजक समितिले आह्वान गरेको छ ।